अवैध रूपमा युरोप पुगेका दुई सय नेपाली ग्रिसमा रोकिए

हिमाल प्रेस १२ पुष २०८० १४:४६
20
SHARES
अवैध रूपमा युरोप पुगेका दुई सय नेपाली ग्रिसमा रोकिए ग्रिसको राजधानी एथेन्स सहर। तस्बिर स्रोत : गेट्टी इमेजेज

काठमाडौँ- वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश र अमेरिका हिँडेका दुई सय जनाभन्दा बढी नेपाली ग्रिसमा रोकिएका छन्। उनीहरू अध्यागमनमा समस्या भएपछि एक महिनादेखि ग्रिसको राजधानी एथेन्स आसपासका सहरमा रोकिएको सूचना अस्ट्रियास्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार ग्रिसमा रोकिएका नेपालीमध्ये केहीको भिसाको म्याद सकिएको छ। केहीसँग अध्यागमन अनुमति छैन भने केहीसँग राहदानी छैन। यस्तै कतिपयको राहदानीको म्याद सकिएको छ।

ग्रिसमा रोकिएका दुई सयभन्दा बढी नेपालीको अवस्थाबारे अस्ट्रियास्थित नेपाली नियोगले जानकारी लिने काम गरिरहेको र उनीहरूको समस्याबारे नियोगमार्फत बुझ्ने काम भइरहेको परराष्ट्र मन्त्रालयका सूचना अधिकारी ऋषिराज आचार्यले जानकारी दिए। एथेन्समा रोकिएका नेपाली त्यहाँ हुँदै अन्य देश वैदेशिक रोजगारीमा हिँडेको सूचना आएको आचार्यले बताए।

ती नेपाली भारत, श्रीलंका र थाइल्यान्ड हुँदै गएको हुनसक्ने अनुमान परराष्ट्र मन्त्रालयका अधिकारीहरूको छ। ग्रिस हुँदै अन्य देश हिँडेका धेरै नेपाली भिजिट भिसा लिएर त्यहाँ पुगेको र उनीहरूको भिसाको अवधि सकिएका कारण त्यहाँ सरकारले अध्यागमन अनुमति नदिँदा रोकिएको सूचना अधिकारी आचार्यको बुझाइ छ।

नेपाली दूतावास नरहेको ग्रिसमा छिमेकी रोमानिया, साइप्रस र सर्बियालगायतका देशबाट पुगेका नेपाली रोकिने गरेका छन्। त्यहाँ पुगेका नेपाली अमेरिका, क्यानडा र अन्य देश जाने गरेका छन्।

गत कात्तिकमा युरोप हिँडेका तीन सय नेपाली ग्रिसमा अलपत्र परेर बसेका थिए। उनीहरूलाई अस्ट्रियास्थित नेपाली नियोग र परराष्ट्र मन्त्रालयले उद्धार गरी स्वदेश फर्काएको थियो।

पूर्वमन्त्री सञ्चारमन्त्री एवम् प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले पनि काभ्रे घर भएका चमारसिंह तामाङसहित दुई सय नेपाली ग्रिसमा अलपत्र परेको बताएका छन्। काभ्रेबाट निर्वाचित सांसद बाँस्कोटाले अलपत्र नेपालीलाई ग्रिस पुर्‍याउने पक्षको खोजी गरेर दोषीमाथि कारबाहीको समेत मागसमेत सामाजिक सञ्जालमार्फत गरेका छन्।

प्रकाशित: १२ पुष २०८० १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =