मीनपचास भुल्दै काठमाडौँ

रमेश दवाडी २२ पुष २०८० १५:४१
3.4k
SHARES
मीनपचास भुल्दै काठमाडौँ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विद्यालयले जाडोबिदामा पनि बालबालिकालाई पठनपाठन गराएर किताबी ज्ञानमा सीमित बनाइरहेका छन्। यस्ता गतिविधिले बालबालिकामा सिकाइको एकोहोरो रटानमात्रै भइरहेको छैन, मीनपचास इतिहासमा सीमित हुन थालेको छ। वातावरण परिवर्तन, सिकाइ शैलीमा भित्रिएको प्रविधि र अभिभावककै रुचिअनुसार बिदा दिनुपर्ने बाध्यताजस्ता कारण मीनपचासको महत्त्व हट्दै गएको शिक्षकहरू बताउँछन्। यसैगरी उतिबेलाजस्तो शैक्षिक सत्र पनि नरहेकाले मीनपचास ओझेलमा पर्न थालेको हो।

केही दशकअघिसम्म उपत्यकाका विद्यालयमा मीनपचासको बिदा दिइन्थ्यो। त्यतिखेर पुस पहिलो साता अन्तिम परीक्षा हुन्थ्यो। काठमाडौँ उपत्यकामा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पनि केही समय बालबालिका पढाइको बोझबाट परै रहन्थे। कतै घुमफिर गर्थे। आफन्तसँग नजिक हुन्थे र सामाजिकीकरणको अभ्यासमा संलग्न हुने अवसर पाउँथे। अहिले त्यस्तो अवस्था छैन। शिक्षण संस्थाले बिदा थोरै दिन दिन्छन् भने प्रशस्त गृहकार्य दिएर बालबालिकालाई अन्य गतिविधिमा लाग्न अवरोध गर्दै आएका छन्। शैक्षिक सत्र पनि वैशाखबाट सुरु हुन्छ।

पुस चौथो सातासम्म पनि उपत्यकाका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन भइरहेको छ। कतै बालबालिका परीक्षा दिइरहेका छन्। कतै कोचिङ क्लासका नाममा बालबालिका बिहानै झोला बोकेर घरबाट निस्किरहेका देखिन्छन्। काठमाडौँको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा परीक्षा भइरहेको छ। रत्नराज्य नजिकैको भ्याली भ्युमा पनि परीक्षा जारी छ। डिल्लीबजारस्थित विजय स्मारक माविले परीक्षा सकेर जाडो बिदा दिएको छ। कक्षा १० का विद्यार्थीले त अधिकांश विद्यालयमा बिदा पाएका छैनन्। ती विद्यालयमा एसईईको तयारीका लागि कक्षा सञ्चालन भइरहेको छ।

बृहत् नेपाली शब्दकोशमा मंसिर २१ गतेदेखि माघ १० गतेसम्मको ५० दिन अवधिलाई मीनपचास भनिएको छ। अग्रज पत्रकार भैरव रिसाल अहिलेका विद्यालय र विद्यार्थीले मीनपचासको अर्थ नबुझेको बताउँछन्। उनी भन्छन्, ‘वर्षमा ३६५ दिनमध्ये पुसमाघको ५० दिन माछालाई पनि जाडो हुन्छ। त्यसैले मीनपचास भनिएको रहेछ।’

पुसमाघमा बालबालिकालाई धेरै जाडो हुने भएकाले ५० दिन बिदा दिने गरिएको हो। तीनधारा पाठशालाका पूर्वछात्र रिसाल मीनपचासको बिदामा पाठशालाभित्रै खेलेर बिदा मनाएको स्मरण गर्छन्। ‘मंसिर लागेपछि पाठशालामा ५० दिन मीनपचासको बिदा हुन्थ्यो। हामी पाठशालाभित्रै पढेर-खेलेर बिदा मनाउँथ्यौँ। अचेल मीनपचासको बिदा दिइएको त्यति सुनिँदैन।’

२०२१ सालमा विद्यालय पढेका पद्मोदय माविका पूर्वप्रधानाध्यापक रमेश गौतम काठमाडौँमा मंसिर २० देखि फागुन १० गतेसम्म विद्यालयमा मीनपचासको बिदा दिने गरिएको स्मरण गर्छन्। गौतमले मीनपचास बिदामा आफूहरूले रमाइलो गर्ने गरेको सुनाए। उनले भने, ‘म विद्यालयमा पढ्दा काठमाडौँमा अहिलेभन्दा धेरै जाडो हुन्थ्यो। विद्यालयले मंसिर २० देखि फागुन १० गतेसम्म मीनपचासको बिदा दिन्थ्यो। मीनपचासको बिदा आउँदा हामी रमाउँथ्यौँ।’ बिदामा सहरी क्षेत्रका विद्यार्थी न्यानो ठाउँमा जान्थे। कोही गाउँतिर गएर त्यहाँको रहनसहनमा घुलमिल हुन्थे। केही आफन्तकहाँ पुगेर बिदा मनाउँथे।’

मीनपचासको बिदा सकिनै लाग्दा विद्यालय जान उत्साह हुने बढ्दै जाने गरेको उनी बताउँछन्। गौतम भन्छन्, ‘मीनपचासको दुई महिना बिदा सकिनै लाग्दा कुन बेला विद्यालय जाने भन्ने उत्सुकता हुन्थ्यो। रमाइलो हुन्थ्यो। अहिले त्यस्तो छैन।’

गौतम अहिलेका विद्यार्थीले मीनपचासको अनुभव गर्न नपाएको बताउँछन्। पहिलेभन्दा जाडो कम हुनु, विद्यालयले धेरै दिन बिदा नदिनु, विद्यार्थीलाई समय बिताउने धेरै सामग्री हुँदा मीनपचासको महत्त्व घट्दै गएको उनको तर्क छ।

अचेल विद्यालयले हिउँदे बिदा त दिन्छन् तर बढीमा १५ दिन। कतिले त एक साता बिदा दिएर टार्ने गरेका छन्। नैकापस्थित एक निजी विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा भन्छिन्, ‘विद्यालयमा परीक्षा चलिरहेको छ। परीक्षा सकिएपछि १० दिन जाडो बिदा दिइन्छ रे।’ जाडो बिदामा उनले घरमै आफ्ना परिवारसँग बस्ने बताइन्। सामुदायिक विद्यालयमा जाडो र गर्मी मिलाएर बिदा दिने चलन छ।

धेरै विद्यालयले जाडो बिदामा विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराएको पाइँदैन। विद्यालयले प्रशस्त गृहकार्य दिँदा बिदाका समयमा विद्यार्थीले चाहेको विषयमा सिक्न र खेल्न पाउँदैनन्। गृहकार्यबाट विद्यार्थीले तनाव महसुस गरिरहेका हुन्छन्। बढी गृहकार्य दिनेमा निजी विद्यालय बढी छन्।

बिदाका बेला सिकाइमा असर नपरोस् भनेर विद्यार्थीलाई गृहकार्य दिने गरेको बताउँछिन् चाबहिलस्थित पशुपति मित्र माविकी शिक्षक हेमा सुवेदी। बिदा अवधिमा विद्यालयले कुनै अतिरिक्त क्रियाकलाप नराखेको उनले पनि बताइन्। ‘जाडो बिदामा विद्यार्थी पढाइमै केन्द्रिन होऊन् भन्ने उद्देश्यले हामीले होमवर्क दिएका छौँ। बिदामा विद्यालयले कुनै कार्यक्रम राखेको छैन,’ उनी भन्छिन्।

पशुपति मित्र माविमा अन्य कक्षालाई बिदा दिए पनि कक्षा १० को कक्षा सञ्चालन भइरहेको छ। प्रधानाध्यापक चन्द्रकान्त पण्डित भन्छन्, ‘कामको चाङ छ। १० कक्षाका विद्यार्थीलाई बोलाएर कक्षा सञ्चालन गर्छौँ। उनीहरूले एसईईको तयारी गर्दैछन्। यसबाहेक अन्य क्रियाकलाप सोचेका छैनौँ। मुख्य कुरा त खर्च छैन।’

विद्यार्थीसँग जोडिने क्रियाकलापभन्दा पनि प्रशासनिक काम गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापकहरू बताउँछन्। केही सरकारी विद्यालयका विद्यार्थी जाडो बिदामा शैक्षिक भ्रमणमा जान चाहन्छन्। तर उनीहरू आफैँले खर्च व्यहोर्नुपर्ने भएपछि कठिन हुने गरेको छ। ‘विद्यार्थी तयार भएर हामी जान्छौँ भने पठाउँछौँ। शैक्षिक भ्रमणका लागि विद्यालयले आर्थिक सहयोग गर्नचाहिँ सक्दैन,’ पण्डितले भने।

डिल्लीबजारस्थित विजय स्मारक माविलले पनि एसईईको तयारीस्वरूप कक्षा १० का विद्यार्थीलाई पढाइरहेको छ। प्रधानाध्यापक शर्मा भन्छन्, ‘एसईईलाई ध्यानमा राखेर अतिरिक्त कक्षा लिनुपर्ने, कोर्स नसकिएका बालबालिकाका लागि कोर्स पूरा गरिदिनुपर्ने बाध्यता छन्। कक्षा ८ का विद्यार्थीलाई पनि स्थानीय बोर्ड परीक्षा तयारी गराउनुपर्ने हुन्छ।’ शर्मा पनि बालबालिकामा रमाइलो वातावरणमा बस्न पाइयोस् भन्ने चाहना रहे पनि सिकाइमा असर नपरोस् भन्ने हेतुले बिदामा गृहकार्य दिइएको बताउँछन्।

शर्माले हिजोआज जलवायु परिवर्तनको असरले मौसममा परिवर्तन आएर पहिलेजस्तो जाडो नभएको बताए। उनका अनुसार पहिलेपहिले काठमाडौँ उपत्यकामा मध्याह्नसम्म बाक्लो हुस्सु लाग्थ्यो। कक्षाकोठा अँध्यारा थिए। ससाना बालबालिका जाडोले कठ्यांग्रिन्थे। अचेल जाडोका बेला काठमाडौँमा बाक्लो हुस्सु लाग्दैन। प्रायः विद्यालयका पक्की भवन छन्। सोही कारण मीनपचास बिदा दिने चलन कम हुँदै गएको शिक्षकहरूको अनुभव छ।

शर्माले एक महिनासम्मको बिदा लामो हुने पनि बताए। ‘मौसममा बदलाव र पाठ्यभार, पाठ्यघण्टीअनुसारको क्रियाकलाप गर्नुपर्ने भएकाले एक महिनासम्मको बिदा लामो हुन्छ।’

काठमाडौँको एक निजी विद्यालयले जाडो बिदामा दिएको गृहकार्य।

अभिभावक पेसा व्यवसायमा संलग्न हुन्छन्। छोराछोरीको बिदा भए पनि उनीहरूले समय दिन पाउँदैनन्। त्यसैले अभिभावकमा विद्यालयले सकेसम्म कम बिदा देओस् भन्ने चाहना रहेको शिक्षकहरू बताउँछन्।

बिदा भनेको स्कुल र पाठ्यपुस्तकबाट बाहिर निस्कने अवसर हो। यस्तो बेला सिर्जनात्मक काममा लगाउन छाडेर गृहकार्य थोपर्दा बालबालिकाको शैक्षिक विकास प्रभावकारी हुन सक्दैन। आफूले विद्यालयमा पढेका कुरा समाजसँग घुलमिल हुन सिकाउने अवसर पाउँदैनन्। गृहकार्यले गर्दा बालबालिकाको सोच्नसक्ने क्षमताको विकास हुन नसक्ने जानकारहरू बताउँछन्। बालबालिकालाई आरामका लागि पनि बिदा दिनुपर्छ।

अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई विद्यार्थीलाई बिदामा गृहकार्यको भारी बोकाउन नहुने बताउँछिन्। उनी भन्छिन्, ‘प्रायः विद्यालयले बिदा भनेर छुट्टै विषयवस्तु, पाठ्यपुस्तकको गृहकार्य दिन्छन्। झोलाभरि पुस्तक, गृहकार्यले बच्चालाई स्कुल आउन मन लाग्दैन। उनीहरूलाई शिक्षकको गाली खाइन्छ भन्ने डर हुन्छ।’

बालबालिका सधैँ विद्यालय आउँदाजाँदा मात्र सिर्जनशील हुँदैनन्। लामो बिदा हुँदा बालबालिका परिवारसँग बस्न, आफ्नो गाउँ छ भने जान पाउँछन्। जाडो बिदामा बालबालिकालाई गृहकार्यका सट्टा पाठ्यक्रमबाहिरका पुस्तक पढ्न, घरको काममा सघाउ पुर्‍याउन, बिरुवा हुर्काउनजस्ता गतिविधिमा संलग्न गराउन सकिन्छ।

भट्टराई भन्छिन्, ‘कतिपय बालबालिकालाई आफ्नो परिवारको बारेमा थाहा हुँदैन। बिदाको समयमा परिवारको इतिहासबारे पनि बालबालिकालाई सिकाउन सकिन्छ। उनीहरूको चासोको विषयमा सोध्न सकिन्छ। कुनै मन्दिर या ठाउँ घुमेर आऊ र त्यसबारे लेख वा दैनिकी लेख भनेर पनि हामीले बालबालिकालाई भनेका छौँ।’

लामो बिदा अभिभावकसँग बिताएका र सिर्जनशील काम गरेका बालबालिका विद्यालय आउँदा खुसी हुने गरेको भट्टराईको अनुभव छ। जसका अभिभावक व्यस्त हुन्छन् उनीहरूका बालबालिका भने एकोहोरो भएर पढ्नै मन नलाग्ने गरी विद्यालय आउने गरेको उनले बताइन्।

‘अभिभावकसँग समय पाएका बालबालिका यो गरेँ, ऊ गरेँ भन्छन्। बाबाले यो भन्नुभयो, हजुरआमाले त्यो भन्नुभयो भनेर अनुभव बाँड्छन्। जसले घरमा अभिभावको समय पाएका हुँदैनन्। उनीहरूले बरु स्कुलमै रमाइलो हुन्थ्यो, साथीहरू, शिक्षक हुन्छन्, स्कुल मिस गरेँ भन्दै पनि आउँछन्’,  भट्टराईले भनिन्।

बालबालिकालाई रुचिअनुसारको क्रियाकलाप गराउनुपर्छ। बिदामा विद्यार्थी सुतेर बस्छु भन्न पनि पाउनुपर्छ। उनी भन्छिन्, ‘गणित, विज्ञान र नेपालीलाई मात्र गृहकार्य भनेर सीमित गराउन हुँदैन। बालबालिकालाई दिने गृहकार्य पनि प्रकृतिसँग जोड्नुपर्छ। सामाजिक हुन सिकाउनुपर्छ।’

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घण्टा पढाउनुपर्छ। शैक्षिक सत्र वैशाखमा सुरु भएर चैतमा सकिन्छ। सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब २०० दिन विद्यालय सञ्चालन हुन्छन्। त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समावेश हुँदै आएका छन्।

प्रकाशित: २२ पुष २०८० १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =