सेनाले सुर्खेतमा आयोजना गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

हिमाल प्रेस ७ पुष २०८० १५:२७
136
SHARES
सेनाले सुर्खेतमा आयोजना गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

सुर्खेत- नेपाली सेनाको श्री कालीबहादुर गण सुर्खेतको आयोजना तथा श्री ज्योति फाउन्डेसन र आँखा अस्पतालको सहयोगमा शनिबार सञ्चालिन स्वास्थ्य शिविरबाट सुर्खेतको पश्चिम लगामका चार सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन्।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेको दुर्गम गाउँमा सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए।

‘नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत स्वास्थ्य शिविर सञ्चाल गरेका हौं। जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको गाउँ लगाममा शिविर सञ्चालन गरेका हौं,’उनले भने ।

गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसूति रोग,आँखासम्बन्धी समस्या, जनरल सर्जरी अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ। शिविरमा जाँच गराउन आएकालाई आवश्यक औषधी पनि वितरण गरिएको छ।

शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत जनरल सर्जन डा.उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा.रोजी यादव, नेपाली सेनाका उपसेनानी डा. मोनिमा महर्जन, प्रदेश अस्पतालकै डा.दर्पण नेपाली, सुर्खेत आँखा अस्पतालका ओपीडी इञ्चार्ज अरुण गुप्ताले सेवा दिए।

शिविरमा चौकुने गाउँपालिकाका वडा नम्बर १, २ र ३ का माथिल्लो लगाम, तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीबन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली, गहुँखाडा गाउँका स्थानीयले सेवा लिएका छन्।

यी गाउँका चार सयभन्दा बढी स्थानीयवासीले शिविरबाट सेवा लिएका छन्। स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर चलाएर आफूलाई सहज भएको स्थानीय रतनसिंह बान्तोलाले बताए।

‘भनेको बेला गाडी नै पाइँदैन, जटिल रोग लागिहाले तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन,’ उनले भने, ‘दुर्गमको समस्या बुझेर शिविर चलाएपछि हामीले सामान्य भएपनि गाउँमै चेकजाँच गर्न पाएका छौं।’

गाउँपालिकामा सेनाले पहिलोपटक शिविर चलाएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए। ‘सडकको राम्रो सुविधा नभएका यहाँका गाउँबाट गुणस्तरीय सेवा लिन सदरमुकामसम्म जान पनि समस्या छ, यस्तो अवस्थामा गाउँमै आएर सैनिकले शिविर चलाएपछि स्थानीयलाई राहत भएको बताएका छन्,’ उनले भने।

प्रकाशित: ७ पुष २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =