इटहरीमा बढेको करको दर समायोजन गरिने

हिमाल प्रेस ५ पुष २०८० ८:१५
8
SHARES
इटहरीमा बढेको करको दर समायोजन गरिने

इटहरी- इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो।

कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे।

उनले सम्पत्ती कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगरसभाबाट घटाउने बताए। कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ।

कार्यपालिका बैठकमा सहभागी सदस्यहरूले तत्काल कार्यान्वयनमा लगेर नगरसभाबाट अनुमोदन गर्न जोड गरेका थिए। ‘जनतालाई पर्खाएर आजको दिनमा आएका छौं, करको प्रतिवेदनलाई निर्णयार्थ प्रस्तुत गरौं, तत्काल कार्यान्वयनमा लगौं, नगरसभाबाट पछि अनुमोदन गरौं,’ सुवेदीले भने।

मेयर पौडेलले भने लिखत पाससम्बन्धी व्यवस्था र वैदेशिक रोजगारीसम्बन्धी करहरूबारे निर्णय गरेर एकैपटक नगरसभाबाट पास भएपछि मात्र घटेको कर लागु गर्ने बताए। यससँगै नगरसभामा प्रतिनिधित्व गर्ने एमालेका ४३ जना सदस्यले हस्ताक्षर गरेर आह्वान गरेको विशेष अधिवेशनको माग फिर्ता लिएको घोषणा गरिएको छ।

सम्पत्ती कर समायोजनका लागि भन्दै विशेष अधिवेशन माग गरिएको थियो । कर समायोजन गर्ने निर्णय कार्यपालिकाबाट भएसँगै विशेष अधिवेशनको औचित्य सकिएकोले फिर्ता लिएको कार्यपालिका सदस्य सुवेदीले बताए ।

कर समायोजनको निर्णय पुस २३ गते हुने भएपछि पुस मसान्तसम्ममा इटहरी उपमहानगरपालिकाको कर संकलन स्थिति निराशाजनक रहने भएको छ । इटहरीका अधिकांश करदाताहरू कर घट्ने आशमा कर नतिरि बसेका छन् ।

यसअघि इटहरी उपमहानगरपालिकाले पुस मसान्तसम्ममा कर तिर्ने करदातालाई कर छुट दिँदै आएको थियो । छुटको लोभमा पनि धेरैले पुस मसान्तमा कर तिर्ने गरेका थिए । तर, यो पटक निर्णय नै ढिलो हुने हुँदा पुस मसान्तसम्म कर छुट दिने प्रावधानलाई यो पटक माघसम्म सार्न कार्यपालिका सदस्य तथा वडा नं। ९ का अध्यक्ष जितेन बस्नेतले माग गरेका थिए ।

मेयर पौडेलले ऐनमा भएको उक्त व्यवस्थालाई नगरसभाबाटै परिवर्तन गर्न सकिने बताउँदै अर्को कार्यपालिका बैठकमा छलफल गर्ने बताए ।

प्रकाशित: ५ पुष २०८० ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =