किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

हिमाल प्रेस २६ पुष २०८० १४:५० | Thursday, January 11, 2024
किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

चितवन- भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ। गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई ६ करोड ३७ लाख अनुदान दिन लागेको हो।

उनीहरूले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन्। महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो। त्यसपछिका दुई वर्ष प्रतिलिटर एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर तीन अनुदान दिइँदै छ।

गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ। बजेटमा पाँच करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन्। उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो।

किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ। अघिल्लो वर्ष दूधमा अनुदान पाँच करोड १० लाख दिइएको थियो। दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो। उनले भनिन्,‘अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ।’

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ।

प्रकाशित: २६ पुष २०८० १४:५० | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast