सिन्धुली- कमलामाई नगरपालिका-१ कोप्चेका नैनबहादुर हायूको परिवारलाई विगतका समयमा पेटभरि खान पुग्दैन थियो। सो परिवारलाई भोक मेटाउन जंगलमा कन्दमूल खोजेर खानु पर्दथ्यो।
‘२० वर्षअघिसम्म हामी वनमा गिट्ठा, तरुल खोजेर खाँदैथियौँ। अहिले पहिले जसरी जंगलमा कन्दमूल पाइँदैन । जंगल विनाशसँगै मासियो’, उनले विगत सम्झिँदै भने।
तत्कालीन समयमा हायु जातिको अवस्था अत्यन्तै नाजुक थियो। आयस्रोत थिएन। पढ्ने अवसर पाएका थिएनन्। सो जातिसँग बाँसजन्य सामग्री बनाउने सीप थियो।
उनले भने, ‘गाउँबाट बजार पुग्न दिनै बित्ने गर्दथ्यो। बाटो राम्रो थिएन। सवारी साधनको पहुँच थिएन। दैनिकी कठिनाइका साथका बित्ने गर्दथ्यो।’
पछिल्लो समय सो जातिको रहनसहन, बानीव्यवहार, खानपान र जीवनशैली बदलिँदो क्रममा छ। सरकारले मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेपछि सामाजिक, शैक्षिक र आर्थिक अवस्थामा सुधार आएको कमलामाइ –१ आधामाराका हायू समुदायका अगुवा युवा गुणबहादुर हायूले बताए।
उनले भने, ‘पहिला भोक टार्ने जंगली गिट्ठा, तरुललाई हायूले यतिबेला बिर्सिन थालेसकेका छन् । पेटभरि खान पाएका छन् । बालबालिका विद्यालयमा पढ्न पाएका छन् । सडक सुविधा थपिँदै गएको छ । बिजुली बत्ती घरघरमा पुगेको छ। समग्रमा हायू जातिको जीवनशैली व्यवस्थित बन्दै गएको छ।’
सरकारले अहिले लोपोन्मुख हायूलाई मासिक चार हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ। पाँच सय रुपैयाँबाट सुरु भएको भत्ता पछिल्लो समय बढ्दै गएपछि प्रकृतिलाई पूजा गर्ने हायूको जीवनशैली व्यवस्थित बन्दै गएको उनको भनाइ छ।
ज्येष्ठ नागरिक नागरिक पूर्णिमाया हायूले सरकारले दिएको सुविधाका कारण आफूहरूको जीवनस्तर राम्रो बन्दै गएको बताइन्।
‘मैले कखरा पढ्न पाइन। त्यो बेला केन्द्रमा मात्रै छ स्कुल भन्ने सुनेको थिएँ। हामीले पढ्ने उमेरमा स्कुल देख्न पनि पाएनौँ,’ उनले भनिन्, ‘हाम्रो बालबच्चाले पढ्ने बेला घरआँगनमै स्कुल स्थापना भयो। अहिले सबै हायू बालबालिकाले पढ्न पाएका छन्।’
सिन्धुलीको मदन भण्डारी राजमार्गको पश्चिम खण्डस्थित खारखोलाबाट उकालो एक घण्टा कच्ची सडक सवार गरेपछि जंगलभित्र छरिएर रहेको बस्ती भेटिन्छ। कमलामाई–१ को डाँडी गुराँसे कोप्चे क्षेत्रमा एक सय २० घर सो जाति छ।
सो क्षेत्र दुर्गम रहेको छ। त्यहाँ अझै पनि आधुनिक विकासको पूर्वाधार पुगेको छैन। कक्षा ८मा अध्ययनरत प्रमिसा हायूलाई विद्यालय पुग्न दुई घण्टा पैदल हिँड्नु पर्छ। पहिला घरबाट विद्यालयसम्म पुग्न सानो गोरेटो बाटो थियो।
अहिले कच्ची नै भए पनि सडक विस्तार भएको छ। घर र सहर गर्न हिउँद महिनामा दैनिक एउटा गाडी चल्छ। आफ्नो गाउँ विकसित हुँदै गएको उनीका ठम्याइ छ।
लालमाया हायूका अनुसार यस लोपोन्मुख जातिको पुर्ख्यौली पेसा मान्द्रो, डोको, डालो, नाग्लो, चाल्नो, भकारी बेच्ने हो । यसलाई व्यवसायी रूपमा प्रवर्द्धन गर्न नसके पनि घरायसी दैनिक कामबाट बचेको समयमा बाँसजन्य सामग्रीहरू बनाएर बेच्ने गर्दछन्।
कतिपय हायूले पशुपालन र कृषि कर्म गरेर पनि आम्दानी गर्न थालेका छन्। हायू जातिको जीवन उकास्नका लागि सडक सञ्जालदेखि विद्युत् विस्तारसम्मको काम भइरहेको वडाध्यक्ष नरेश गोलेले बताए। सबैलाई शिक्षामा जोड्का लागि हायू गाउँमै माध्यमिक तहको विद्यालय सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ।
कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले लोपोन्मुख हायूको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नु सरकारको दायित्व भएकाले यसका लागि आफू कटिबद्ध रहेको बताए। हायूको पराम्परागत सीप र पहिचान प्रवर्द्धनमा योजना बनाएर काम गर्ने उनको भनाइ छ।
कमलामाई नगरपालिकामा मात्रै एक हजार एक सय हायू जातिले सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन्। सो भत्ताले जीवनयापन सहज बन्नाका साथै जीवनशैलीमा परिर्वतन आएको उनीहरुको भनाइ छ। सरकार नै आफूहरुको भरोसा बनेको जनाउँदै सो जातीले खुशी व्यक्त गरेका छन्।