प्रधानसेनापति भन्छन् : राष्ट्रिय एकताको लागि सेवा दलका छात्रछात्राको पनि जिम्मेवारी छ

हिमाल प्रेस ११ पुष २०८० १८:१२
124
SHARES
प्रधानसेनापति भन्छन् : राष्ट्रिय एकताको लागि सेवा दलका छात्रछात्राको पनि जिम्मेवारी छ

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राको पनि जिम्मेवारी भएको बुझ्न आग्रह गरेका छन्।

राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीको संस्था एनसीसी अल्मुनाई एशोसिएशन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा आज ‍युवासँग प्रधानसेनापति कार्यक्रमा उनले सो कुरा बताएका हुन्।कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षकसमेत रहेका शर्माले एशोसिएशनसँग आवद्ध सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे।

उनले स्थापनाकालदेखि राष्ट्रिय सेवादलले युवालाई अनुशासित, नैतिकवान्, इमानदार र बफादार बनाउन, युवामा नेतृत्व क्षमताको विकास गर्न, राष्ट्रियता एवम् राष्ट्रिय एकताको भावना जागृत गराउनुका साथै राष्ट्रलाई कुनै पनि विपत्ति पर्दा निःस्वार्थ ढंगले तत्परताका साथ क्रियाशील हुने युवा स्वयंसेवक तयार गर्ने कार्य गर्दै आइरहेको बताए।

उनले हाल देशका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आइरहेको र हालसम्म ६८ हजार ९७२ जनाले तालिम लिइसकेको उल्लेख गरे।

समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानसेनापतिले नेपाल सरकारका विभिन्न निकायहरू, स्थानीय तहहरू, कानुन कार्यान्वयन गर्ने निकायहरू, सामाजिक संघसंस्थासँगको सहकार्य एवम् समन्वयमा संस्थाले थुप्रै सृजनशील र रचनात्मक कार्यहरू गरिरहेको उल्लेख गर्दै यस्ता कार्य अझ विस्तार हुँदै जाने विश्वास व्यक्त गरे।

उनले नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राको पनि जिम्मेवारी हो भन्ने बुझ्न सहभागीलाई आह्वान गरे।

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले राष्ट्रिय सेवादल तालिमलाई सरकारले दिएको प्राथमिकता, नेपाली सेनाको परिश्रम, योगदान तथा राष्ट्रले तालिम प्राप्त क्याडेटबाट राखेको अपेक्षालाई सम्पूर्ण क्याडेटले अल्मुनाई एशोसिएशनमार्फत सार्थक बनाइ समाजको रूपान्तरण र विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सोही क्रममा उनले मित्रराष्ट्रहरूसँग सञ्चालन भइरहेका युवा आदानप्रदान कार्यक्रमलाई भविष्यमा अझ विस्तार गर्दै लैजाने योजना रहेको जानकारी दिए।

कार्यक्रममा एशोसिएशनका प्रमुख सल्लाहकार निगम हुमागाँइले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली जनताको आस्था एवम् भरोसाको पुञ्ज नेपाली सेनाको छत्रछायामा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकोमा राष्ट्रिय सेवा दलबाट दीक्षित समस्त क्याडेट गौरवान्वित भएको बताए।

राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की (अ.प्रा.)ले अल्मुनाइ एशोसिएशनका सदस्यलाई बधाई र शुभकामना दिँदै उनीहरूको सीप र क्षमताको सदुपयोगका लागि उपयुक्त वातावरण तयार पार्ने कार्यमा राष्ट्रिय सेवादल सधैं प्रयत्नशील रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा बलाधिकृत रथी अशोक राज सिग्देल, रथीवृन्द, एशोसिएशनका सातवटै प्रदेशका निर्देशकका साथै तालिमा सहभागी छात्रछात्रा एवम् सकलदर्जाका प्रशिक्षकको उपस्थिति थियो। राष्ट्रिय सेवादल नेपाल २०२२ सालमा स्थापना भएको हो भने यसबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था २०७५ सालमा स्थापना भएको हो।

प्रकाशित: ११ पुष २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =