संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

हिमाल प्रेस ७ पुष २०८० १८:४१
2.8k
SHARES
संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज सीतापाइलामा आयोजना गरेको बहुउद्देश्यीय भवन शिलान्याश तथा केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने,‘तपाईंहरू धेरैलाई संघीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन र संघीय शिक्षा विधेयक संसद्बाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ।’

सो विधेयकमा शिक्षकका जायज माग सम्बोधन गरिने र विद्यालय शिक्षालाई थप सबल बनाउने प्रधानमन्त्रीको भनाइ छ। ‘तपाईं शिक्षकले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दबाब दिनुभयो। यसले सरकारलाई सहयोग पुगेको छ’, प्रधानमन्त्रीले भने,‘तपाईंहरूले अहिलेको मस्यौदामा जुन सुझाव दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव माग सम्बोधन गरिनेछ।’

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, नेताहरू नारायण दाहाललगायतले सामाजिक अभियन्ताका रूपमा रहेका शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज सुधारको अगुवाइ गर्नुपर्नेमा जोड दिएका दिए।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले देशभरबाट सहयोग जुटाएर बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको अध्यक्ष शंकर अधिकारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =