एमालेको संकल्प यात्रा बिथोल्न पाँचथरमा पहिचानवादीको युवा दस्ता

रमेश भारती २९ मंसिर २०८० १७:०५
88
SHARES
एमालेको संकल्प यात्रा बिथोल्न पाँचथरमा पहिचानवादीको युवा दस्ता

काठमाडौँ– नेकपा एमालेको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत शनिबार पाँचथरमा कार्यक्रम हुँदै छ। एमालेको उक्त कार्यक्रम बिथोल्न पाँचथरमा पहिचान पक्षधरले युवा दस्ता तयार गरेको छ। मंसिर १४ गते झुलाघाटमा सुरु गरेको एमालेको उक्त संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन हुँदैछ। पाँचथरमा पहिचानवादीले एमालेसँग कार्यक्रम जुधाएको छ।

पहिचानवादीको प्रदेश-१ पाँचथर संघर्ष समितिले मंसिर ३० गते र पुस १ गते पाँचथरका चार गाउँपालिकामा एक साताअघि नै विरोधका कार्यक्रम जारी राखेको छ। समितिले मंसिर २८ गते हिलिहाङ गाउँपालिकाको चतुरे, जोरपोखरी, गोपेटार र याङवरक गाउँपालिकाका थर्पु र च्याङथापु बजार लगायतका क्षेत्रमा मसाल जुलुल निकालेको छ। यी क्षेत्रमा पाँचथरको चिवा कार्यक्रम भएका छन्।

यी क्षेत्रमा चिवाभन्ज्याङ जोडिने बाटो पर्छ। चिवाभन्ज्याङसँग जोडिएका गाउँपालिका मंसिर ३० र पुस १ गते पहिचानवादीको विभिन्न कार्यक्रम राखिएको प्रदेश-१ पाँचथर संघर्ष समितिका संयोजक सुवास तुम्बापो ‘काङ्सोरे’ले जानकारी दिए।

एमालेका शीर्ष नेताबाट पटकपटक पहिचानवादीलाई आतंककारी र अपराधी करार गर्ने काम भएको आरोप उनको छ। कथित झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेर जनता-जनताबीच मुठभेडको अवस्था सिर्जना गरेको तुम्बापोले बताए।

प्रदेशको नाम ‘कोशी’ नामांकन गरिएपछि त्यसलाई सच्याएर पहिचान र सभ्यताका आधारमा पुनः नामकरण गरिनुपर्ने मागसहित प्रदेशका १४ वटै जिल्लामा विरोध कार्यक्रम भइरहेका छन्। पहिचानवादीले एक वर्षदेखि आफ्ना मागसहित आन्दोलन गर्दै आएको छ।

गत बुधबार पक्राउ गरिएका पूर्वमन्त्री एवम् पहिचानवादी नेता गोपाल किराती हितका नेताकार्यकर्तालाई बिनासर्त रिहा गर्न पनि समितिले माग राखेको छ। एमाले भने पहिचानविरुद्ध एमालेको कार्यक्रम नभएको भन्दै पहिचान पक्षधारलाई ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को कार्यक्रम अवरोध नगर्न आग्रह गरेको छ।

पाँचथरको फिदिममा बुधबार पत्रकार सम्मेलन गर्दै एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले पहिचानवादीसँग यस्तो आग्रह गरेका हुन्। संकल्प यात्रा कुनै समूह, पार्टी र संगठनविरुद्ध नभएको उनले स्पष्ट पारे। पार्टी अध्यक्ष केपी ओली आन्दोलनरत पहिचान पक्षधरसँग छलफल गर्न तयार रहेको नेम्बाङले जानकारी गराएका थिए।

एमालेले संकल्प यात्रामा आर्थिक विकास, जनताका विचार र देशको विकासमा चल्नुपर्ने विषयमा जनताको राय दिएको नेता नेम्बाङले बताए। पहिचानवादीकै पक्षमा एमाले सरकारसँग छलफल गर्न तयार रहेको उनको भनाइ छ। पहिचानवादीले भने एमालेको कार्यक्रम बिथोल्न एक हजार युवा दस्ता तयार परेको छ। बिहीबारमा मात्र पहिचानवादी पक्षधरले पाँचथरका विभिन्न क्षेत्रमा युवा दस्ता सार्वजनिक गरेको थियो।

धनकुटाको लेगुवास्थित रामबजारमा बिहीबार एमालेका अध्यक्ष ओलीमाथि आक्रमण भएको थियो। तर उक्त आक्रमण गर्नेमा स्थानीय महेश राई थिए। एमालेले मापसेका गरेका व्यक्तिले ओलीलाई भेट्न नपाएका कारण आवेशमा मात्रै आएको दाबी गरेको छ। ओलीमाथि कुनै आक्रमण नगरिएको नेताहरूले बताएका छन्। ओलीमाथि आक्रमण भएको भनिएको भिडियो भ्रम फैलाउन बनाइएको भनेर एमालेका कार्यकर्ताले आरोप लगाएका छन्।

आफूहरूले कोशीका पक्षमा मतदान गर्ने ८२ सांसद र पहिचान पक्षधरलाई ‘गाली गर्ने’ एमालेका तीन नेताको मात्र विरोध गरेको प्रदेश नम्बर-१ पुनः नामकरण समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए। उनका अनुसार पहिचान विरोधी एमालेका तीन नेतामा अध्यक्ष ओली, नेता योगेश भट्टराई र महेश बस्नेत हुन्। यस्तै कोशी नाममा हस्ताक्षर गर्ने प्रदेशसभाका ८२ सांसदविरुद्ध पहिचानवादीले गत वर्षदेखि आन्दोलन गर्दै आएका छन्। एमाले अध्यक्ष ओली, भट्टराई र बस्नेत पहिचानवादीको आक्रमणमा परिसकेका छन्।

गत वर्ष फागुन १७ गते प्रदेशसभाबाट तत्कालीन प्रदेश नम्बर-१ को नाम कोशी पारित भएको थियो। एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले समर्थन जनाई दुई तिहाईभन्दा बढी मतसहित नाम पारित भएको थियो। ९३ मध्ये ८२ सांसद कोसीका पक्षमा खुलेका थिए। कोशी प्रदेशका पक्षमा मतदान गर्ने ८२ सासंदको कार्यक्रमसमेत पहिचानवादीले अवरोध गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =