चर्चित अनुहारका चित्र एकै ठाउँमा

सुस्मिता बजगाईं १४ पुष २०८० ९:०५
242
SHARES
चर्चित अनुहारका चित्र एकै ठाउँमा

काठमाडौँ- नेपालका चर्चित अनुहार भन्नेबित्तिकै कोको सम्झनुहुन्छ? जो अहिले चर्चामा छन् तपाईँले फ्याट्ट उनीहरूकै नाम बताउनहुन्छ। त्यसपछि अन्य चर्चामा आएका अनुहार कलाकार, उद्यमी, व्यापारी, राजनीतिज्ञ, डाक्टरलगायतका आउलान्।

नेपाली मूलका चित्रकार भरत सिंहले गुगल र सामाजिक सञ्जालमार्फत नेपालमा चर्चित अनुहार खोजे। अनि संकलन गरे चर्चित कलाकार, व्यापारी, उद्यमी, डाक्टर, बैँकर, समाजसेवी, राजनीतिज्ञ आदिको तस्बिर।

भारतको मुम्बईमा बस्दै आएका कलाकार भरतले चार वर्ष लगाएर ४० चर्चित अनुहारलाई पोट्रेटमार्फत आफ्नो कलामा प्रस्तुत गरे। नेपालमै प्रदर्शनीमार्फत ती चर्चित अनुहारलाई ‘सरप्राइज’ दिने गृहकार्यमा जुटे उनी।

उपहार दिने योजनामा सुरु गरिएको पोट्रेट अनुहारले प्रदर्शनीको रूप लियो। बबरमहलस्थित नेपाल कला परिषद्को ढोकैमा मह जोडीको पोट्रेटले मुस्कानसाथ दर्शकलाई निम्त्याइरहेका छन्।

परिषद्को दायाँतिर भुइँतलामा जारी ‘नेपाल्स ह्युम्यानिटी’ नामक प्रदर्शनीमा नेपालका धेरै चर्चित अनुहारका पोट्रेट देख्न पाइन्छ। जसमा महानायक राजेश हमालदेखि डाक्टर सन्दुक रुइत, वरिष्ठ कलाकार गौरी मल्ल, व्यावसायी जीवा लामिछाने, योगेन्द्र शाक्य, दीपक मल्होत्रा, प्रदीपकुमार श्रेष्ठ, उद्यमी विदुषी राणा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसम्मका ४० जनाको पोट्रेट छन्।

प्रदर्शनीमा कोही मुस्कुराइरहेका छन्। कोही गम्भीर मुद्रामा त कोही गमक्क। उनीहरूको चरित्र विशेष पोट्रेट बनाउँदै गर्दा आफूभित्र ऊर्जा मिलेको चित्रकार भरतको अनुभव छ।

नेपालमा भरतको यो दोस्रो पटकको एकल प्रदर्शनी हो। सन् २०२० मा पहिलोपटक भरतले १४ चरित्रका पोट्रेट प्रदर्शनी गरेका थिए। प्रदर्शनीमा विद्यादेवी भण्डारी, हिमानी शाह, विनोद चौधरी, आनी छोइङ डोल्मा, अनुराधा कोइराला, अम्बिका श्रेष्ठलगायतको पोट्रेट बनाएका थिए।

त्यसैबेला प्रदर्शनीमा आएकाहरुले व्यक्तित्वहरूले भरतलाई आफ्नो पनि पोट्रेट बनाउन भनेका थिए। परिणामस्वरूप उनले नेपालका ब्रान्डेड व्यक्तित्वहरूको पोट्रेट तयार पारेका हुन्।

भरतले उक्त पोट्रेट खरिद गर्न चाहनेका लागि बेच्न पनि तयार रहेको बताए। सन्दुक रुइत, मह जोडी, राजेश हमाल, गौरी मल्ल, बालेन शाहलाई उनले उपहारै दिने पनि सोचेका छन्। भन्छन् ‘उहाँहरू मेरो प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँहरूलाई बेच्ने म सोच्नै सक्दिनँ।’

०००

भरत मुम्बईका चर्चित पोट्रेट चित्रकार हुन्। धनगढी घर भएका भरत सानैदेखि मुम्बई बस्दै आएका थिए। उनले उतै अध्ययन गरे। ३७ वर्षीय भरतलाई स्कुल पढ्दादेखि नै चित्रकलामा रुचि थियो। पढाइभन्दा पनि चित्रकलामा रुचि बढेदै गएपछि उनले यसैलाई प्राथमिकता दिए। उनी नोटमा चित्र र चर्चित कलाकारको चित्र उतार्ने गर्थे।

भरत अहिलेसम्म चित्रकलासम्बन्धी कुनै कक्षा नलिएको बताउँछन्। ‘सानैदेखि रुचि थियो, कोर्दाकोर्दै सिकेँ’, उनले भने। चर्चित चित्रकारहरूको कामबाट प्रेरणा लिने गरेको उनले बताए।

कलामा आफूलाई उभ्याउन सुरुवाती दिनमा निकै संघर्ष गरेको उनको तितो अनुभव छ। ‘अन्य पेसामा भन्दा कलामा कठिन परिश्रम गर्नुपर्छ। जीवनयापन गर्न नै गाह्रो हुन्छ’, उनले भने, ‘तर हामीले मिहिनेत गर्न छोड्नु हुन्न।’

दुई दशकदेखि निरन्तर कलामा नै आफूलाई समर्पित गरिरहेका भरतले अहिलेसम्म बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन, बालासाहेब ठाकरे, बालकृष्ण आचार्य, सचिन तेन्दुलकर, शरद पवार, रतन टाटालगायत चर्चित व्यक्तित्वहरूका पोट्रेट बनाएर एकल प्रदर्शनी  गरिसकेका छन्।

पुस १० गतेदेखि सुरु भएको पाँच दिने प्रदर्शनीको शनिबार अन्तिम दिन हो। प्रदर्शनी बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला रहनेछ।

प्रकाशित: १४ पुष २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =