चितवन- चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारी सरुवा विवादित बनेको छ। कर्मचारी सरुवाको विषयलाई लिएर कर्मचारी युनियन र अपांगता भएका व्यक्तिले आपत्ति जनाएका हुन्। उनीहरूले मापदण्ड र औचित्य पुष्टि नहुने गरी सरुवा गरिएको भन्दै त्यसलाई फिर्ता लिनुपर्ने माग गरेका छन्। अस्पताल प्रशासनले भने नियमअनुसार अस्पतालभित्रै सरुवा गरिएकाले विवाद गर्नुको अर्थ नरहेको जनाएको छ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको विशेष जिल्ला कमिटीका अध्यक्ष डा. सञ्जय पौडेल र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन एकाइ कमिटीका अध्यक्ष पुष्करबाबु त्रिपाठीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा कमजोर कार्यक्षमता भएका आफ्नो निकटका व्यक्तिलाई स्थापित गर्ने र क्षमता अब्बल भएका कर्मचारीलाई हतोत्साहित हुने गरी सरुवा गरिएको आरोप लगाइएको छ।
आवश्यकता, विषय विज्ञता र औचित्यका आधारमा मापदण्ड तयार गरेर अस्पतालको सेवामा गुणस्तरीयता ल्याउने परीपाटीको विकास गर्नुपर्नेमा त्यसो नगरिएको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले यस्तो सरुवाबाट क्यान्सर अस्पातल सञ्चालन र यसबाट सेवाग्राहीले पाउने सेवाप्रवाह प्रभावित हुन सक्ने जनाएका छन्। कर्मचारी संगठनरूले दीर्घकालीन महत्त्व राख्ने महत्त्वपूर्ण कदम एकांगी रूपमा गरिएकाले तत्काल खारेज गर्न माग गरेका छन्। विज्ञप्तिमा आवश्यकता, विषय विज्ञता र औचित्यका आधारमा मापदण्ड तयार गरेर मात्र सरुवा प्रक्रिया अघि बढाउन, हरेक तहका कर्मचारीको समयमै वृत्ति विकास हुने गरी वैज्ञानिक मापदण्ड बनाउन र ज्यालादारी, करारलगायतमा कार्यरत कर्मचारीलाई कानुनअनुसार सामाजिक सुरक्षा कोषमा लैजाने व्यवस्था गर्न माग गरिएको छ।
बागबानी शाखाका कार्यरत स्पाइनल इन्जुरी भएका कर्मचारी विकास धितालले आफूलाई एक वर्ष पनि नभई सरुवा गरेर अन्याय गरेको बताए। उनले भने, ‘मलाई भीडभाडमा लगेर काम गर्न लगाइएको छ। म बागबानी शाखामै काम गर्न चाहन्छु।’
उनले अस्पताल प्रशासनले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनको प्रावधानलाई नै कुल्चिएको आरोप लगाए। उनले भने, ‘अपांगता भएका व्यक्तिलाई उसको अनुकूल हुने गरी सहमति लिएर काममा लगाउनुपर्छ भन्ने कानुनी व्यवस्था उल्लंघन गरेर अस्पताल प्रशासनले ममाथि रिसइबी साँध्न खोज्यो।’
उक्त ऐनको दफा २४ मा कुनै प्रतिष्ठानले अपांगता भएका व्यक्तिविरुद्ध रोजगारी तथा सोसँग सम्बन्धित कुनै विषयमा भेदभाव गर्न नपाइने उल्लेख छ। धितालले भने, ‘मलाई मानसिक यातना दिने हिसाबले सरुवा गरिएको छ। प्रशासनिक कर्मचारीलाई १५ औँ वर्ष हुँदा पनि सरुवा गरिएको छैन। प्रशासनले मन नपरेका कर्मचारीलाई दुःख दिने नियत राखेको हो।’
अस्पतालका प्रशासकीय अधिकृत गृहनारायण महतोले भने कर्मचारीमाथि बिनाभेदभाव आवश्यकता र औचित्यका आधारमा सरुवा गरिएको बताए। उनले भने, ‘केही सजाय दिइएको पनि होइन र रात्रिकालीन सेवामा खटाइएको पनि होइन। डाक्टर र नर्सलाई सारिएको पनि होइन। प्रशासनिक कर्मचारीलाई आवश्यक ठाउँमा सरुवा नगर्ने हो भने अस्पताल चल्दैन।’
उनले अपांगता भएका कर्मचारीका विषयमा अस्पताल संवेदनशील रहेको बताए। महतोले भने, ‘उहाँले रिपोर्ट बाँड्न र बिरामीसँग एक शब्द बोल्न त सक्नुहुन्छ। उहाँलाई सांग कर्मचारीलाई जसरी ६/७ घण्टा काममा लगाएका होइनौँ। उहाँले काम गर्न नसके अस्पतालले हेरिहाल्छ।’