बम्जनको निवासबाट तीन करोड ३४ लाख बरामद, सर्लाही अदालतमा पेस गरिँदै

हिमाल प्रेस २५ पुष २०८० १४:२०
56
SHARES
बम्जनको निवासबाट तीन करोड ३४ लाख बरामद, सर्लाही अदालतमा पेस गरिँदै

काठमाडौँ– नेपाल प्रहरीले विवादास्पद तपस्वी रामबहादुर बम्जनको निवासबाट ठूलो परिमाणमा नगद बरामद गरेको छ। यौन दुराचार र व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बम्जनलाई मंगलबार उनको निवास हात्तीगौँडाबाट पक्राउ गरेको थियो। २०७६ सालमा सर्लाहीका एक जना बालिकामाथि यौन दुराचार गरी हत्या गरेको आरोपमा बम्जनमाथि प्रहरीले अनुसन्धान गर्दै आएको थियो।

अन्य थप व्यक्तिहरू पनि आश्रमबाट हराएको सूचना प्राप्त भएकाले अनुसन्धान भइरहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। आचार्यका अनुसार चुन्मो भनिने २९ वर्षीया चिनीमाया तामाङ, ५१ वर्षीय सञ्चलाल वाइबा, डोल्मो भनिने फूलमाया रुम्बा र सुरेशकुमार आले बम्जनको आश्रमबाट हराएको सूचना रहेको जानकारी दिए। उनीहरू बम्जनकै अनुयायी रहेको प्रहरीको भनाइ छ। बम्जन विभिन्न ठाउँमा आश्रम सार्दै बस्दै आएका थिए।

चिनीमाया, सञ्चलाल र फूलमाया सिन्धुपाल्चोकको बाँडेगाउँबाट बेपत्ता बनाएको आचार्यले जानकारी दिए। बम्जन केही वर्षअघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित टोड्के भन्ने ठाउँमा आश्रम बनाएर बसेका थिए। सोही बेला ती अनुयायीहरूलाई बेपत्ता पारिएको प्रहरीको भनाइ छ।

सीआईबीले बम्जन पक्राउबारे बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बरामद गरिएको नेपाली रुपैयाँसहित विभिन्न १७ देशका नगद गरी तीन करोड ३४ लाख ६७ हजार नौ सय ६ रुपैयाँ  सार्वजनिक गरेको हो।  बम्जनको निवासबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ र अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलरलगायत विभिन्न १७ देशका मुद्रा बरामद गरिएको एसपी आचार्यले जानकारी दिए। बरामद विदेशी मुद्रा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको छ।

यसैगरी मोबाइल १४ थान, पेन ड्राइभ २० थान र आइप्याड पाँच थान बरामद गरिएको छ। सीआईबीले रामबहादुर बमजन चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरेको छ। ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तिका नाममा छन्। आचार्यका अनुसार उनी पाँच करोडको ल्यान्ड क्रुजर चढ्ने तयारीमा थिए। त्यसका लागि धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा तीन करोड रुपैयाँ नगदै भुक्तानी गरेको आचार्यले जानकारी दिए ।  बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेस गरिने र नगद तथा विदेशी मुद्राका लागि भिन्नै अनुसन्धान गरिने आचार्यले जानकारी दिए।

यौन दुराचारमा उनीमाथि सर्लाही जिल्लामा उजुरी परेको थियो। प्रहरीले बम्जनबारेको अनुसन्धानलाई ‘अप्रेसन ब्लु’ नाम दिएको छ।

प्रकाशित: २५ पुष २०८० १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seventeen =