दौडिरहेको मृग पछारिएपछि लेखिएको गीत ‘ओराली लागेको हरिणको चाल भो’

विवेक विवश रेग्मी २६ मंसिर २०८० २१:४०
90
SHARES
दौडिरहेको मृग पछारिएपछि लेखिएको गीत ‘ओराली लागेको हरिणको चाल भो’

ओराली लागेको हरिणको चाल भो
बाँचुन्जेल सम्म पनि मरेकै हाल भो
छल गर्‍यो मायाले…

आर्मीको अधिकृत क्याडेटमा शिक्षण गरी निस्किँदै गर्दा भारी वर्षा भइरहेको थियो। त्यही बेला ओरालो बाटोमा दौडिरहेको एउटा मृग नराम्ररी पछारियो। त्यतिबेलै हो, गीतकार आनन्द अधिकारीलाई यो गीत फुरेको।

इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालको सभाहलमा वरिष्ठ गीतकार अधिकारीले आफ्नो गीतको रचनागर्भ सुनाए। हरेक दिनजसो स्रोताले सुनिरहने उक्त गीतको रचनागर्भ सुनाउँदा मानिसहरू एकत्रित बने।

अधिकारीले लेखेका सयौँ गीतहरू चर्चित छन्। उनीसँग संगीत साधना प्रतिष्ठानले इटहरीका कवि, लेखक तथा बौद्धिक व्यक्तिहरूसँग अन्तरंग कार्यक्रमको आयोजना गरेको हो। अन्तरंग कार्यक्रममा बोल्दै अधिकारीले भने, ‘म आफैं एउटा जिन्दगीजस्तो देखिए पनि मभित्र हजार जिन्दगी छन्। आफूभित्र रहेका हजार कुराहरूलाई नै गीतमा उन्ने गरेको छु।’ सयपत्री फूलको पत्रजस्तै जिन्दगी रहेको उनको बुझाइ छ।

खास गरी गायक र संगीतकार दर्शक, स्रोताको दिमागमा बस्ने र गीतकार एउटा गीत लेखिसकेपछि मर्ने उनले बताए। ‘गीतकारले शब्द मात्रै होइन, मिटर मिलाएर ह्रस्व र दीर्घ पनि मिलाउनुपर्छ,’ उनले भने, ‘अझ बढी ट्र्याकमा गीत लेख्न गाह्रो हुन्छ।’

संगीतकारलाई धुन बनाउन सहज हुने बताउँदै उनले गीत सिर्जनाको प्रक्रिया रहेको र लेखनका लागि कठिन हुने बताए। ‘शब्द भनेको ब्रह्म हो। फरकफरक पृष्ठभूमिमा गीत लेख्नुपर्छ। जसका निम्ति निकै गाह्रो हुन्छ,’ उनले भने। गीत लेखिरहँदा आफूलाई गोपाल योञ्जनले हौसला प्रदान गरेको उनले स्मरण गरे। आफू धूलो रहेको उनी बताउँछन्। धूलो जहाँ पनि पुग्ने उनको अनुभव।

दैव तेरो मायाको खेलाले
आज मेरो यो गति पार्दियो…

आफ्ना हजुरबुबा बितेको समयमा मलामीको हर्कत देखेपछि उनले यो गीत तयार पारेको सुनाए। मलामी जाँदा घाटमासमेत मानवीय संवेदना हराउँदै गएकाले उक्त गीत लेखेको उनी बतउँछन्। ‘मानिसहरू घाटमा पनि संवेदनशील भएनन्, तीनै कुरालाई समेटेर हजुरबुबाको अन्त्येष्टि भएकै दिन यो गीत लेखेको हुँ,’ उनी सम्झन्छन्।

आफूले ४० वर्षदेखि गीत लेखेको र ४७ सालदेखि गीत रेकर्ड भएको अधिकारी बताउँछन्। गायनमा स्वर मात्रै भएर नहुने र विशिष्ट क्षमता चाहिने अधिकारीको अनुभव छ। पछिल्लो समय मानिसहरू देशमा एक्लिरहेको उनले बताए। ‘हामी एक्लिँदै गएका छौं। बाबुआमासँग छोराछोरी छैनन्, श्रीमान-श्रीमती सँगै छैनन्,’ उनले भने, ‘मानिसहरू बढी मोबाइलमा मात्रै केन्द्रित हुँदा पनि सिर्जना मरिरहेको छ। प्रविधिको प्रयोग हुनु राम्रो हो, तर दुरुपयोग भइरहेकाले दुर्भाग्य भइरहेको छ।’

पछिल्लो पुस्ताले गीत, संगीतलाई छाडापन बनाइरहेकोमा उनको चिन्ता छ। पहिलेका गीतमा भावनात्मक पीडा हुनेभएपनि अहिलेका गीतमा छाडापनका कारण पीडा हुने उनले बताए।

‘गीत लेख्नेको पीडा र संगीतकारको दुःख उतिनै छ,’ उनले भने, ‘गीतकार हरेक गीतमा जन्मिन्छ, त्यो गीत सार्वजनिक भएपछि ऊ मर्छ। हामीले रोयल्टी मात्रै एक ठाउँमा ल्याइदियौँ भने सर्जकलाई सहज हुन्छ। अबको पुस्ताले सिर्जनाको मूल्य खोज्न आवश्यक छ।’ अहिलेका बच्चालाई हामीले कमजोर बनाइरहेको उनी बताउँछन्।

अधिकारीले लेखेका आधा दर्जन बढी गीत गाएर सभाहललाई मन्त्रमुग्धसमेत बनाइयो। उनले लेखेका गीतहरू भूमा अधिकारी, प्रितम आचार्य, रिजन डाँगी र प्रदीप राईलगायतले गाएका थिए। अधिकारीका सयौँ गीतहरू चर्चित छन्।

उनको ‘बाँचुन्जेलीलाई,’ ‘हिरा काट्ने हिरैमा,’ ‘तिमीले दिने माया अजम्बरी छ भने,’ ‘तिमी बिनाको जीवन,’ ‘ओराली लागेको हरिणको चाल भो,’ ‘शिरफूल शिरैमा,’ ‘नेपालको माटोलाई,’ ‘सलल खोलीको पानीले,’ ‘फूलको दिलमा,’ ‘एकादेशमा एउटा माया गर्ने मुटु छ’ लगायत सयौँ गीतहरू चर्चित छन्।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले अहिलेको संस्कृति, सृजनशीलता र देशभक्तबारे उत्प्रेरणामूलक हुनका निम्ति बालबालिकासँग अन्तर्क्रियासमेत गरिएको बताए। अधिकारी इटहरी आएको समय पारेर इटहरीमा रहेका विद्यालयका बालबालिकाहरूसँग अन्तर्क्रिय गरी उत्प्रेरणा प्रदान गरेको उनले बताए।

उनका अनुसार अहिले प्रतिष्ठानले ‘बालबालिकासँग संगीत साधना’ कार्यक्रम आयोजना गरिरहेको छ। ‘धेरै बच्चाहरूको म्युजिकल कल्चर देखिन्छ। तर उनीहरू गुमनाम भइरहेका हुन्छन्,’ केसी भन्छन्, ‘उनीहरूलाई संगीतमार्फत चिनाउनका निम्ति काम भइरहेको छ।’

अहिले बालबालिकाहरूको अडिसन सकिएको र अब पाँचवटा ‘क्लष्टर’मा संगीतबारे अनुशिक्षण दिइने उनले बताए। इटहरीको गौरवको रूपमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिरहेको उनको भनाइ छ।

‘संगीत पढेमा राम्रो हुन्छ भन्ने उदेश्यले एकेडेमिक संगीत उत्पादन गर्नका निम्त संगीत साधनाले काम गरिरहेको छ,’ उनी भन्छन्, ‘संस्थागतरूपमा चल्न पनि प्रतिभा चाहिन्छ। भोलिको दिनमा संगीत साधनाको नेतृत्व गर्नका लागि पनि संगीतकै मान्छे हुन् भन्ने हाम्रो अर्को उद्देश्य हो।’

प्रकाशित: २६ मंसिर २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =