माछापालनतर्फ किसानको आकर्षण

हिमाल प्रेस १४ पुष २०८० १२:४९
6
SHARES
माछापालनतर्फ किसानको आकर्षण

कैलाली- पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ।

सरकारी तथ्यांकअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको मत्स्यविकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले बताए।

सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको बताउँदै उनले बाँकी २५ प्रतिशत भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको जानकारी दिए।

सुदूरपश्चिममा माछाको खपत पनि बढ्दै गएको छ। एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्यांकले देखाएको छ। उत्पादनमा वृद्धिसँगै आउँदो १० वर्षमा प्रतिव्यक्तिलाई १० किलो उपभोग गराउने लक्ष्य रहेको कार्यालय प्रमुख शाहीले बताए। उनले आउँदो १० वर्षभित्र ३० हजार मेट्रिकटन उत्पादन पुर्‍याउने लक्ष्य रहेको जानकारी दिए।

माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत आवश्यक सामग्री नपाउने समस्या रहेको बताइएका छन्। माछा व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गए पनि बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ थियो।

कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिकटन माछा खपत हुने गरेको छ। केन्द्रका अनुसार प्रदेश भरी वार्षिक करिब १० हजार मेट्रिकटन खपत हुने गरेको छ। मत्स्यविकास केन्द्रका अनुसार दुई जिल्लामा गरी एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आइएको छ।

तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल रहेका छन्।
कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिकटन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिकटन माछा उत्पादन हुने गरेको छ।

केन्द्रका प्रमुख शाहीका अनुसार सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ। उनले पछिल्लो १० वर्षको अवधिमा सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा कैलाली र कञ्चनपुरमा माछापालन व्यवसाय निकै फस्टाएको बताए।

एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा १० वर्षको अवधिमा आन्तरिक उत्पादन बढ्दै गएको जनाइएको छ।

विभिन्न प्रजातिका माछाका भुरा उत्पादन गरेर मत्स्यपालक किसानलाई बिक्रीवितरण गर्दै आइएको जनाउँदै मत्स्यविकास केन्द्रले पछिल्ला वर्षमा लक्ष्यभन्दा बढी परिमाणमा भुरा उत्पादन भइरहेको उल्लेख गरेको छ।

केन्द्रमा ह्याचलिङ, फ्राई, फिंगरलिङ र एडभान्स फिंगरलिङ साइजका माछाका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ।

लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन

कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। मंसिर मसान्तसम्म चार अर्ब ५८ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ९६ करोड ७१ लाख रुपैयाँ मात्रै संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

खड्काका अनुसार चालु आवको साउनमा ७२ करोड ३५ लाख रुपैयाँ लक्ष्य रहेकामा ४६ करोड ८२ लाख रुपैयाँ, भदौमा ८८ करोड ४० लाख रुपैयाँ लक्ष्य रहेकामा ५१ करोड ९३ लाख रुपैयाँ, असोजमा ९७ करोड ८१ लाख रुपैयाँ लक्ष्य रहेकामा ६३ करोड १४ लाख रुपैयाँ, कात्तिकमा ९७ करोड ५२ लाख रुपैयाँ लक्ष्य रहेकामा ६१ करोड ६४ लाख रुपैयाँ र मंसिरमा एक अर्ब दुई करोड २५ लाख रुपैयाँ लक्ष्य रहेकामा ७३ करोड ३४ लाख रुपैयाँ मात्रै राजस्व असुली भएको छ।

भन्सार कार्यालयको चालु आव २०८०/८१ मा वार्षिक राजस्व संकलनको लक्ष्य ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ रहेको छ। चालु आवको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म दुई अर्ब ९६ करोड ७१ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ जुन वार्षिक लक्ष्यको २५ दशमलव ६१ प्रतिशत मात्र रहेको सूचना अधिकारी खड्काले जानकारी दिए।

भन्सार कार्यालयले गत आव २०७९र८० मा पनि कुनै महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको जनाएको छ। गत आवमा वार्षिक राजस्व संकलनको लक्ष्य १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रुपैयाँ असुली भएको थियो।

जुन लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको जनाइएको छ। आयातमा कमी भएसँगै राजस्व संकलनमा कमी आएको सूचना अधिकारी खड्काको भनाइ थियो।

उनले भने, ‘आयात घट्यो, बढी राजस्व असुली हुने सामान आयातमा कमी आयो। त्यसले राजस्व संकलनमा पनि कमी आएको हो।’ उनका अनुसार राजस्व संकलनको लक्ष्य वृद्धि पनि ४० प्रतिशतले बढेर आएकाले राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको हो।

प्रकाशित: १४ पुष २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =