बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप

हिमाल प्रेस २१ पुष २०८० ११:२३
4
SHARES
बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा बजार क्षेत्रमा निषेधाज्ञाको समय थप गरेको छ।

कार्यालयले सूचना जारी गर्दै आज बिहान ८ देखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो। यसअघि हिजो साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो।

अस्पताल स्तरोन्नतिको विषयलाई लिएर हिजो भएको झडपमा एक जनाको मृत्यु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

कार्यालयले पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुल क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

निषेधित समय र क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिँड्डुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जनाइएको छ।

आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

हिजो भएको झडपमा प्रहरीले गोली चलाउँदा बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो।

प्रकाशित: २१ पुष २०८० ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 11 =