सुनिश्चित जितसहित गण्डकीबाट गठबन्धनको उम्मेदवारी दर्ता

विजय नेपाल २३ पुष २०८० १६:४१
20
SHARES
सुनिश्चित जितसहित गण्डकीबाट गठबन्धनको उम्मेदवारी दर्ता

पोखरा- राजनीतिक समीकरण फेरबदल नभए सत्तारुढ दलको गठबन्धनबाट अबको दुई सातापछि राष्ट्रिय सभामा ३ सांसद प्रवेश गर्दैछन्। सोही जितको उत्कृट इच्छा र चाहनाबीच सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले बडो तामझामका लागि सोमबार उम्मेदवार दर्ता गराएका छन्।

पोखरा ७, राष्ट्र बैंकचोकस्थित प्रदेश निर्वाचन कार्यालयमा अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गराएका हुन्। तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन्।

उनीहरूको प्रस्तावक र समर्थक गठबन्धन दलका प्रदेशस्तरका शीर्षनेताहरू नै बसेका छन्। मनोनयन अघि पार्टी कार्यालयबाट र्‍याली निस्केको थियो। उनीहरूको मनोनयन दर्ताका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्मा, माओवादी गण्डकी अध्यक्ष गायत्री गुरुङलगायत नेता कार्यकर्ताहरू थिए।

यसैगरी, नेकपा (एमाले) ले तीन वटै सिटमा उम्मेदवारी दियो। समा अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटाले मनोनयन दर्ता गराएका छन्।

राप्रपाले २ सिटमा मात्र उम्मेदवारी दियो। राप्रपा नेता रामबहादुर भण्डारीले अन्य र गौमाया श्रेष्ठले महिला क्लष्टरबाट मनोनयन दिएकी हुन्। भण्डारी कास्कीका हुन् भने श्रेष्ठ तनहुँकी हुन्। यसरी ३ जनाका लागि ८ जनाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आगामी माघ ११ गते मतदान हुनेछ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस बलियो दल भएकोले यसपालि गठबन्धनकै उम्मेदवारको जित सुनिश्चित छ। गोरखाका किरणबाबु श्रेष्ठ कांग्रेस गण्डकी महामन्त्री हुन्। उनको प्रस्तावक गण्डकीका मुख्यमन्त्री पाण्डे र समर्थकमा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा छन्। सिंखडा माओवादी नेतृ हुन्।

अपांगताबाट टिकट पाएका पदमबहादुर लामो समय अपांगताको क्षेत्रमा कार्यरत छन्। उनी सिबिआर नेटवर्कका संयोजक भइ काम गरेका छन्। उनको प्रस्तावक कल्पना तिवारी र समर्थक कुसुम बुढा पुन रहेका छन्। अर्की उम्मेदवार मनरुपा सहिद पत्नी हुन्। उनको प्रस्तावक हरिबहादुर चुमान र समर्थक बिन्दुकुमार थापा रहेको गण्डकीका प्रचार विभाग प्रमुख रमेश पौडेलले बताए।

गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन्। तीमध्ये ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० र ८५ पालिका (प्रमुख/उपप्रमुख) गरी १ सय ७० जना मतदाता हुन्। निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख÷उपप्रमुखहरूको मतभार १९ तोकेको छ । यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ। गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन्।

नेपाली कांग्रेसको प्रदेश सभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ।

यस्तै, अर्को ठूलो दल नेकपा (एमाले) को प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ। उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसद्‌मा ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको ३ को ५७ मतभार छ। उसको संसद्‌मा उपस्थिति छैन। संसद्‌मा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) र पालिकातर्फ पोखरा महानगरपालिका प्रमुख १ गरी उसको मतभार ७२ मात्र छ। संसद्‌मा २ सिट जितेको राप्रपाको १ सय ६ छ भने मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष जितेका छिरिङ गुरुङ स्वतन्त्र हुन्।

यसरी मतभारको प्रारम्भिक अनुमानमा गण्डकीबाट एमालेले विगतको २ सिट गुमाउने निश्चितप्रायः छ।

यसैबीच, उम्मेदवार मनोनयनका क्रममा निर्वाचन अधिकृत कार्यालय आएकी एमाले सचिव पद्मा अर्यालले यो निर्वाचनलाई पनि आफूहरूले विगतको निर्वाचनझैं स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिइन्। उनले आफ्ना उम्मेदवार जिताउन सिंगो पार्टी पंक्ति लागिपर्ने बताइन्।

प्रकाशित: २३ पुष २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =