इटहरीका मेयरले भने : करको विषयमा एमालेले फन्डा गर्‍यो

हिमाल प्रेस १२ पुष २०८० १७:१८
20
SHARES
इटहरीका मेयरले भने : करको विषयमा एमालेले फन्डा गर्‍यो

इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताहरूले फण्डा गरेको आरोप गरेका छन्। इटहरीमा बिहीबार पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाएका हुन्। एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन्।

बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताए। इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन्–छिन्‌मा कुरा फेरेर एमालेले कर घटाउने विषयलाई फण्डाको रूपमा मात्र बजारमा ल्याएको बताए।

नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप समेत लगाए। राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधबारको नगरसभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो। तर, पार्टीको ह्वीपमा उनीहरूले नगरसभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए।

कार्यपालिका र नगरसभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ। ‘हामी कर घटाउने पक्षमा छौँ, बारम्बार भन्दै आएका छौ। तर, एमालेले भने अहिलेसम्म दोहोर चरित्र मात्र देखाएको छ,’ पौडेलले भने।

इटहरीमा एमालेले जनमानसमा भ्रम छरिरहेको उनको भनाइ छ। ‘इटहरीको विकास गर्न चुनिएको जनप्रतिनिधिहरूलाई एमालेले आफ्नो संगठन चलाउन खोजेजस्तो गरिरहेका छन्,’ उनले भने, ‘म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ। म इटहरी बनाउन आएको मानिस हुँ।’

उनले सस्तो लोकप्रियताका लागि धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेको बताए। इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुखसहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुखसहित ६ जना नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन्। यस्तै, १०४ जना नगरसभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली कांग्रेसबाट निर्वाचित सदस्य रहेका छन्।

प्रकाशित: १२ पुष २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =