एकै ब्याचका विद्यार्थीमाथि त्रिविको बदमासी : समान अंक ल्याउने एकलाई काखा, अर्कालाई पाखा

हिमाल प्रेस २ पुष २०८० ८:२६
6
SHARES
एकै ब्याचका विद्यार्थीमाथि त्रिविको बदमासी : समान अंक ल्याउने एकलाई काखा, अर्कालाई पाखा फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मेधावी विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ।

समान अंक ल्याएका एकै ब्याचका विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने प्रवृत्ति देखिएको छ।

विश्वविद्यालयले सोमबार आयोजना गर्न लागेको ४९ औँ दीक्षान्त समारोहमार्फत उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ।

विभिन्न विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीमध्ये त्रिविले वातावरण केन्द्रीय विभाग अन्तर्गतका क्याम्पसबाट स्नातकोत्तर (एमएससी) तहमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दैछ।

तर उक्त विषयमा दुई जना छात्राले समान अंक ल्याए पनि त्रिविले भने आफूखुसी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ । उक्त विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सिजिपिए प्राप्त गरेका छन्।

परीक्षा नियन्त्रण कार्यालयले कुनै आधारबिना नै तिम्सिनालाई मात्रै उक्त पुरस्कार र पदकका लागि योग्य भएको भनेर सूचना सार्वजनिक गरेको छ। समान प्राप्तांक भए पनि तिम्सिनालाई मात्रै किन पुरस्कारका लागि योग्य बनाइयो भन्ने विषयमा त्रिविका जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन सकेका छैनन्।

पीडित विद्यार्थी अर्यालले भनिन्, ‘डिन कार्यालयदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म गुनासो गर्दा पनि चित्त बुझ्दो जवाफ पाइएन। समान अंक ल्याउने विद्यार्थीमध्ये एउटालाई काखा र अर्कोलाई पाखा लगाउने त्रिविको नियतले चित्त दुखेको छ।’

उनले यसबारेमा जानकारी दिन आफू आइतबार विभागमा जाँदा त्यहाँका पदाधिकारीले पुरस्कारका लागि नाम सार्वजनिक गरिएका तिम्सिनाको शैक्षिक प्रमाणपत्र ल्याउन भनेको बताउँदै थपे, ‘हामीले अर्काको प्रमाणपत्र कहाँबाट खोजेर लैजाने हो? प्रमाण जुटाउने काम त विश्वविद्यालयको हो, विद्यार्थीको कसरी हुन सक्छ?’

वातावरण केन्द्रीय विभाग विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत पर्छ। संस्थानका सहायक डिन महेन्द्र महर्जनले वातावरण विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको नाम खोज्ने क्रममा तिम्सिनाको नाम सुरुमा आएको र सोही आधारमा परीक्षा नियन्त्रण कार्यालय (पनिका)लाई सिफारिस गरिएको तर्क गरे।

उत्कृष्ट विद्यार्थीको नाम पनिकाले सार्वजनिक गर्ने भएकाले थप जानकारी पनिकाबाटै लिन उनले अनुरोध गरे। परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने डिन कार्यालयबाट आएको उत्कृष्ट विद्यार्थीको तथ्यांकका आधारमा आफूहरूले सूचना जारी गर्ने र सोही आधारमा पदक तथा पुरस्कार वितरण गर्ने स्पष्ट पारे।

एक तहका विद्यार्थीको समान अंक आएको विषयमा आफूले जानकारी नपाएको बताउँदै उनले भने, ‘यस्तो अवस्थमा पदक वितरण नै रोकिन सक्छ । यस विषयमा म अध्ययन गर्छु।’

सूचनामै कैफियत

पुरस्कार तथा पदक दाबी गर्न त्रिविले पहिलो पटक मङ्सिर २७ गते गोरखापत्रमार्फत स्नातकोत्तर तहमा ३.९४ सिजिपिए ल्याएका निकिता भण्डारीको नाम सार्वजनिक गर्दै उक्त अंकभन्दा धेरै ल्याउने कुनै विद्यार्थी भए दाबी गर्न अनुरोध गरेको थियो।

उक्त सूचनामा मंसिर २९ गतेभित्र पुरस्कार र पदक पाउन योग्य विद्यार्थीले आधारसहित दाबी गरिसक्नुपर्ने भनिएको छ। जब कि पनिकाले सार्वजनिक गरेको सूचनामै ३.९४ सिजिपिए ल्याउने विद्यार्थीको नाम उल्लेख गरिएकाले उक्त प्राप्तांकभन्दा थोरै ल्याउने विद्यार्थीले दाबी गरेनन्।

तर पनिकाले मङ्सिर ३० गते अन्तिम सूचना सार्वजनिक गर्दै ३.८४ सिजिपिए ल्याएका तिम्सिना पुरस्कार तथा पदकका लागि छानिएको जनायो। मंसिर २७ गतेको सूचनामै ३.९४ सिजिपिए ल्याएका विद्यार्थीको नाम सार्वजनिक गरेको त्रिविले मंसिर ३० गते ३.८४ सिजिपिए ल्याउनुभएका तिम्सिना कसरी पदकका लागि उपयुक्त भए भन्नेसमेत खुलाएको छैन।

डिन कार्यालय र पनिकामा बुझ्दा ३.९४ सिजिपिए ल्याएका भण्डारी नयाँ समूहका विद्यार्थी भएकाले अर्को वर्षको दीक्षान्तमा मात्रै सहभागी हुन पाउने नियम रहेछ।

यति सामान्य विषयमा पनि त्रिविले अध्ययन नै नगरी सूचना जारी गर्नु र समान अंक ल्याएका मध्ये एक विद्यार्थीलाई मात्रै आफूखुसी पदकका लागि योग्य भएको घोषणा गरिनु शङ्कास्पद भएको पीडित छात्रा अर्यालको गुनासो छ।

उनले भनिन्, ‘प्रधानमन्त्री कुलपति भएको विश्वविद्यालयले मलाई न्याय दिने छ भन्ने विश्वास लिएको छु।’ गोरखापत्र दैनिकबाट

प्रकाशित: २ पुष २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 12 =