स्वास्थ्यमन्त्रीले हटाएका डाक्टर पौडेल सर्वोच्चले आदेशसँगै वीरमै फर्किए

हिमाल प्रेस ३ पुष २०८० १५:५६
114
SHARES
स्वास्थ्यमन्त्रीले हटाएका डाक्टर पौडेल सर्वोच्चले आदेशसँगै वीरमै फर्किए

काठमाडौँ– ‍ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन्। उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन्।

मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको छ।

डा. पौडेल नेकपा (एमाले)का सदस्य र जनसंगठनका महासचिव पदमा क्रियाशील रहेको उजुरी परेको थियो। सोही उजुरीउपर राष्ट्रिय सतर्कता केन्द्रले उनको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) मा भएको व्यवस्था आकर्षित हुने देखिएकाले कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गरेको थियो।

मन्त्रालयले डा. पौडेललाई वीरको निर्देशकको पदीय जिम्मेवारीमा नरहने भन्दै अर्को निर्णय नहुन्जेलसम्म मंसिर १५ गतेदेखि मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको थियो।

मन्त्रालयको सो निर्णयविरुद्ध उनी आफ्नो पूरा कार्यकाल पदमा रहन पाउनुपर्ने भन्दै सर्वोच्च पुगेका थिए। डा. पौडेल २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए।

यस बीचमा वीरको निमित्त निर्देशकको जिम्मेवारी सहनिर्देशक डा. श्रवणकुमार थापाले सम्हाल्दै आएका थिए। स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालमा करारमा काम गरिरहेका ४० जना नर्सलाई पनि जागिरबार निकाल्न निर्देशन दिएका थिए। त्यसलगत्तै मन्त्रालयले अस्पताल प्रशासनलाई पत्र पठाएर जागिरबाट हटाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + thirteen =