काठमाडौँ- दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो।
प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो।
उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट र बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान खुलेपनि अन्य १० जनाको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन्।घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।