विश्वबहादुरले बेचे ७५ लाखको सुन्तला

हिमाल प्रेस ८ पुष २०८० १३:५७
50
SHARES
विश्वबहादुरले बेचे ७५ लाखको सुन्तला

दमौली– तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका कृषक विश्वबहादुर अधिकारीले ७५ लाखको सुन्तला बिक्री गरेका छन्। उनले व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन्। अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु। यो वर्ष ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ।’

जिल्ला विकास समितिका पूर्वसभापति समेत रहेका अधिकारी सुन्तला खेतीबाट सन्तुष्ट छन्। अधिकारीले भने, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो। सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ। आम्दानी पनि राम्रो भइरहेको छ। यसबाट सन्तुष्ट नहुने कुरै छैन।’ भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक ६०-७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन्।

उक्त सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन्। उनले भने, ‘गत वर्ष राम्रो उत्पादन भएन। सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भयो।’ सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको उनको भनाइ छ। उनले भने, ‘वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ। फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ।’

सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढाएको उनले बताए। सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ।

बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज छ। सुन्तला खरिद गर्न व्यापारी बगानमा नै आउने हुँदा बजारको कुनै समस्या छैन। सुन्तला खरिद गर्ने व्यापारी थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताउँछन्। ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु। यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन्।’

तनहुँमा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ। त्यस वर्ष ९ हजार ६४५ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न १ करोड बजेट विनियोजन गरेको छ।

जिल्लाका ८ हजार ५७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। यहाँको सुन्तला काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा बिक्री हुने गरेको छ। यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए।

-रासस

प्रकाशित: ८ पुष २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =