नेपाल प्रहरीको एसपी बढुवामा किन हुँदैछ ढिलाइ?

हिमाल प्रेस ४ पुष २०८० १५:५१
722
SHARES
नेपाल प्रहरीको एसपी बढुवामा किन हुँदैछ ढिलाइ?

काठमाडौँ- नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बढुवाको तयारी भएको लामो समय भइसकेको छ। ७ एसपीका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन्। २०६१ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन्। अहिले एसपीका लागि दौडधुप गरिरहेका १२ जना नै २०७२ साउन १ गते डीएसपी बनेकाहरू हुन्।

सँगै डीएसपी बनेका केही भने एसपी बनिसकेका छन्। सँगै डीएसपी भएकाहरू तीन चरणमा एसपीमा बढुवा हुनेछन्। अहिले पनि प्रतिस्पर्धामा रहेका १२ जनामा ७ जनामात्रै एसपी हुनेछन्। छुटेकाहरू पछि बढुवा हुनेछन्।

गत मंसिर ५ गते पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका थिए। त्यसअघि नै दुई पद खाली थियो। यसरी एसपीमा रिक्त दरबन्दीको संख्या सात पुगेको हो। प्रहरी प्रधान कार्यालयले सकेसम्म प्राविधिकतर्फका दुई दरबन्दी समेत साधारण समूहतर्फ समायोजन गरेर नौजनालाई बढुवा गर्ने तयारी गरेको छ। प्राविधिक र सवारी व्यवस्थापन शाखामा रिक्त दरबन्दीलाई साधारण समूहतर्फ सारेर नौ पुर्‍याउने प्रधान कार्यालयको तयारी हो। तर, त्यसका निम्ति मन्त्रिपरिषद्ले निणर्य गर्नुपर्ने हुन्छ। उक्त प्रक्रियाका निम्ति प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ।

१२ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन्। त्यसपछि क्रमशः अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन्। यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको प्रतिस्पर्धामा छन्। प्रहरी प्रधान कार्यालयले १२ जनामध्येबाट नै उत्कृष्ट कार्यसम्पादन भएका डीएसपीको बढुवा तयारी गरेको छ।

प्रतिस्पर्धी १२ जनाले नै आफ्नो बढुवाका निम्ति विभिन्न राजनीतिक दलको शक्तिकेन्द्रमार्फत आईजीपी वसन्त कुँवरमाथि दबाब सिर्जना गरिरहेका छन्। त्यसो त गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि यसमा चासो दिएका छन्। एसपीसम्मको अधिकार आईजीपीसँग हुने भएकाले गृहमन्त्री, प्रधानमन्त्री तथा शीर्ष नेताले आईजीपीमाथि दबाब बढाइरहेका छन्।

प्रकाशित: ४ पुष २०८० १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =