आठ वर्षमा पुलका तीन पिलर मात्रै ठडिए, स्थानीय शुल्क तिरेर काठेपुल तर्न बाध्य

हिमाल प्रेस २७ मंसिर २०८० ९:०७
52
SHARES
आठ वर्षमा पुलका तीन पिलर मात्रै ठडिए, स्थानीय शुल्क तिरेर काठेपुल तर्न बाध्य

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका-४ दोदा नदीमा आठ वर्ष भइसक्दा पनि पुल निर्माण सम्पन्न भएको छैन। यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन्। स्थानीयले भने शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग बाध्य छन्।

२०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो। त्यसपछि पटकपटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन नसकेको हो। तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ।

‘पुलको कामले गति लिएको छैन। निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ’,सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने।

२०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो। विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अगाडि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ। उक्त पक्की पुलको लागत २४ करोड ५२ लाख रुपैयाँ रहेको छ। ‘हालसम्म १२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ’, उनले भने।

पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन्। ‘लामो समय बितिसक्दा पनि पुल निर्माण भएन। अब त पुल बन्नेमा आशंका हुन थालेको छ’, लालझाडी-४ का कृष्ण राना भन्छन्।

वर्षौँदेखि देखतभुली-पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएका छन्। ‘नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ’,लालझाडी-५ का धोके रानाले भने,‘बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन।’

स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन्। बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका-१२ तिल्कीका मंगलबहादुर चौधरीले बताए।

‘वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन। बाढीले बगाउने हुनाले हटाउँछौँ’,उनले भने,‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ।’ रासस

प्रकाशित: २७ मंसिर २०८० ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast