प्रचण्ड भन्छन् : माओवादी घटकबीच एकता अपरिहार्य

हिमाल प्रेस १३ माघ २०८० १७:२२ | Saturday, January 27, 2024
प्रचण्ड भन्छन् : माओवादी घटकबीच एकता अपरिहार्य

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्।

माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेताकार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे।

‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु’, उनले भने। प्रचण्डले माओवादी विभाजित भएर लक्ष्यमा पुग्न नसिकिने पनि बताए। जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।

‘कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उनीहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ’,अध्यक्ष दाहालले भने, ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ।’

प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाए।

प्रकाशित: १३ माघ २०८० १७:२२ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast