मन्त्रीबारे मौन बस्दा माधव नेपालको आलोचना

हिमाल प्रेस २ माघ २०८० १२:३५
12
SHARES
मन्त्रीबारे मौन बस्दा माधव नेपालको आलोचना

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीले पठाएका मन्त्री बारे अन्योलमा परेका छन्।

मन्त्रीको कार्यशैली र कार्यक्षमता कमजोर बन्दा पनि नेपाल मौन बसेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका दुवै मन्त्रीको कार्यक्षमता कमजोर भएको बताइरहेका छन्। तर यसबारे नेपालले चासै नगरेको पार्टी नेताहरूले गुनासो गरेका छन्।

समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषिमन्त्री छन् भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन्।

भुसाल सिंहदरबारमै हराएको आरोप पार्टी नेताहरूले लगाएका छन् भने ज्वालाले ‘मालदार’ मन्त्रालय पाएर पनि क्षमता नदेखाएको भन्दै आलोचना भइरहेको छ। पार्टीको सचिवालय बैठकमा पनि मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठेको थियो। यद्यपि, भुसाल र ज्वालाले निरन्तर काम गरिरहेको दाबी गरेका थिए।

पार्टी नेताहरूका अनुसार अध्यक्ष नेपाल भने यसबारे मौन बसेका थिए। पछिल्लो समय सरकारले गर्दै आएका कामका बारेमा पनि नेताहरूले चर्चा गरेका थिए। सरकारको कार्यशैलीबारे पनि पार्टी नेतृत्व मूकदर्शक बनेको आरोप लागेको थियो।

‘भारतीय विदेशमन्त्री आउँदा २० करोडसम्मको लगानी स्थानीय तहले गर्न पाउनेबारे निर्णय भएबारे पनि पार्टी बोलेन,’ समाजवादीका एक नेताले भने,‘यस्ता विवादास्पद कुरामा औँला उठाउनुपर्नेमा मूकदर्शक बन्यो।’ ती नेताका अनुसार बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले तत्काल पार्टीबाट फिर्ता हुनुपर्ने आवाज उठाएका थिए। खनालको सोही टिप्पणीमाथि पनि नेताहरूले आलोचना गरेका थिए।

‘विगतमा ३ करोडसम्मका सम्झौतामा नबोल्ने तर अहिले २० करोडको आयोजनाभन्दा थर्कमान हुने खनाल कमरेडको पनि नियत सफा देखिएन,’ ती नेताले भने,‘अहिले सरकारमा गएकै कारण पार्टीको चर बनिरहेको अवस्थामा किन फिर्ता हुनु भनेर अन्य नेताले खनाल कमरेडलाई प्रश्न गरेका थिए।’ यसै कारण पार्टीले भारतसँग गरेको सम्झौताका बारेमा सरकारलाई सोध्ने भन्ने औपचारिक निर्णय गरेको छ।

यस्तै, सरकारबाट गएका मन्त्रीको पनि कार्यविवरण माग गरेको छ।

प्रकाशित: २ माघ २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =