भारतबाट यसरी हुन्छ हरेक दिन दुई सय नेपालीको तस्करी

रमेश भारती ११ पुष २०८० १९:०५
258
SHARES
भारतबाट यसरी हुन्छ हरेक दिन दुई सय नेपालीको तस्करी एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- पछिल्लो समय तस्करहरूले भारतीय विमानस्थल प्रयोग गरी नेपाली नागरिकलाई तेस्रो देशमा पठाइरहेको पाइएको छ। तस्करहरूले भारतका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक दुई सयभन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाइरहेको पाइएको हो।

तस्करहरूले चेन्नाई इन्टरनेसनल एयरपोर्ट, मुम्बईस्थित छत्रपति शिवाजी इन्टरनेसल एयरपोर्ट र दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट दैनिक ती नेपालीलाई नेपाल सरकारले प्रतिबन्ध लगाएका मुलुकमा पठाइरहेको भारतमा रहेका नेपालीको हकहितका लागि काम गर्दै आएको संस्था मिसन नेपालका अध्यक्ष कवि कार्कीले जानकारी दिए।

दिल्लीस्थित पहाडगन्जमा होटल व्यवसाय गर्दै आएका कार्कीका अनुसार दिल्लीमा मात्र होइन, मुम्बई र चेन्नाईमा समेत नक्कली एनओसी बनाएर तस्करले वैदेशिक रोजगारीमा कामदार पठाइरहेका छन्। भारतका तीनवटा विमानस्थलबाट दैनिक दुई सयभन्दा बढी नेपाली तस्करीमार्फत वैदेशिक रोजगारीमा गइरहेको र तीमध्ये धेरै महिला भएको सूचना पाएको उनको दाबी छ।

यसरी जान लागेका केही नेपाली विमानस्थलबाट पक्राउ पर्ने गरेका छन्। उनीहरूसँग कागजपत्र पनि नक्कली हुने गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासका कन्सुलर राजन उप्रेतीले जानकारी दिए। दूतावासका अनुसार एक महिनाभित्र नक्कली नोअब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर भारतीय अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यूएई, कतार, कुवेत र युरोपका देश हिँडेका १५ नेपाली विमानस्थलमै पक्राउ परेका छन्।

गत साता मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि कुवेत र यूएई हिँडेका दुई महिलासहित आठ नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको एनओसी नक्कली भएका कारण भारतीय प्रहरीले प्रक्राउ गरेको दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो। नक्कली श्रम स्वीकृति र एनओसी लिएर जान लागेका उनीहरू मुम्बई विमानस्थलमा पक्राउ परेका थिए।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग र दूतावाससँग श्रम स्वीकृति र एनओसी ‘क्रस-भेरिफाई’ गर्दा उस्तै देखिए पनि श्रम स्वीकृति दिएको प्रमाणित नभएपछि उनीहरूलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ। आठैजनाको कागजात नक्कली पुष्टि भएपछि भारतीय प्रहरीको सहयोगमा उनीहरूको गिरोहको खोजी भइरहेको कन्सुलर उप्रेतीले बताए।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार भारत हुँदै तेस्रो देश जाने नेपालीलाई तस्करले १५ देखि २० हजार भारुमा नक्कली एनओसी बनाएर बिक्री गर्दै आएका छन्। दिल्ली र मुम्बईमा नक्कली एनओसी बनाएर बेच्ने गिरोह सक्रिय भएको सूचना आएको दूतावासका कन्सुलर उप्रेती बताए।

‘भारतबाट नक्कली एनओसी लिएर वैदेशिक रोजगारीमा हिँडेका केही नेपाली यहाँको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्ने गरेका छन्। पक्राउ पर्नेमा महिला धेरै छन्। उनीहरूको कागजातसमेत नक्कली भएको पाइएको छ,’ उप्रेतीले भने। उनका अनुसार भारतीय विमानस्थलबाट बिदेसिने नेपालीले एनओसी जाँच गराएर मात्र उडान अनुमति पाउने भएपछि केही महिनायता नक्कली एनओसी लिएर झुक्याउने काम भइरहेको छ।

गत महिना पनि नक्कली एनओसी लिएर युरोप हिँडेका सात नेपाली दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए। उनीहरूलाई नक्कली एनओसी बोकेका कारण प्रहरीले पक्राउ गरेको थियो।

परराष्ट्र मन्त्रालयले गत महिनादेखि दोस्रो देश हुँदै अध्ययन, वैदेशिक रोजगारी र अन्य काम जाने नेपाली एनओसी अनिवार्य गरेको छ। भारतीय बाटो भएर यूएई, कतार, कुवेत र युरोपलगायतका देश अवैध तरिकाले जाने नेपालीको संख्या बढेपछि दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिएरमात्रै जान पाइने व्यवस्था गरिएको हो। ती देशमा जाने नेपालीले एनओसी भएमात्र भारतीय विमानस्थलबाट उडान अनुमति पाउँछन्।

भारतीय दलालसँग मिलेर नेपाली तस्कर नक्कली श्रम स्वीकृति र एनओसीकै पैसा लिएर बिक्री गरिरहेको मिसन नेपालका अध्यक्ष कार्की बताउँछन्। दिल्ली र मम्बईमा १५ देखि २० हजार भारुमा नक्कली एनओसी किन्न पाइने त्यहााँ नेपालीलाई उधृत गर्दै काकीले जानकारी दिए।

उप्रेती पनि तस्करको सहयोगमा भारतीय अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको जानकारी आउने गरेको बताउँछन्। नेपाल सरकारले वैदेशिक रोजगारीका लागि भिजिट भिसामा यूएई, कतार र यूरोपका देश जान कडाइ गरेपछि एजेन्टहरूले भारतीय बाटो प्रयोग नेपालीहरूलाई ती देश पठाउन थालेका हुन्।

प्रकाशित: ११ पुष २०८० १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =