‘दुर्व्यसनीमा लागेका शिक्षकको तथ्यांक आउनुपर्छ’

हिमाल प्रेस ५ माघ २०८० १५:१६
80
SHARES
‘दुर्व्यसनीमा लागेका शिक्षकको तथ्यांक आउनुपर्छ’

सुर्खेत- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षाका समस्या देशैभरि भएको बताएका छन्। शिक्षा पत्रकार कर्णाली प्रदेश समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णालीका शैक्षिक सवालसम्बन्धी बहस तथा कर्णाली शिक्षापत्र’ विमोचन कार्यक्रममा मन्त्री पोखरेलले कर्णालीमा मात्र नभई शिक्षाका समस्या देशैभरि रहेका टिप्पणी गरेका हुन्।

‘शिक्षाको गुणस्तरमा ह्रास आउनुका कारण राजनीति हो’,उनले भने, ‘शिक्षासँग सम्बन्धित विभिन्न संघसंगठनले बालबालिका र समुदायको हितमाभन्दा निहीत स्वार्थ पूरा गर्न राजनीति गर्दै आएका छन्।’  संघसंगठनमा लागेका शिक्षक नेताहरूले यहाँको शिक्षासँग सम्बन्धित मुद्दामा कुनै पनि सुझावसल्लाह सरकारलाई नदिएको उनको भनाइ थियो।

कर्णालीको शिक्षा अवस्था सुधारका लागि सरकारले आफ्नो प्रयास जारी राखेको बताउँदै मन्त्री पोखरेलले इच्छाशक्ति भएका प्रधानाध्यापकले दुर्गममा समेत नमुना काम गरेको जनाए।  सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले कर्णालीको शैक्षिक अवस्थाका विषयमा बहसभन्दा व्यवहार आवश्यक भएको प्रतिक्रिया दिए।

‘यहाँको शिक्षाको अवस्था कमजोर छ भन्ने हामी सबैलाई थाहा छ,’ उनले भने, ‘अब यसको सुधार र थप विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारले कार्यान्वयन पक्षलाई जोड दिनुपर्दछ।’  कर्णाली प्रदेश योजना आयोगका सदस्य जितबहादुर शाहले शिक्षामा बजेट घट्दो क्रममा रहेकाले पनि अपेक्षित प्रतिफल आउन नसकेको बताए।

उनले कर्णालीमा १२ हजार दरबन्दीमा कार्यरत शिक्षकमध्ये दुर्व्यसनीमा लागेका कति छन् भन्ने तथ्यांक आउनुपर्नेमा जोड दिए। शाहले दलित नभई विपन्नलाई मात्र छात्रवृत्ति दिने नीति कर्णालीमा आवश्यक भएको औँल्याए। सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले शैक्षिक क्षेत्रको विमर्शले सकरात्मक प्रभाव पार्ने बताए।

अहिले पठनपाठनका विषयमा बढी छलफल भएको बताउँदै सचिव काफ्लेले विषयवस्तुभित्र पस्न खोजेमा परिणाम अपेक्षित आउने जनाए। मध्यपश्चिम विश्वविद्यालयका प्रा.डा.चन्द्रप्रकाश रिजालले शिक्षा क्षेत्रको कर्मकाण्डीय पद्धतिमा परिवर्तन गरेर अघि बढ्नुपर्ने तर्क गरे।

प्रकाशित: ५ माघ २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =