पटकपटक किन आन्दोलन गर्छन् कोरिया जान चाहने कामदार?

रमेश भारती १४ पुष २०८० १०:५४
70
SHARES
पटकपटक किन आन्दोलन गर्छन् कोरिया जान चाहने कामदार?

काठमाडौँ- वैदेशिक रोजगारीमा दक्षिण कोरिया जान चाहिने रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयमा भएको विरोधमा प्रहरीसँग झडप हुँदा शुक्रबार दुई जनाको ज्यान गएको छ। ललितपुर प्रहरीका अनुसार मृत्यु हुनेमा सुजन राउत र वीरेन्द्र शाह छन्।

भाषा परीक्षामा अनुत्तीर्ण कामदारले ललितपुरको बालकुमारी क्षेत्रमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि स्थिति अनियन्त्रित बनेको थियो। प्रहरीले आन्दोलनमा उत्रिएका परीक्षार्थीलाई तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये दुवै जनाको किस्ट अस्पतालमा उपचारका क्रममा निधन भएको जनाएको छ।

सिप बिल्डिङ (पानीजहाज निर्माण) सम्बन्धी कामका लागि परीक्षा दिएर उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा फाराम भर्न दिइनुपर्ने माग गर्दै आएका छन्। गत मंसिर १९ गते अन्य क्षेत्रतर्फ भाषा परीक्षाका लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने व्यवस्था गरिएको थियो। सिप बिल्डिङ परीक्षामा फेल भएकामध्ये १८ जनाले मात्र उत्पादनमूलक क्षेत्रमा फाराम भर्न पाउने भएपछि एक हजारभन्दा बढी कामदार सोमबारदेखि आन्दोलित थिए। यही विवादले हिंसात्मक रूप लिँदा शुक्रबार दुई युवाले ज्यान गुमाउनुपरेको छ।

कोरिया जान चाहने कामदारले आन्दोलन गरेको घटना यो पहिलो होइन। चार वर्षयता भाषा परीक्षा उत्तीर्ण परीक्षार्थी समयमा कोरिया जान नपाउँदा आन्दोलन गर्दै आएका छन्। कोरोना महामारीका बेला भाषा परीक्षा उत्तीर्ण गरेका कामदारले कोरिया जान नपाएका कारण वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस शाखामा २१ दिन आन्दोलन गरेका थिए। त्यति बेला कोरिया सरकारले १४ महिना विदेशी कामदार लैजान रोक लगाएको थियो।

सरकारले कोरोना महामारीअघि ईपीएस परिक्षा पास गरेका कामदार पठाउन पहल नगरेको भन्दै उनीहरूले ईपीएस शाखामा धर्ना दिएका थिए। २०७७ माघमा कामदार भिसामा जान श्रमिकले सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहे पनि सरकारले उडान खुला नगरेपछि उनीहरू आन्दोलित भएका थिए। आन्दोलनकै कारण १० हजार कामदार रोकिएका थिए। उनीहरु गत आर्थिक वर्षमा कोरिया गइसकेको शाखाले जनाएको छ।

गत वर्ष पनि कोरियामा करार अवधि (पाँच वर्ष) सकेर फर्किएका कामदारले फेरि जाने गरी परीक्षा गराउन माग गर्दै १५ दिन आन्दोलन गरेका थिए। आफूहरू पाँच वर्ष कोरियामा बसेर फर्किए पनि पुनः रोजगारीका लागि नपठाएको आरोप उनीहरूको थियो।

श्रम मन्त्रालयले पहिलोपटक जानेलाई प्राथमिकतामा राखेपछि यसअघि गएर आएकाहरूले आन्दोलन गरेका हुन्। अन्तिममा कोरियाबाट फर्किएका कामदारका लागि पनि सीबीटी परीक्षा खुलाएको थियो।  यी त भए कोरिया जान चाहने नेपाली युवाले स्वदेशमा गरेका विरोधका कार्यक्रम।

इपीएसमार्फत कोरिया पुगेका नेपाली कामदारले पनि बेलाबेला आन्दोलन गर्दै आएका छन्। तीन महिनाअगाडि सेवासुविधाका विषयमा कोरियाको राजधानी सियोलमा २ सयभन्दा बढी नेपाली आन्दोलनमा उत्रिएका थिए।

सरकारले कोरियासँग श्रम सम्झौता गरेर कामदार पठाउँदै आएको छ। नेपली युवालाई श्रम सम्झौताकै आधारमा कोरिया पठाइँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे बताउँछन्। उनले कामदारलाई कोरिया पठाउन सरकारको कुनै भूमिका नरहने बताए।

नेपालले श्रम सम्झौताका आधारमा परीक्षा सञ्चालन, सीप तालिम र त्यहीअनुसारको समय तालिका मिलाउने काम मात्र भएको उनले बताए। ‘नेपाली कामदारको परीक्षा, उनीहरुलाई लैजाने र अन्य सबै प्रक्रिया कोरिया सरकारले गर्दै आएको छ। त्यसमा नेपालको सहयोगी भूमिका मात्र रहन्छ’, उनले भने।

कोरियन भाषा उत्तीर्ण परीक्षार्थी छिटो कोरिया जान खोज्छन्। यति मात्र होइन, प्रविधिक कारण केही ढिलो र समस्या भए आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ।

सन् २००८ बाट ईपीएस प्रणालीबाट दक्षिण कोरिया नेपाली कामदार जाने थालेका हुन्। ईपीएसमार्फत अहिलेसम्म ९० हजारभन्दा बढी नेपाली कामदार कोरिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

गत आर्थिक वर्ष लगभग २१ हजार नेपाली ईपीएसबाट दक्षिण कोरिया पुुगेको विभागको वर्षिक प्रतिवेदनमा उल्लेख छ। चालु आर्थिक वर्षको ५ महिनामा ४ हजारभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया गएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया सरकारको निर्णय भएका कारण नेपालले यसमा केही गर्न नमिल्ने बताउँदै आएको छ।

प्रकाशित: १४ पुष २०८० १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 8 =