भिसा भिजिटमा, गन्तव्य वैदेशिक रोजगारीमा

रमेश भारती २ पुष २०८० १९:३५
72
SHARES
भिसा भिजिटमा, गन्तव्य वैदेशिक रोजगारीमा एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ। गृह मन्त्रालयको पछिल्लो अध्ययनअनुसार भिजिट भिसामा बिदेसिनेमध्ये ९० प्रतिशत नेपाली वैदेशिक रोजगारीमा संलग्न हुने गरेका छन्। गृह मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वय नहुँदा यसरी बाहिरिने नेपालीको संख्या बढिरहेको जानकारहरू बताउँछन्।

भिजिट भिसामा बाहिरिएकामध्ये अधिकांशको कागजपत्र नक्कली हुने गरेको छ। नक्कली कागजातका आधारमा पुगेपछि महिलालाई घरेलु कामदारका रूपमा लगाइने, शोषण हुने र पुरुषले समेत तोकिएको काम नपाई जोखिमपूर्ण काममा लगाइएको उजुरी वैदेशिक रोजगारी विभागमा आउने गरेको छ।

श्रम मन्त्रालयले गरेको भिजिट भिसामा नेपाली कसरी जाँदै छन् भन्ने अनुसन्धानअनुसार भिजिट भिसामा जाने कतिपय व्यक्तिलाई आफू कुन देश जाँदैछु भनेर पनि जानकारी नहुने गरेको पाइएको छ। भिजिट भिसामा जाने व्यक्तिलाई आफ्नो कागजात कहाँ, कसरी र कसले बन्यो भन्ने थाहा नहुने र उनीहरूलाई सेटिङमै विमानस्थल कटाइने गरेको मन्त्रालयको उक्त अध्ययनमा उल्लेख छ।

अध्यागमन विभागका अनुसार सन् २०२२ मा १ लाख ७० हजार नेपाली विभिन्न देशमा भिजिट भिसामा गएका थिए। सन् २०२३ को ११ महिनामा १ लाख २० हजारभन्दा बढी नेपाली भिजिट भिसामा विभिन्न देश गएका थिए। तीमध्ये यूएई जानेको संख्या ३० प्रतिशत छ। यूएई पुगेका नेपाली युवा धेरै कमाइ हुने प्रलोभनमा युरोप र अफ्रिकाका देशमा पुग्ने गरेका छन्।

भिजिट भिसामा बिदेसिनेमध्ये ९० प्रतिशत नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेको गत वर्ष गृह मन्त्रालयले गरेको अध्ययनमा उल्लेख छ। यसो हुनुमा गृह मातहतकै अध्यागमन विभागका कर्मचारीको हात रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रश्न उठाउँदै आएको छ।

श्रम मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागका अधिकारीको गैरजिम्मेवारीका कारण भिजिट भिसाका नाममा वैदेशिक रोजगारीमा कामदार गइरहेका छन्। यस विषयमा गत साउनमा अध्यागमनका कर्मचारी र विभागका कर्मचारीबीच विवाद भएको थियो। वैदेशिक रोजगारीमा कुवेत र जोर्डन हिँडेका १ सय ७० जना महिला कामदारलाई अध्यागमनले रोकेपछि विभागले सबै कागजात पुगेका कामदार रोक्न नमिल्ने भनेर विज्ञप्ति नै निकालेको थियो।

अध्यागमनका कर्मचारीले गरेको सेटिङको अपजस श्रम मन्त्रालयमा आउने गरेको मन्त्रालयका एक अधिकारीले बताए। ‘भिजिट भिसाको कागजात बनाउने व्यक्तिसमेत नक्कली हुने गरेका छन्। नक्कली कागजातका आधारमा के कसरी विदेश पठाइन्छ भन्ने अनुसन्धान भइरहेको छ। तर यसमा अध्यागमनका कर्मचारी संलग्न हुने गरेका छन्,’ ती अधिकारीले भने।

भिजिट भिसा र व्यक्तिगत भिसामा कामदार पठाउन एजेन्ट गाउँदेखि सम्बन्धित देशसम्म सक्रिय रहेको श्रम मन्त्रालयका अधिकारी बताउँछन्। यस प्रहरीसँग मिलोमतो रहेको ती अधिकारीको आरोप छ। भिजिट भिसाका नाममा रोजगारीमा जाने व्यक्ति श्रम मन्त्रालयसँग सरोकार नहुने गरेको उनको दाबी छ।

भिजिट भिसामा जाने व्यक्तिसँग एजेन्टले देशअनुसार तीनदेखि ११ लाख रुपैयाँसम्म लिने गरेको वैदेशिक रोजगार विभागमा उजुरी पर्ने गरेको श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी बताउँछन्। भिजिट भिसामा जाने व्यक्तिसँग नगद लिई रोजगारको करार नेपालमै दिएर दलालले पठाउने गरेको उजुरी आए पनि प्रमाण फेला पार्न समस्या भइरहेको उनको भनाइ छ।

अध्यागमन विभागका सूचना अधिकारी प्रेमप्रसाद दाहाल भने त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा खेटिएका प्रहरीले कानुनीअनुसार कागजात रुजु गरेर प्रवेश अनुमति दिइने बताउँछन्। बदमासी गर्ने कर्मचारीलाई तत्काल विमानस्थलबाट हटाइने र कारबाहीसमेत हुने गरेको उनले जानकारी दिए।

भिजिट भिसाको समस्या समाधान गर्न अध्यागमनको पनि सहयोग भइरहेको उनको भनाइ छ। पछिल्लो समय यूएई श्रम स्वीकृतिभन्दा भिजिट भिसामा जाने नेपालीको संख्या धेरै भएको यूएईस्थित नेपाली दूतावासको तथ्यांकमा छ। श्रम मन्त्रालयको वार्षिक तथ्यांकमा संस्थागत र व्यक्तिगतभन्दा गत वर्ष भिजिट भिसामा यूएई जाने धेरै थिए।

दूतावासका अनुसार सन् २०२२ मा १ लाख २४ हजार, २०२१ मा मात्र ९३ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका छन्। त्यस्तै सन् २०२० मा ८२ हजार र २०१९ मा करिब ७१ हजार नेपाली भिजिट भिसामा त्यहाँ पुगेको दूतावासले जनाएको छ।

भिजिट भिसामा यूएई जाने साढे २ लाखमध्ये करिब ६० हजार आफन्त भेट्न, उपचार गर्न र व्यापार व्यवसायका लागि आएका हुन्। त्यसभन्दा बाँकी रोजगारीका लागि आएको दूतावासको दाबी छ। यूएई मात्र होइन, युरोप र अफ्रिकी देशमा भिजिट भिसामा जाने नेपाली ८० प्रतिशत रोजगारीका लागि गइरहेको श्रम मन्त्रालयको आप्रवासनसम्बन्धी प्रतिवेदनमा उल्लेख छ।

म्यानपावर, कन्सल्टेन्सी, ट्राभल र एजेन्टले सबैभन्दा धेरै भिजिट भिसामा यूएईसँगै खाडीका अन्य देशमा पनि नेपालीलाई पठाइरहेको श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले बताए। यसलाई नियन्त्रण गर्ने प्रयास र भिजिट भिसाको काम गर्ने संस्थासँगै व्यक्ति पक्रिने काम भइरहेको उनले बताए।

सबै नक्कली कागजात  

काठमाडौँ उपत्यका अपराधअनुसन्धान कार्यालयले गरेको एक अध्ययनमा भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला पर्‍यो। सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाई मानिसलाई भिजिट भिसामा विदेश पठाउने गरेको पाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रहरीले गत असोजदेखि एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली भेटियो। यसरी मिलेमतोमा बिदेसिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई रोजगारीका लागि जाने गरेको उनले बताए।

नेपाल प्रहरीले भिजिट भिसाको नक्कली कागजपत्र बनाएको आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरूसहित कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्सका २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरूसहित ३२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।

भिजिट भिसाको नक्कली कागजात बनाउने गिरोहले प्रतिव्यक्ति ३० देखि ६० हजारसम्म रकम लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ४० देखि ५५ हजार लिने गरेको प्रहरीले जनाएको छ।

सरकारले वार्षिक ६ लाख आयस्रोत देखाउन सक्ने नेपालीलाई मात्र खाडीका देश र मलेसिया भिजिट भिसामा जान दिने नियम छ। खाडी मुलुकहरूबाहेक कम्तीमा दुईवटा मुलुक पर्यटकका रूपमा भ्रमण गरिसकेका यात्रु पनि सो भिसामा जान पाउने कानुनी व्यवस्था छ।

वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएको र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरू पनि भिजिट भिसामा जान पाउनेछन्। तर दलालले नेपालीहरू नक्कली कागजातकै भरमा भिजिट भिसामा पठाइरहेको पाइन्छ। भिजिट भिसामा विदेशी नेपालीहरू यूएई, कतार, कुवेत, युरोपका देश र अफ्रिकी देश जाने गरेका छन्।

प्रकाशित: २ पुष २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =