भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा विश्वशान्ति धाम बन्दैछ। कोरोनाले गर्दा निर्माण रोकिएकोमा अब १६ डिसेम्बर २०२३ देखि सुरु भएको छ। सो दिन दिउँसो २ बजे जगमा ढुंगा हाल्ने कार्यक्रम रहेछ। आदरणीय गुरु श्याल्पा तेन्जिङ रिम्पोचेले ‘श्रमदान गर्न तपाईँ पनि आउनुहोला, मोहनजी’ भनी भनेपछि खोकीले शिथिल शरीरमा नयाँ जोसको सञ्चार भएको थियो। साथै त्यसको केही दिनपछि प्यूठानको धर्मावतीमा बेसार प्रशोधन केन्द्र उद्घाटन समारोहमा जापानका राजदूत महोदय पनि आउनुहुने भएकाले सर पनि आइदिनुस् भनेर अनिशजीले अनुरोध गर्नुभएको थियो। मैले सोहीअनुसार कार्यक्रम बनाएँ।
२६०० वर्षअगाडि लुम्बिनीमा जन्मिई आफ्नो राजशाही जिन्दगीलाई त्यागी बुद्धत्व प्राप्त गरेका भगवान् गौतम बुद्धले ८४,००० उपदेश छाड्नुभएको कुरा थाहा पाइयो। तीमध्ये केही उपदेशलाई मात्र हामीले जीवनमा लागू गर्न सकेमा हामो जीवन सार्थक बन्न सक्छ। मैले आफ्नो जिन्दगीमा थोरै भए तापनि केही उपयोगी शिक्षालाई मनन गर्ने गरेको छु।
तीमध्ये हामीले जति सिके पनि अझ पनि सिक्न बाँकी रहन्छ, लोभ र मोह त्याग्न सकेमा खुसी हुन सक्छौँ। कुनै पनि भौतिक वा अभौतिक बस्तुको एक दिन नाश हुन्छ भन्ने शाश्वत सत्यलाई राम्ररी बुझेमा हलुका महसुस हुन्छ। भगवान्को शिक्षा, उपदेश जे भनौँ मानव जातिका लागि सदा अत्यन्त उपयोगीसिद्ध हुन्छ। २१ औँ शताब्दीमा आएर मानवले यतिका उन्नति गरिसके तापनि हत्याहिंसा,उत्पीडन, युद्ध विभीषिकाले अझ छाडेको छैन। झन् बढेको पो हो कि जस्तो लाग्छ। मानवजातिको अस्तित्व समाप्त पार्न सक्ने आणविक हतियारको क्षमता मानवले नै तयार गरिसकेको छ।
१६ डिसेम्बर २०२३ का बिहान११ बजेको बुद्ध एयरको उडानबाट भैरहवा जान ठिक भएर बसेँ। तर जहाज २ घण्टापछि मात्र उड्यो। यसो कुरा बुझ्दा बिहान ७ बजेको फ्लाइट त ५ घण्टापछि उडेको रहेछ। मौसम सफा नभएपछि कसैको केही लाग्छ? एयरपोर्टबाट सीधा कार्यक्रम स्थलमा पुग्दा सुरु भइसकेको रहेछ। तर सकिएको भने रहेनछ। शालीन रिम्पोचेको दर्बिलो तर छोटो मन्तव्य सुनेँ।
उहाँले समस्याग्रस्त विश्वमा शान्ति स्थापना गर्न धामले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो। यस्ता धामको निर्माणले मानवताबीच एकता कायम गर्न सहयोग पुग्ने आशा लिइएको रहेछ। धामको ढाँचा पनि उत्कृष्ट तथा निकै भव्य देखिन्थ्यो।
मन्तव्य कार्यक्रम सकिएपछि सबै जना धाम निर्माणस्थलमा गयौँ। सबैका हातहातमा सानाठूला ढुंगा थिए। कसैले त डोकोमै बोकेका पनि थिए। रिम्पोचेले पनि डोकोमै ढुंगा बोक्नुभयो। सबैले लहरै ढुंगा खसाले। पवित्र कार्यमा संलग्न हुन पाउँदा सबैमा एक प्रकारको असीम आनन्दको अनुभूति भएको थियो।
त्यसपछि भगवान् बुद्ध जन्मेको बेलाको सांगीतिक कार्यक्रम आयोजना गरिएको रहेछ। त्यसको लेखन तथा निर्देशन रिम्पोचे आफैँले गर्नुभएको थियो। करिब २० मिनेट जतिको त्यस कार्यक्रम यति भव्य यियो कि बयान गरिसाध्य छैन। भगवान् बुद्धको आमा मायादेखि तथा एक जना परीबीचको संवाद पनि चाखलाग्दो थियो। भगवान् जन्माएपछि आफ्नो मृत्यु हुने कुरा मायादेवीलाई थाहा रहेछ। उनी आफ्नो ज्यानको आहूति दिएर पनि विश्वमा शान्ति स्थापना हुन्छ भने सोका लागि तयार भइन्। त्यो करुणामयी संवाद सुन्दा मनमा निकै आहत भएको थियो। सबै महिला कलाकार, संगीत तथा पृष्ठभूमिमा देखाइएका दृष्य उत्कृष्ट थिए। कार्यक्रम यति राम्रो होला भनेर कल्पना पनि गर्न सकिएन।
१८ डिसेम्बरका दिन दिउँसोतिर प्यूठानका लागि प्रस्थान गर्यौँ। बडडाँडा कटेर ओरालो लागेको केही समयपछि भयंकर जाममा फस्यौँ हामी । ठाउँठाउँमा पहिरोले गर्दा ढुंगामाटो खसेर उत्पात हुने र सो पन्छाई बाटो खुला गर्नुपर्ने हुँदा समय लाग्ने रहेछ। तीन घण्टाको जाम खेपेपछि बल्लतल्ल साढे सात बजेतिर प्यूठान पुग्याैँ। हाम्रो बास आयुष्मा होटलमा थियो।
९ डिसेम्बरमा धर्मावती भन्ने स्थानमा उद्घाटन कार्यक्रम थियो। आयोजक मिलेर सबै काम व्यवस्थित बनाइएको थियो। प्यूठान जिल्लामै विदेशी राजदूत (जापानी) पहिलोपल्ट आउन लागेकाे कुरा भाइरल भइसकेको रहेछ।
महामहिम जापानी राजदूत किकुता युताका समयमै आइपुग्नुभयो। उहाँ आफ्नो सिटमा बस्नासाथ कार्यक्रम सुरु भयो। छोटोमिठो कार्यक्रममा मुख्य वक्ताले आआफ्ना मन्तव्य राख्नुभएको थियो। समयको पाबन्दीलाई अनुशासित रूपमा पालना गरियो। केन्द्रमा प्यूठान जिल्लाका महिलाले उत्पादन गरेका बेसार प्रशोधन गरी बजारमा बिक्री गर्ने तथा विदेशमा समेत निकासी गर्ने योजना रहेछ। यसबाट स्थानीय महिला उद्यमीलाई आर्थिक उपार्जनमा बल पुग्ने बुझियो।
जनस्तरसम्म फाइदा हुने कामको उपादेयता बुझी काठमाडौँबाट त्यति टाढासम्म गएर महामहिम जापानी राजदूतले एक प्रकारले जापानी जनताको नेपाली जनताप्रति रहेको न्यानो स्नेह स्पर्श गराउनुभएको थियो। जनस्तरमा सञ्चालन भएका परियोजनाले जनतालाई प्रत्यक्ष लाभ दिएमा राजदूतावासले आर्थिक सहयोग दिई भरथेग गरिदिने रहेछ। भवन, मेसिनरी आदि सबै देखेपछि महामहिमज्यू पनि खुसी देखिनुभयो। यति टाढासम्म पनि भैरहवादेखि गाडीमा आई जनतासामु प्रस्तुत भएका महामहिमज्यूलाई सबैले मुरीमुरी धन्यवाद दिए। त्यसपछि प्यूठान नगरपालिकाका मेयर विष्णु योगीको अगुवाइमा छोटो कार्यक्रम गरी खाना खाएर पाहुनाहरू काठमाडौँतर्फ प्रस्थान गरे। हामी सबै जना स्वर्गद्वारीतर्फ लाग्यौँ।
यसैबीच शिवजीको सम्पर्कमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा एकपल्ट जानैपर्ने वातावरण बन्यो। थानेश्वरजी र सन्तोषजीले पनि ल जाऊँ न त भन्ने कुरा राखे। गाडी त्यतैतिर हुइँकियो। स्कुल रोल्पाको खुमेलस्थित होचो डाँडाको टुप्पामा फराकिलो ठाउँमा रहेछ। हामीलाई प्रधानाध्यापक महेन्द्रजी तथा अन्य शिक्षकशिक्षिकाले स्वागत गर्नुभयो। केही समय विद्यार्थीसँग भलाकुसारी गरेपछि हामी त्यहाँबाट प्रस्थान गर्ने तयारीमा थियौँ। तर प्रधानाध्यापक महेन्द्रजीले बाटोमा मेरो घर छ, एकछिन भए पनि बस्नु होला भनी निकै कर गरेपछि हाम्रो केही लागेन।
सातुमा शुध्द मह मिसाएर आतिथ्य प्रदान गर्नुभयो। अर्ग्यानिक खानेकुरा खान पाउँदा सबै खुसी भएका थिए। उहाँको नेतृत्वमा सम्पूर्ण शिक्षकहरू मिलेर विद्यार्थीलाई राम्रो शिक्षा दिइरहेको कुरा सुन्दा खुसी लाग्यो।
नेपालमा ८३ प्रतिशत पहाडैपहाड छ भन्ने भौगोलिक ज्ञान प्रायः सबै नेपालीलाई हुन्छ नै। प्यूठान र रोल्पामा आएपछि हाम्रो देशमा कति पहाड छन् भन्ने हेक्का भयो। जता हेर्यो पहाडैपहाड। अनि सडक पनि पहाडैपहाडैमा बनाइएका। रोल्पाबाट हिँडेको करिब २ घण्टापछि साँझतिर स्वर्गद्वारीको प्रवेशद्वार पुगियो। त्यहाँबाट माथि जाने बाटो त निकै घुमाउरो तथा अलि डर लाग्ने खालका देखियो। तर स्वर्गद्वारीमा भगवान् शिवको दर्शन गर्ने दृढ संकल्पका अगाडि डरलाग्दो पहाडी बाटो भए तापनि सुबिस्ताका साथ यात्रा गर्यौँ। हाम्रो भाग्य चालक भेषबहादुर अलि सानो कदको भए तापनि स्टेयरिङमा निकै पोख्त देखिए।
स्वर्गद्वारीको फेदमा पुग्दा बेलुकाको साढे सात भइसकेको थियो। अब माथि सुटकेस कुनै लान नसकिने। अलिअलि आवश्यक सामान लिएर ढुंगाबाट बनाइएका सिँढी चढ्न थाल्यौँ। यात्रुका रूपमा हामी पाँच जना मात्र थियौँ चालकसहित।
माथि पुग्दा झण्डै आठ बजिसकेको थियो। मौसम निकै चिसो थियो २ सेन्टिग्रेड मात्र। मित्रहरुले आश्रममा सुत्ने बन्दोबस्त गरिराखेकाले कुनै समस्या परेन। बेलुकाको खाना दालभात तथा रायोको साग कति मिठो! पहाडको टुप्पामा रहेको स्वर्गद्वारीमा यति मिठो अर्गानिक खाना खाएर हामी खुसी भयौँ। भोलिपल्ट बिहान भगवान्को दर्शन, ढोग तथा सूर्योदयको अनुपम दुश्य अवलोकन गर्यौँ।
महाभारत कालका पाँच पाण्डव यस पुण्यभूमिमा आएर बसेको भन्ने कथन रहेछ। मूर्तिहरू छन्। तर हामीले हेर्न भने पाएनौँ। शिव भगवान्को दर्शन गरियो। अखण्ड ज्योति बालिने स्थानमा पुग्दा ढोकामा एक जना व्यक्तिले ‘ओहो! महामहिमज्यू, नमस्कार’ भनी मलाई सम्बोधन गर्नुभयो। म एकछिन अकमकिएँ। उहाँ त प्राध्यापक कृष्ण हाछेथु हुनु हुँदो रहेछ। यस्तै ११-१२ वर्षअगाडि पेरिस बसाइताका उहाँ र सिके लाल निवासस्थानमा डिनरका लागि आउनुभएको थियो। उहाँले ‘तपाईँको पुस्तक पढेँ, निकै रमाइलो, शिक्षाप्रद छ’ भनेर दुई शब्द सुनाउनुभयो। स्वर्गद्वारीको चिसो मौसममा पनि जिउ एकछिन तातेजस्तो लाग्यो। उहाँहरू ३० जनाको पारिवारिक टोली आउनुभएको रहेछ। यस्तो भ्रमणले आन्तरिक पर्यटनलाई टेवा मिल्छ।
अब हामी तलतिर फर्कने तयारीमा जुट्यौँ। मचाहिँ अलि बिस्तारै सिढी गन्दै ओर्लन थालेँ। ५९३ पाइला रहेछ। अन्दाजचाहिँ ६ सय जति होला भन्ने थियो। भ्रिंगीमा आएर नास्ता लिएपछि हामी भैरहवा फर्कियौँ। बाटो त त्यही हो, जाँदा कति गाह्रो महसुस भएको थियो। फर्कँदाचाहिँ अलि सजिलो भयो। स्वर्गद्वारीको टुप्पोबाट भैरहवासम्म आइपुग्न ६ घण्टा लाग्यो। बाटोमा कतै पनि कुनै प्रकारको समस्या भएन। जाँदा ३ घण्टासम्म जाममा पर्खनुपर्दा नरमाइलो लागे तापनि फर्कँदा भने आराम महसुस भयो।
हाम्रो टिकट बुद्ध एयरको १६स्५५ को उडानको थियो। विमान ३४ मिनेट जति ढिला आइपुग्यो। यो भनेको सह्य कुरा हो। उडानमा तर विमानमा एक घुट्को पानी पनि पिउन दिँदा रहेनछन्। बुद्ध एयर त सुरुदेखि नै चढ्दै आएको हुँ। तर यस्तो अवस्था त थिएन पहिला। तैपनि सकुशल जहाज अवतरण गराई घर फर्काइदिएकोमा साधुवाद भन्नैपर्छ।
सबै तस्बिर लेखक
प्रकाशित: ७ पुष २०८० १७:३५
प्रतिक्रिया