काठमाडौँ- रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ। योसँगै रुसी सेनामा कार्यरत नेपालीको मृत्यु हुने संख्या ७ पुगेको छ। परराष्ट्र मन्त्रालयले आज (बुधबार) विज्ञप्ति जारी गर्दै कुन्दन सिंह नागलको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयले नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन र घाइते लगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसी राजदूतमार्फत् पुनः अनुरोध गरिएको जनाएको छ।
यस्तै युक्रेनमा चार जना नेपाली नागरिकहरूलाई बन्दी बनाइएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयको भनाइ छ। ‘यस सम्बन्धमा बन्दी बनाइएका नेपालीहरुको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ। युक्रेनमा नागरिक नागरिकहरू विवेक खत्री (बर्दिया), सिद्धार्थ ढकाल (काभ्रेपलाञ्चोक), विकास राई (मोरङ) र प्रतीक पुन (रोल्पा) बन्दी अवस्थामा छन्।