टुँडिखेलमा माघी महोत्सव आयोजना गर्दै थारू समुदाय

हिमाल प्रेस २७ पुष २०८० १५:०२
6
SHARES
टुँडिखेलमा माघी महोत्सव आयोजना गर्दै थारू समुदाय

काठमाडौँ- थारू समुदायले पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ। थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको जानकारी दिएका हुन्।

उनले भने, ‘२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ। थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाका लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौँ।’

माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्नेछन्। यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी पर्व मनाउन लागिएको चौधरीले बताए।

माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमिति गठन गरिएको छ। आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा सत्यनारायण चौधरी ‘सुमन’, स्टल व्‍यवस्थापन उपसमितिको संयोजकमा चन्द्रप्रकाश चौधरी, प्रचारप्रसार संयोजकमा प्रदीप लेखी तथा सदहरू किशोर चौधरी र सहदेव चौधरी, विज्ञापन व्‍यवस्थापन उपसमितिको संयोजकमा चन्द्रप्रसाद चौधरी रहेका छन्।

यसैगरी सांस्कृतिक उपसमिति संयोजकमा नन्दुराज चौधरी र सदस्यहरू रामस्वागत चौधरी सदस्य तथा विनय वैद्य, मोटरसाइकल र्‍याली व्‍यवस्थापनको संयोजकमा अधिकार चौधरी, रक्तदानमा पुष्पा चौधरी रहेको मूल आयोजक समितिका संयोजक प्रेमिलालले बताए।

महोत्सव सफल बनाउन केही संस्थाहरूले विभिन्न जिम्मेवारी लिएका छन्। यसअन्तर्गत झाँकी र्‍याली व्यवस्थापनको संयोजकमा बर्दियाली विकास मञ्‍च, निसराउ व्‍यवस्थापन समितिमा थारू महिला समाज, थारू महिला सभा र अग्रासन महिला समूह, अतिथि सत्कार व्‍यवस्थापन उपसमितिमा थारू महिला समाज/थारू महिला सभा र अग्रासन महिला समूह, जिता मार्ने उपसमितिमा बर्दियाली विकास मञ्च, फोहोर व्‍यवस्थापन उपसमितिमा जोगा चौधरी र शत्रुघनप्रसाद चौधरी छन्।

२० भन्दा थारू संघसंस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब १०० भन्दा बढी स्टलहरू रहनेछन्।

महोत्सवको प्रचारप्रसारका लागि शनिबार बिहान ७ बजे मोटरसाइकल र्‍याली निकालिने भएको छ। र्‍याली काठमाडौँको तीनकुनेबाट सुरु भई भृकुटीमण्डपमा समापन हुनेछ। माघ १ गते बिहान १० बजे थारू संस्कृति, भेषभूषा, बाजागाजा, संघसंस्थाको ब्यानरसहित न्युरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, सहिदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडीखेलमा सरिक हुने कार्यक्रम छ। पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाचसहित दुई दर्जनभन्दा बढी नृत्य तथा गीतहरू प्रस्तुत गरिने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने परिकारहरू ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार राखिनेछन्। यसैगरी बालु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या रोटी, अन्डिक रोटी, तेलपौर रोटी, झभ्झा रोटीलगायत परिकार चाख्न पाइने आयोजकले जनाएको छ।

महोत्सवमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल आदि प्रदर्शनीमा राखिनेछ।

साथै गोन्या (गुन्यूँ) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालरसहितका पहिरन र ढकिया, ढक्ली, डेल्वा, भौँका, भौँकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्री प्रदर्शनीमा राखिनेछ।

प्रकाशित: २७ पुष २०८० १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =