काठमाडौँ- झापाका २७ वर्षीय समीर क्षेत्री गत वैशाख अन्तिममा रुसी सेनामा भर्ती भएका थिए। उनलाई रुस–युक्रेन युद्ध यति लामो चल्छ भन्ने लागेको थिएन। समीरलाई यूएईबाट रुसी सेनामा पठाउने भारतीय एजेन्टले पनि त्यही आश्वासन दिएको उनी बताउँछन्।
५ वर्षदेखि यूएईको ‘ग्रुप फोर’ कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत समीर ९ लाख रुपैयाँ भारतीय एजेन्टलाई बुझाएर रुसी सेनामा भर्ती हुन् गएका हुन्। अहिले समीर युक्रेनले गरेको रकेट बम आक्रमणमा परेर घाइते भएका छन्। उनको रुसी आर्मीको सिटी बोर्ड हस्पिटलमा उपचार भइरहेको छ। रुसको मस्कोमा होटल व्यवसाय गर्दै आएका एक नेपालीको सहयोगमा हिमालप्रेसले समीरसँग कुराकानी गर्ने मौका पाएको हो।
यूएईबाट एक वर्षयता नै रुसी सेनामा नेपालीहरू भर्ती हुने क्रम जारी थियो। यो विषयमा साथीहरूले पटक-पटक भने पनि आफूले चासो नदिई बसेको समीरले बताए। रुसी सेनामा भर्ती हुने विदेशी नागरिकले पाँच वर्षमै पेन्सन, ३ करोड नेपाली रुपैयाँ, मासिक ३ लाखभन्दा बढी तलब, रुसकै पीआर र अन्य सुविधा पाउने आश्वासनमा धेरै नेपाली फस्ने गरेको उनले बताए।
‘रामेछापका विकास कार्की नेपाल आर्मीको जागिर छाडेर यूएई प्रहरीमा आएका थिए। उनैको सल्लाहमा रुसी सेनामा गएँ। हामी ११ जना नेपाली एकैपटक रुसी सेनामा भर्ती भएर यहाँ आयौँ। अरू कहाँ छन् थाहा छैन,’ उनले भने, ‘रुसी सेनामा भर्ती भएका नेपालीले अहिले सबैभन्दा बढी दुःख पाएका छन्। यहाँ भर्ती भएका नेपालीहरू कसरी भाग्ने कि घाइते भएर भए पनि ज्यान बचाउने सोचमा छन्। यो नै एक मात्र उपाय हो।’
रुसी सेनामा भर्ती भएका नेपाली समस्यमा परे पनि उद्धारका लागि गुहार माग्ने संयन्त्र नभएका कारण झन् समस्यामा पर्ने गरेको उनको भनाइ छ। रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई पहिलो घेरामा राखिन्छ। युक्रेनले आक्रमण गर्दा पहिला नेपाली मर्छन् कि घाइते हुन्छ। सामान्य तालिम गराएर युद्धमा संलग्न गराउँदा धेरै नेपालीले ज्यान गुमाउनुपरेको समीर बताउँछन्।
रुसी सेनामा भर्ती भएका नेपाली हातियार चलाउन जान्दैनन्। नेपालीलाई सामान्य हातियार मात्र चलाउन सिकाएका कारण युक्रेनले आक्रमण गर्दा पहिला नै घाइते र मर्नुपर्ने अवस्था भएको समीरको भनाइ छ।
रुसी सेनामा भर्ती भएका एक सयभन्दा बढी नेपालीको मृत्यु भए पनि रुसी सेनाले सूचना लुकाएको उनको दाबी छ। पाँच सयभन्दा बढी घाइते र दुई हजारभन्दा धेरै रुसी सेनामा भर्ती भएको यहाँ रहेका नेपालीहरूले बताउने गरेका छन्।
यसरी घाइते भए समीर
रुसी सेनामा भर्ती भएको २७ दिन तालिम गरेपछि युक्रेनी युद्धमा होमिएको समीर बताउँछन्। पहिला एक महिना तालिम गराउँथे। अहिले नेपालीलाई १५ दिन मात्र तालिम गराएर युद्धमा पठाउने गरेको समीरले जानकारी दिए।
दक्षिणी युक्रेनी प्रायद्वीप क्राइमियाभन्दा करिब ४० किलोमिटर टाढा रुसले कब्जा गरेको भू–भाग छ। त्यो क्षेत्रलाई युक्रेनी सिनी भनेर चिनिँदो रहेछ। त्यही क्षेत्रमा रुसी सेनाका तीन युद्ध क्याम्पमा ३ सयभन्दा बढी सेना थिए। त्यो ब्यारेकमा आफूसहित ११ जना पनि कार्यरत रहेको समीरले बताए।
उनका अनुसार युक्रेनी प्रायद्वीप क्राइमियाभन्दा पश्चिमतिर ठूलो हिउँ जम्ने पहाड छ। त्यो पहाडनजिकै युक्रेनी सेनाको ठूलो ब्यारेक छ। त्यो ब्यारेकमा अमेरिकी र युक्रेनलाई सहयोग गर्न अन्य देशबाट रुसविरुद्ध लड्न आएका सेना पनि थिए भन्ने सुनेको समीरले बताए।
‘अक्टोबर २३ तारिख जस्तो लाग्छ। मलाई समय ठ्याक्कै याद छैन। रुसी सेना बसेको क्याम्पमाथि साँझ साढे ५ बजे हिउँको जस्तै रङ भएको गिद्धजस्तो चरो उडेर आएको केही समयपछि युक्रेनी सेनाले रकेट बम आक्रमण गरेको थियो,’ उनले भने। गिद्धलाई के हो भनेर रुसी सेनाले तलबाट हवाई फयारिङ गरे। त्यसपछि पहाडको एउटा कुनाबाट रकेट बमसहित युक्रेनी सेनाले आक्रमण थालेको समीरले बताए। ‘यति बम पड्कियो कि पछि त थाहा नै भएन। लगातार १० घण्टा जति रुस– युक्रेनबीच युद्ध चल्यो। म रुसी सेनाको ३१ जनाको ग्रुपमा थिए। हाम्रो समूहको काम युद्धका क्रममा कोही घाइते भए उनीहरूलाई बोक्ने र सामान्य उपचार गर्ने थियो,’ उनले भने, ‘हाम्रो ग्रुप भएको ठाउँमा समेत खोई कहाँबाट के पड्कियो। मसहित ७ जना जति सीधै ढल्यौं। म त बेहोस भएछु। एक घण्टापछि होसमा आउँदा त दाइने खुट्टा र टाउमा चोट लागेको रहेछ।’
घाइते भएपछि दुई दिन जति सामान्य उपाचार क्याम्पै गरेपछि मात्र रुसी सेनाको हेलिकप्टरले अस्पताल ल्याएको समीर बताउँछन्। उनका अनुसार युक्रेनले आक्रमण गरेको समय उनी डब्लु भन्ने क्याम्पको मुनि थिए। त्यो क्याम्पमा रकेट बम नै आक्रमण भएको रहेछ। अहिले सँगै उपचार भइरहेका रुसी सेनाकै साथीहरूले सुनाउने गरेको उनी बताउँछन्।
‘दाइने हात बमको बाछिटाले पूरै जलेको छ। दाइने खुट्टाको तिघ्रा र घुँडामुनिको एउटा नशा चुटिएको छ रे। अहिले उपचार भइरहेको छ। उपचार सकिएपछि स्वदेश फर्किने योजना बनाइरहेको छु,’ उनले भने।
आफू बसेको क्याम्पमा रुसी सेनाको ठूलै आईटी कर्मचारी पनि घाइते भएका कारण आफू पनि बाँचेको उनको भनाइ छ। नत्र हिउँमै पुरिएर ज्यान जाने उनी बताउँछन्।
युक्रेनसँग भएको युद्धमा परेर मृत्यु भएका रुसी सेनाको शव भेटिँदैन। आक्रमण भएको स्थानमा आगो लाग्छ। त्यही भएर रुसी सेनामा भर्ती भएर मरेका नेपालीको शव भेटन् मुस्किल हुने उनको दाबी छ।
रुसी सेनामा भर्ती भएका १३ जना नेपालीको मृत्यु भएको छ। रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो। रुसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पुग्दैछ। अहिले पनि यी देशबीच युद्ध चलिरहेको छ।