रोजगारका लागि कुन देशमा कति जान्छन् नेपाली [तथ्यांकसहित]

हिमाल प्रेस ४ पुष २०८० ११:२४
2
SHARE
रोजगारका लागि कुन देशमा कति जान्छन् नेपाली [तथ्यांकसहित]

काठमाडौँ- मंसिरमा ७१ हजारभन्दा बढी नेपाली विभिन्न देश वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार मंसिर महिनामा नयाँ र पुनः श्रम स्वीकृतिमार्फत ७१ हजार २ सय ७६ जना ९२ वटा देश रोजगारीका लागि गएका छन्।

मंसिरमा म्यानपावर कम्पनीबाट जाने नयाँ कामदारको संख्या २ हजार ७ सय ६३ महिलासहित २६ हजार ३ सय ७५ रहेको विभागले जनाएको छ।

यो महिना ७ हजार ९ सय ९७ व्यक्तिगत नयाँ, सरकारीस्तरमा दक्षिण कारिया १ हजार ७ सय ८ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३५ हजार १ सय ९६ जनाको श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ। मंसिर महिनामा ९२ वटा देश नेपाली कामदार वैदेशिक रोजगारीमा गएको विभागले जानकारी दियो।

गत वर्ष मंसिरमा अहिलेको भन्दा करिब ३ हजार कम ६८ हजार ५ सय ६४ जनाको श्रम स्वीकृति भएको विभागको तथ्यांकमा उल्लेख छ। कात्तिकमा ४३ हजार ६ सय २२ र असोजमा ५६ हजार २ सय ३५ जना वैदेशिक रोजगारीमा गएका थिए।

चालु आर्थिक वर्षको ५ महिनामा ३ लाखभन्दा बढी नेपाली कामको खोजीमा विदेशीएको विभागको तथ्यांकमा छ।

यूएई जानेको संख्या अधिकतम

मंसिर महिनामा सबैभन्दा बढीमा कामदार संयुक्त अरब इमिरेट्स(यूएई) गएको विभागको तथ्यांकमा छ।

मंसिरमा यूएईमा म्यानपावर कम्पनीमार्फत ८ हजार ८५ जना, पुनः श्रम स्वीकृतिमार्फत ७ हजार ९ सय ९७ र व्यक्तिगत नयाँ २ हजार ४ सय ११ जना गरी समग्रमा १८ हजार ४ सय ९३ जना गएका छन्।

१४ हजार १५२ जना कतारका लागि श्रम स्वीकृति भएकोमा म्यानपावर कम्पनीबाट २ हजार ९ सय १५ जना गएका छन्। मंसिरमा कतार जानेको संख्या दोस्रोमा छ।

कतारपछि साउदी धेरै नेपाली गएका छन्। मंसिरमा १३ हजार ९ सय ८३ जनाले श्रम स्वीकृति लिएको साउदी अरबमा म्यानपावर कम्पनीमार्फत ४ हजार ७ सय ९८ जनाको श्रम स्वीकृति भएको छ।

साउदीपछि मलेसिया धेरै नेपाली रोजगारीमा गएका छन्। मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत ६ हजार ५ सय ९१ सहित ९ हजार ७ सय ७५ जनाको श्रम स्वीकृति जारी भएको छ।

मंसिरमा रोमानियामा म्यानपावर कम्पनीमार्फत ३ सय ६१ जना, व्यक्तिगत भिसामा ३ सय २१, क्रोएसियामा म्यानपावर कम्पनीमार्फत ६२ जना र व्यक्तिगत ६ सय २६ जना, ओमानमा म्यानपावर कम्पनीमार्फत ९२ जना, अल्बानियामा व्यक्तिगत भिसामा ६४ जना, अस्ट्रेलियामा ४५ जना, अष्ट्रियामा २ सय १२ जना, बहराइनमा म्यानपावरमार्फत २ सय ८२ जना, ब्रुनाईमा ३३ जनाको श्रम स्वीकृति भएको छ।

मंसिरमा जापान जानेको संख्या १ हजार ५ सय २८, कुवेतमा ३ हजार ४ सय ५८, युद्धग्रस्त रुसमा ४० र इजरायलमा ८५ जनाको श्रम स्वीकृति भएको विभाको तथ्यांकमा उल्लेख छ।

मंसिरमा चीनमा १९ जना, क्यानडामा ४५ जना र अफगानिस्तानका लागि १ सय १३ जनाको श्रम स्वीकृति भएको छ। विभागको तथ्यांकमा साउनदेखि मंसिरसम्म नयाँ तथा पुनः श्रम स्वीकृति गरेर २ लाख ७७ हजार ५ सय ९२ जनाको श्रम स्वीकृति भएको छ।

प्रकाशित: ४ पुष २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 11 =