लुम्बिनी- नेपाल-अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको किल्ला संरक्षण र पुन:निर्माण पश्चात् नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्रको रूपमा विकास गर्ने बताए। जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण स्थल रहेको बताउँदै यसको सम्वर्द्धन र प्रवर्द्धन हुनुपर्नेमा जाेड दिए।
नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई समेत एउटै सर्किटमा जोड्नुपर्ने उल्लेख गरे। तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्मका क्षेत्रलाई जोडेर पर्यटनको विकास गर्न सकिने उनले राष्ट्रपति पौडेलले बताए। बुटवल उपमहानगरसहित प्रदेश तथा संघीय सरकारले ऐतिहासिक र सामरिक महत्त्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा चासो दिन आग्रह गरे।
राष्ट्रपति पाैडेलले बुटवल सहितका नगरहरूलाई जोडेर मेगासिटीको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरे। जितगढी किल्ला नेपाली सेनाले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउँदै राष्ट्रपति पौडेलले यसको संरक्षणमा जोड दिए।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो। हस्तान्तरणसँगै जितगढी किल्ला किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आएको छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि हराई सकेको जितगढी किल्लालाई संरक्षण गरी यसको उत्थान गरिएको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई १८७२ वैशाख ७ गतेका दिन जितगढी किल्लामा पराजित गरेको थियो।
उक्त युद्धका क्रममा वीरगति प्राप्त गर्ने लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुलबानियाँ, दलखम्बथापा, काजीवीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतको अर्धकदको शालिक जितगढी किल्लामा राखिएको छ। गरुड दल गणले संरक्षण र पुन:निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालन अब बुटवल उपमहानगरपालिकाले गर्नेछ।
किल्ला हस्तान्तरणपश्चात् नगर प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अंग्रेज युद्धको अध्ययनस्थलको रूपमा विकास गर्ने बताए। उनले किल्ला र किल्ला आसपासको क्षेत्रको पर्याप्त उत्खनन गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार, पुरातत्व विभागको थप सहयोगको खाँचो रहेको बताए।
‘यहाँको किल्लासँग रहेको सुरुङमार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरुको उत्खनन्पश्चात् आवश्यकताअनुसार पुनःनिर्माण र संरक्षणको लागि संघ सरकारसँग पहल गरिदिनुहुनका लागि सम्माननीय राष्ट्रपतिज्यूमार्फत अनुरोध गर्न चाहन्छु,’ प्रमुख पाण्डेयले भने। प्रमुख पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन सोचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्।
बुटवल नगरपालिकाको वडा नं. १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा रहेको छ। जितगढीमा १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो। सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका मनाउँदै आएको छ।