सगरहवा मूर्ति कार्यशाला सुरु, उपाध्यक्ष लामाले गरे उद्घाटन

हिमाल प्रेस २३ पुष २०८० १६:३६
210
SHARES
सगरहवा मूर्ति कार्यशाला सुरु, उपाध्यक्ष लामाले गरे उद्घाटन

लुम्बिनी- कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबारदेखि सुरु भएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर शुभारम्भ गरेका हुन्।

लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघसंस्थाहरूको आयोजनामा कार्यशाला सुरु भएको हो।

कार्यशालाको शुभारम्भ गर्दै उपाध्यक्ष डा. लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरूको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गरे।

उनले यो पटक मूर्तिकार्यशाला गरिएको बताउँदै आगामी वर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोषसहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामनासहित महोत्सव गर्ने बताए। उपाध्यक्ष लामाले सगरहवा बुद्धको बंश शाक्यहरूमाथि भएको दुःखद घटनाका बारेमा बौद्धमार्गी र आम मानिसहरूमा जानकारी हुनुपर्ने बताउँदै यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए।

उनले महायाज्ञा र बज्रयानी बुद्धिष्टहरूले भारतको कलकत्तामा बार्षिक अर्बौँको माछा तालमा छाड्ने गरेको बताउँदै अब सगरहवा र जगदीशपुल ताललाई विकल्पका रुपमा तयार गर्न सकिने बताए। उनका अनुसार बौद्धिष्टहरूले लामो आयुका लागि माछा पोखरीमा छाड्ने गर्छन्।

उपाध्यक्ष लामाले सगरहवा स्थानीयहरूकै कारण संरक्षण हुने बताउँदै मूर्तिकार्यशालाबाट कुँदिएका मूर्तिहरूको संरक्षणमा लाग्नुपर्ने बताए। उनले कपिलवस्तु ऐतिहासिक र पुरातात्विक स्थलहरू धेरै रहेको जिल्ला भएकाले यसको विकासका लागि लुम्बिनी विकास कोषले काम गरिरहेको बताए।

उनले आफू उपाध्यक्ष भइसकेपछि तिलौराकोटलाई सरसफाइयुक्त बनाइएको र विश्वसम्पदा सूचीमा सुचीकृत गराउने काम अगाडि बढिरहेको बताए। उनले आफूहरू बुद्धभूमि कपिलवस्तुका ऐतिहासिक र पुरातात्विक स्थलहरूको विकासलाई प्राथिमकताका साथ गरिने बताए। कोष लुम्बिनीको गुरुयोजना पुरा गर्नका लागि केन्द्रित हुँदा कपिलवस्तु र रामग्रामको विकासमा ध्यान ध्यान केन्द्रित कम भएको बताउँदै अब बढाइने बताए।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कपिलवस्तु नगरपालिका ऐतिहासिक स्थल सगरहवा सहित यहाँका बौद्धकालिन क्षेत्रहरूको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए। उनले कपिलवस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिए।

कार्यक्रममा कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरूलाई मूर्तिमा कलाकारहरूले उतार्ने बताए। कार्यशालाबाट तयार भएका मूर्तीहरूले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए। उनले लुम्बिनी विकास कोषले कपिलवस्तुका बौद्धकालिन स्थानहरूको विकास गर्न अब प्राथमिकता दिने नीति लिएको बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक बिषयसँग जोडेर मूर्ति निर्माणको काम सुरु गरिएको बताए। उनले अरनिको स्मृती दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको बताए।

कार्यक्रममा कपिलवस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुका अध्यक्ष एंव कार्याशाला सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, भन्ते सुमंगलो, दामोदर सापकोटा लगाउतले बोल्दै सगरहवा आफैमा ऐतिहासिक स्थल भएकाले मूर्तिकार्यशालाले यस क्षेत्रको ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिए।

कार्यशालाको अवसरमा लेखक पोमनारायण पौडेलद्धारा लिखित प्राचिन कपिलवस्तुको पतन र सगरहवा पुस्तकको विमोचन गरिएको छ। पुस्तकको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले विमोचन गरेका हुन। कार्यशाला आगामि माघ ८ गतेसम्म सञ्चालन हुनेछ।

शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रुनजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलवस्तु राज्यका हजारौं शाक्यहरूको सामूहिक बध गरेको स्थनका रुपमा सगरहवालाई चिनिन्छ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि.मी. र तिलौराकोटवाट ६ कि.मी. उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ ।

सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरू र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो। स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री प्राप्त भएका थिए। जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५२ विघा क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: २३ पुष २०८० १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =