संस्मरण

उद्यमी दाइभाउजू

डा. रमेश शुभेच्छु २३ मंसिर २०८० १५:४७
230
SHARES
उद्यमी दाइभाउजू

हामी ढाँडेका डिलमा उभिएका थियौँ। मैले ढाँडेको डिलबाट चिनाएको परिवेशका नजिकै सफासुग्घर पारेर राखिएको वरिपरि फूलको बगैँचा सजाइएको घर देखियो। मेरो पूर्वज्ञानअनुसार अहिले त्यो ज्ञानु खुदाङको घर। उनी मेरा दाइसाथी। केही समय एउटै डेरामा बसेका सँगै पकाएर खाएका साथी। एउटै थालमा नखाए पनि एउटै ओछ्यानमा सुतेका साथी। म त्यहाँ नपसी जानु अन्याय हुन्थ्यो।

त्यो साथीको घर। त्यस घरसँग जोडिएका अन्य थुप्रै रमाइला नरमाइला स्मृति छन्। मैले थाहा पाउँदा त्यो घर परमानन्द अधिकारीको थियो। गाउँमा अधिकारी कान्छाको घर भन्थे। त्यस घरकी छोरी इन्दिरा दिदी हाम्रा काका भीम लुइटेलले बिहे गरेका थिए। त्यो काकीको माइतीघर थियो। काकीकी बहिनी चित्रकला हाम्री सहपाठी थिइन्। उनी हामीभन्दा एक कक्षा मुन्तिर पढ्थिन्। त्यस घरमा एक जना भाइसाथी थिए लक्ष्मी अधिकारी। त्यस घरमा काकी लिन जन्ती गएको अनुभव पनि छ। काकीको बिहेमा हाम्रा माथिका घर (सिम्ले)मा जन्तेबाख्रो खाएको अनुभव पनि छ।

मैले घरपछाडि पुग्दै गर्दा मित्रलाई चिनाएँ : अहिले मेरो साथीले किनेको हो। यो घर पहिले साहित्यकार राजेन्द्र सुवेदीको ससुरालीघर हो। साझा प्रकाशनका होम भट्टराई र उनका भाइ गोपी भट्टराईको मामाघर हो। उनीहरूले यसै घरमा बसेर हिजो हामी गएको स्कुलमा पढेका।

त्यसै बेला मेरा मनमा अधिकारी कान्छा बसाइँ हिँड्दाको पुरानो याद बल्झियो। उनीहरू काफ्ले कान्छा (हाम्रा कान्छा भिनाजु) लाई बेचेर हिँडेका। हामी सानै थियौँ। उनीहरू झापा सुरुङ्गातिर गए भन्थे। लक्ष्मी भाइले बसाइँ गएपछि एक वर्षसम्म गाउँलेका यादमा केही चिठी पठाएका थिए। उनी गाउँ छोड्दा दुःखी बनेका थिए। हामीलाई पनि नरमाइलो लागेको थियो।

मैले थाहा पाउँदै त्यो घर कान्छा भिनाजु (काफ्ले कान्छा उर्फ लीलानाथ काफ्ले) ले लिएका थिए। उनीहरू पनि केही समय बसे। फेरि अहिले खुदाङ परिवारले लिएको। यसपूर्व उनीहरू त्यही घरखायलका पुछारमा थिए। अहिले सीमा जोडिएको ठाउँ लिएर बसेका।

यस घरको निर्माणको इतिहास पनि लामो छ। फुसे छानोदेखि आजको टिनको टल्कने छानोसम्मको कथा मनमनमा सम्झिँदै म अगाडि बढेँ। घरपछाडिको खुला शौचालयदेखि आजको व्यवस्थित शौचालय र बाथरुम पनि एकपटक तुलना गरेर हेरेँ। बिस्तारै आँगनमा पुगेर बोलाएँ : घरमा को हुनुहुन्छ होला?

‘कसलाई खोजेको हामी छाैँ नि’ भन्दै एक अपरिचित नारी भित्रबाट निस्किइन्। उनीसँगै एउटी नानी थिइन्। एक जना सानो बाबु पनि थिए। बाबु गृहकार्य गर्दै थिए। नानी मोबाइल चलाइरहेकी थिइन्। दुवै आआफ्ना काममा व्यस्त जस्ता तर हामीलाई चिहाइरहेका देखिन्थे।

‘नमस्कार यो घरको मूली तपाईँ नै हो?’- मैले सोधेँ।
अपरिचित नारीले छोटकरीमा भनिन्, ‘हो नि।’
‘मैले त निचिनँ नि।’ म बोल्न नपाई उनले भनिन्।

मैले भनेँ, ‘म रमेश शुभेच्छु। पहिला तल भालुखोपको अहिले माथि सिम्लेको लुइटेलको छोरो। उहाँ अर्थात् ज्ञानु दाइ मेरो साथी। म लुइटेल सूर्यनाथको छोरो।’

‘ए जेठो छोरा’,  उनले जिज्ञासा राखिन्?

‘हो’, मैले जवाफ पर्काएँ।

‘ए हिजो छोराले स्कुलबाट डायरी र कलम लिएर आएको थियो। तपाईँले दिएको हो?’

मैले हो को भाकामा टाउको हल्लाएँ।

उनले बस्न आग्रह गरिन्। मतानका तलामाथिको सिकुवा वा कौसीमा हामी बस्यौँ। एकदुई कुरा सोधीखोजी गरिन्। सानो छोरालाई ज्ञानु दाइलाई बोलाउन पठाइन्।

कुरा गर्दै यसो आँखा डुलाउँदा सिकुवावाट देखिने जति ठाउँ सबै फूलैफूलको बगैँचा देखिन्थ्यो। मतानकै छेउमा गेटसहितको चाइनिज दुबो ओछ्याएको बस्ने, आराम गर्ने ठाउँ। हेर्दा लाग्थ्यो यो गाउँघरको होइन कुनै सजाएको सहरको बगैँचा हो।

हामी बोल्दै थियौँ। भाउजूले हाम्रा बाआमा र भाइबहिनाबारे सोधीखोजी गरिन्। उनले मबाहेक सबैलाई चिनेको रहेछ। मलाई बहिनीका बिहेमा झल्याक्झुलुक देखेको मात्र रहेछ। मैलाई चाहिँ राम्ररी चिनेको रहेनछ।

हामी कुरा गर्दागर्दै ज्ञानु दाइ आइपुगे।  दाइलाई भेट्नासाथ शिष्टाचारस्वरूप हात मिलायौँ। हामीलाई हात मिलाएर चित्त बुझेन। त्यो बनौटी थियो। दुवै अँगालामा बेरियौँ। फेरि कसेर हात मिलाएकै बेला भनेँ, ‘लौ बधाई छ दाइ! भाउजूचाहिँ साह्रै उद्यमी ल्याउनुभएछ। यो घरको स्वरूपले नै उद्यमी भाउजू भित्रिइछन् भन्ने थाहा भयो।’

दाइ खुलेर हाँसे। हाँसो रोकेर मेरा साथीसँग परिचय गरे। सन्चोबिसन्चो सोधे। बसौँ भनेर कुर्सी तानेर बसे।

ज्ञानु र म गाउँले साथी हौँ। सहपाठी पनि हौँ। हामीले सिम्ले समाजको देउसी सँगै खेलेका। त्यो देउसी खेल्दा सबैभन्दा बढी नाच्ने मान्छे उनै थिए। म भट्याउने र गाउने। उनी नाच्ने। उनी गाउँका दिदीबहिनीसँग र एक्लै नाच्थे। मलाई ती दिनको मिठो सम्झना छ।

कुराकानीका बिचमै मैले कुरा झिकेँ, ‘दाइ त उमेरमा साह्रै झिल्के पो त, भाउजू तपाईंहरूको कता भेट भयो?’

दाइभाउजू कोही केही बोलेनन्। ‘होइन बालाचतुरेमा भेट भयो कि सग्राँती बजारमा भेट भयो? त्यस बेला त यी दुई बजार प्रख्यात थिए धान नाच्ने र विवाह गर्नेका लागि।’
भाउजूले पनि हँसाइन्, ‘त्यही झिल्के देखेर त आएको नि म पनि।’

हामी सबै खुलेर हाँस्यौँ। सानो भतिज पनि हाँसे।

भाउजू पञ्चमीका योङहाङकी छोरी रहिछन्। उनको नाम मनीषा योङहाङ। कुरैकुरामा परिचय खुल्यो उनी एक समयका पञ्चमीका वडाध्यक्ष धनबहादुर योङहाङकी छोरी रहिछन्। हाम्रा गुरु र पछि गाउँपालिकाका अध्यक्ष भवानी लिङ्देनकी भान्जी रहिछन्। उनले पनि हामीले पढेकै विद्यालय सिरिजंघ मावि गोपेटारमा पढेकी रहिछन्। एकै गुरुकुलकी चेली रहिछन्।

मैले तुम्बा, तुम्माको खबर सोधेँ। तुम्बा बलबहादुर गाउँमा चिनिएका मान्छे। तुम्माको नाम चिजमाया भन्थे। भेट गर्ने समय नभए पनि उनीहरू दुवैलाई सम्झिएँ। तल्लाघर-माथ्लाघर सबैतिरको खबर सोधेँ। त्यहीँ कुराकानीकै क्रममा किरण खुदाङ घरमा छैनन् भन्ने थाहा पाएँ। ज्ञानुका दाइ, दिदी, भाइ, बहिनी सबैको कुरा चल्यो। सबै चराले गुँड छोडेजस्तै बाबुआमाको घर छोडेर भुरुरु उडेर कहाँ कहाँ पुगेछन्!

उनीहरूको परिवारलाई म राम्ररी जान्दथेँ। दिदीको घरायसी नाम हाँसु थियो। उनको स्कुलको नाम विष्णुमाया खुदाङ। स्कुल पढ्दापढ्दै बिहे गरेर गइन्। त्यसो त गाउँमा सबै दिदीबहिनीको बिहे स्कुल पढ्दापढ्दै हुन्थ्यो। लिम्बू परिवारमा मात्र होइन क्षेत्रीबाहुनका परिवारमा पनि त्यस्तै हुन्थ्यो। गैराघरका लीला (अन्तरी) र इन्दिरा (कान्छी) को बिहे पनि छसात कक्षा पढ्दै गर्दा भएको थियो। इन्दिरा सङ्ग्रौला दिदीले ए एलसी दिने बेलामा बिहे गरेकी थिइन्। उनको विहे गर्न ढिलो भएको भन्थे। अरूले त्योभन्दा छिटो बिहे गर्थे।

एक त पढाइ ढिलो हुन्थ्यो। अर्को चाँडो बिहे गर्ने चलन थियो। ज्ञानुकी माहिली बहिनी लीला हाम्री पनि बहिनी हुन्। उनको पनि पढ्दापढ्दै विवाह भयो। मीना र कल्पनाहरू सानासानै थिए। आज ती सबै घर खाने भएछन्। भाइहरू गुञ्जन, टार्जन, विनोद (अन्तरे) अनिल पनि ससानै थिए। अहिले उनका सन्तान त्यसबेलाका उनीहरू जत्रै भइसकेछन्।

ज्ञानु मभन्दा एक दुई कक्षा अगाडि पढ्ने दाइसाथी। मैले उनीसँग कति कुरा सिकेको पनि सम्झना छ। कति रात म उनको घरमा बसेको पनि छु। यस भेटसँगै धेरै कुराको स्मृति भयो।

मैले अहिलेका ज्ञानु भेटे पनि उस बेलाका ज्ञानु सम्झिएँ। उनी गणित जान्दथे। जानेको कुरा सिकाउन पनि सक्थे। उनका अक्षर पनि राम्रा थिए। नीलगिरि स्कुल पढ्दाका अग्रज दाइ जोरपोखरी पढ्दाका भने सहपाठी बनेका थिए। उनी त्यस बेला नयाँनयाँ लुगा लगाउँथे। नयाँ डिजाइनका पहिरन लगाउन मन पराउँथे। जिन्स ज्याकेट र पाइन्ट लगाएर हिँड्थे। निकै जोखिमपूर्ण काम गर्थे। जोरपोखरी पढ्दा फेन्टा बोकेर गएको पनि याद छ।

त्यस बेला सेन्टप पास गर्न नसके पुनः पढ्नु पर्थ्यो। उनी सेन्टप बिग्रिएपछि फेरि नौदेखि पढ्न जोरपोखरी पुगेका थिए। त्यही सिलसिलामा उनी, म, महेश्वर भण्डारी, कमला मैनाली, लक्ष्मी काफ्ले सबै सहपाठी भएका थियौँ। हाम्रो भेट लय दाइले खोलेका स्कुलमा भएको थियो।

हामी सहपाठी मात्र होइन सँगै डेरा बसेका साथी। जोरपोखरीको असलबहादुर लिम्बूका घरको भुइँतलामा हामीले चिसा दाउरालाई रिझाएर गुन्द्रुक र भात खाएका। कहिले काँचोकाँचो कहिले पाकेको पनि खाएका। एकै ओछ्यानमा सुतेका र दुःखसुख बुझेका। त्यस दिन म एक किसिम एउटा सहपाठीका घरमा बास बसेर अर्को सहपाठीका घरमा पुगेको थिएँ। म मेरा पुराना साथी खोज्दै थिएँ।

हामी दुवैले पुरानापुराना कुरा निकाल्यौँ। माथि डाँडाका चन्द्र खनालको विवाहमा सँगै जन्त गएका थियौँ। नाचेरै रात बिताउँथे उनी। हामी जानी नजानी उफ्रन्थ्यौँ। दुर्गा काफ्लेका विवाहमा होस् वा कमल र टीकाराम अधिकारीका विवाहमा जन्त जाँदा हामी अग्रपङ्क्तिमा हुन्थ्यौँ। टङ्क काफ्लेका बिहेमा घरगाउँलेको कुटाइ पनि खाएका थियौँ भारपामा। भोला अधिकारीका विवाहमा जन्त जाँदा पनि सँगै थियौँ। ढकाल काइँला काका, जयप्रसाद खुदाङ (साहिँला) काका, नेत्र सुहाङ काका, टेकनाथ अधिकारी काका, लीला सुहाङ काका, श्रीप्रसाद अधिकारी दाइ सबैका बिहेमा हामी पुग्थ्यौँ। जहाँ जाँदा होस् त्यहाँ रमाइलो गर्ने पात्रमध्ये एक ज्ञानु थिए। उनी मादल र बाँसुरी पनि बजाउँथे। उनका अगाडि हामी केही नजान्ने थियौँ।

यसो सम्झँदा त्यस बेलामा क्यासेटमा भए जति गीतमा नाच्न जान्ने ज्ञानु थिए। उनको नाच्ने कलाले उनलाई सबै दाइ र काका पुस्ताले नछुटाइ जन्त लैजान्थे। हामी प्रायः सबैका विवाहमा जन्त जान पनि भ्याउँथ्यौँ। गाउँमा हुने दिदीबहिनीका विवाहमा घरगाउँलेका कर्तव्य निर्वाह गर्न पनि अगाडि हुन्थ्यौँ। त्यस बेला धेरै दिदीका बिहेमा ठूला खड्कुँला ओसार्ने र दाउरा ओसार्ने हामी थियौँ।

हामी उमेरअनुसारका सानातिना उट्पट्याङ पनि गथ्र्यौँ। ठूला फटाइँचाहिँ मिलेर गरेको सम्झना छैन। अहिले सम्झिँदा एउटा फटाइँको सम्झनाचाहिँ ताजा छ। दाइले एउटी केटीले केटालाई पठाएको चिठी खोलेका थिए। त्यो भरपाकी प्रेमिकाले सुभाङको प्रेमीलाई लेखेको चिठी थियो। दाइले हुलाकबाट बुझेर खोलेका थिए। त्यस चिठीमा चतुरे बजारमा २ः०० बजे भैँसी मार्ने ठाउँको पछाडि डाँडामा भेटौँ र कुरा गरौँ भन्ने व्यहोरा थियो। दाइले चिठी खोलेर पढे अनि च्यातिदिए। मलाई भने त्यसपछिको चतुरेमा गएर त्यसरी कुर्ने केटी मान्छेको अनुहार हेर्ने रहर लागेको थियो। अरू अनेक उट्पट्याङ, फटाइँ- छुल्याइँ गर्थे तर ज्ञानु नामजस्तै शान्त थिए। बरु उनी मिहिनेत गरेर केही पैसा कमाउँथे र बजारको केही राम्रो वस्तु किन्थे।

बिचमा ज्ञानु र मेरो लामो समय भेट भएन। म एसएलसीपछि इलाम हिँडेँ। इलाम हुँदै काठमाडौँतिर लागेँ। ज्ञानु वैदेसिक रोजगारीतिर लागे। अहिले जस्तो इन्टरनेट थिएन। पत्राचार भएन। विदेशमा फोन गर्न गाह्रो र महँगो पर्थ्यो।

म कीर्तिपुर जाँदै गर्दा एक पटक बल्खुमा उनको र मेरो भेट भयो। उनी कसै आफन्तको पीसीओमा थिए। त्यस बेला त्यही पीसीओमा काम गर्छु भन्थे। एकदुई पटक फोनमा कुरा पनि भयो। पछि फेरि विदेश गएछन्। उनी केही समय कतार र केही समय साउदी बसे। हामी विदेश हुँदैदेखि फेसबुक र म्यासेन्जरमा जोडियौँ। आज धेरै वर्षपछि झन्डै युवा उमेर कटाउन लाग्दा हामी भेटिएका थियौँ। यो हाम्रा लागि खुसीको कुरा थियो। बिचबिचमा नभेटेको पछुतोको कुरा पनि थियो।

मैले जान्दा ज्ञानबहादुरकी आमा ढाकाका लुगा बुन्थिन्। उनले बुनेका ढाकाका टोपी राम्रा हुन्थे। उनी पैकार पनि गर्थिन्। त्यहाँ तङ्बा खाने गाउँले काका बडाबाहरूको पनि ओहोरदोहोर हुन्थ्यो। उनी अरू देउरानी जेठानीभन्दा उद्यमी नारी थिइन्। अहिले पनि केही गरिरहेकै हुन्छिन्। उनी र माथि आताङकी आमा दिदीबहिनी। दुवै गाउँका बहादुर नारी।

ज्ञानुका बा त्यस क्षेत्रबाट गाउँ पञ्चायतका सदस्य पनि भएका। त्यसैले सबैले समिति भन्थे। उनका हजुरबालाई पनि हामीले चिनेजानेको। एक दिन स्कुलबाट घर फर्कँदै गर्दा थेत्ते बितेअरे भन्ने सुनेर सँगै बसेर रोएको पनि सम्झन्छु। यस्तै अनेक कुरा हामीले सँगसँगै सम्झियौँ।

सम्झनामा हाँसु दिदी पनि आइन्। कारिङ दाइ पनि आए। ज्ञानुको दाइ कारिङ रोजगारीका लागि भारत गएका थिए। के भयो कसो भयो? उनी फेरि फर्किएर आएनन्। उनी बेपत्ता भएको तीतो पक्ष गम्भीर भएर सम्झियाैँ। गाउँकै अर्का काका चन्द्र ढकाल पनि त्यसरी नै बेपत्ता भएको पीडा सम्झियौँ। हाम्रो साथी पूर्णबहादुर बिरामी भएर आएको पनि सम्झियौँ। छोटो समयमा पनि अनेक विषय सम्झियौँ। महेन्द्र काका नागाल्यान्डमै बसेको पनि सम्झियौँ। उसबेला आजको अरब कतार जस्तो भारतको नागाल्यान्ड जाने चलन थियो। हाम्रा काका र बडाबाहरू पनि उतै थिए। ढकाल जेठा बडा, हाम्रा ठूला भिनाजु, लीला काफ्ले भिनाजु, पुष्प मित्र, गइराघर टङ्क, टेकनाथ तिम्सिना सबैको रोजगारीको गन्तव्य त्यतै थियो। हाम्रा बालमस्तिष्कमा नागाल्यान्ड जानु पनि एउटा सपना बनेर रहन्थ्यो।

हाम्रा गफमा गैराघर, तल्लो भालुखोप, पखेरे, ढाँडे, माथ्लो भालुखोपका धेरै पक्ष आए  ढुङ्गे, मालबाँसे, जेभालेमा घटेका अनेक घटना आए। नीलगिरि र जोरपोखरी पढ्दाका तितामिठा कुरा आए। स्कुलमा कक्षा कोठा बढार्दा र लिप्तादेखिका कुरा आए। खेलकुद र कुटाकुटका कुरा आए। मालबाँसे र भालुखोपको समूहको कुटाकुटले कहिलेकाहीँ बाटो आतङ्कित हुन्थ्यो। यी अनेक पक्ष सम्झियौँ हामीले।

हामी पुरानापुराना कुरामा हराइरहेका थियौँ। भाउजूले चिया कस्तो बनाउने भन्नेबारे सोधिन्। मेरा साथीले चिया नखाने बताए। भाउजूले ठूला कपभरि तातो दूध ल्याएर राखिदिइन्। घरमै गाई पालेको रहेछ। छोराले गाउँको दूध पनि संकलन गरेर डेरी सञ्चालन गरेका रहेछन्। घरमै घिउ र छुर्पी बनाउँदा रहेछन्। घरेलु उद्योग चलेको रहेछ। दूध पिउँदै अरू कुरा थाहा भयो।

ज्ञानुको घर कुनै कोणबाट पनि गाउँको साधारण घरजस्तो थिएन। वरिपरि फूलको बगैँचा। चाइनिज दुबोसहितको बगैँचा। तुलसाको मठ यथास्थानमा थियो। घर पूरै सफासुग्घर थियो। छेउमा छुट्टै गाईगोठ र डेरी थियो। कुरैकुरामा कक्षा १२ पढ्दै गरेका छोरा राजन आए। उनले अगाडि आएर नमस्कार गरे। मैले भनेँ, ‘ल दाइ! छोरा पो पहिला हामी साथीसाथी भएर डुल्दाजस्ता जवान भएछन्।’

दाइ हाँसे र भने, ‘हो नि हाओ।’

मैले राजन बाबुलाई जिस्क्याउँदै भनेँ, ‘त्यसबेला हामी बालाचतुर्दशीमा रातै बस्थ्यौँ। धान नाच्थ्यौँ। तपाईंहरू पालाम भन्न जान्नुहुन्न होला? धान नाच्न जान्नुहुन्न होला?’

भतिज अलमल परे। उनलाई तपाईँ भनेर बोलाएको अनौठो लागेको थियो। यो ठट्टा थियो। चिनाजानी नभएको काकाको कुराले राजन बाबु केही लजाए। उनी केही नबोली हाँसिरहे।

मैले राजनको पढाइबारे सोधेँ। डेरी केकस्तो चलेको छ? सोधेँ। दूध कति संकलन हुने, कति छुर्पी बन्ने, कति घिउ, पनिर बन्ने आदि विषय पनि सोधेँ। उनले सबै कुरा राम्रो रहेको बताए।

‘पनिरचाहिँ गाउँमा बिक्री हुँदैन। आफूलाई खान मात्र बनाउने गरेका छौँ’, उनले भने।

‘अनि डेरी दर्ता गरेर चलाएको कि नगरी?’ मैले सोधेँ।

‘दर्ता त गरेको छैन अंकल। पालिकाले दर्ता गर् भन्दै छ। अब गर्नु पर्ला’, उनले भने।

हामी पुग्दा गृहकार्य गर्दै गर्ने बाबुको नाम साजन रहेछ। उनी हामीले पढेको सरस्वती माविमा छ कक्षामा पढ्दा रहेछन्। सन्तोषा भतिजी पनि घरमा रहिछन्। उनी मोबाइल चलाएर बसिरहेकी थिइन्। उनी शनिश्चरेमा स्नातक पढ्दी रहिछन्। उनले हाम्रो फोटो खिचिदिइन्। सोधीखोजी गर्दै जाँदा उनी टार्जन भाइकी छोरी रहिछन्। उनैलाई उनका दिदीहरू सोनिया र अफियाबारे सोधेँ। उनी धेरै बोल्न चाहिनन्। निकै लजालु स्वभावकी रहिछन्। उनी दसैँ मान्न मूलघर गएकी हुँदा त्यस घरमा आएर कुरा गर्ने मानिसलाई भेट्ता अनौठो लाग्नु र कम बोल्नु स्वाभाविकै हो।

मैले हाँसेरै भनेँ, ‘ल भाउजू हाम्रो दाइको घरआँगन सुन्दर बनाउनुभएछ। तपाईं मिहिनेती हुनुहुँदो रहेछ। गाउँमा दाइहरू विदेश बस्ने र भाउजू सहर छिर्ने लहर छ भन्थे। दाइहरू उता कमाउने यता भाउजूहरू उडाउने कथाका पात्रहरू भेटिन्थे पढिन्थे। आज दाइको पैसा पनि बचाउने र घरपरिवार पनि उठाउने भाउजू भेटेँ।’

मैले सबैलाई आफूसँग जे भएको एकसरो उपहार दिएँ। साना बाबुले हिजो स्कुलमै पनि पाइसकेका थिए। उनले नै घरमा गएर भाउजूलाई रमेश शुभेच्छु चिन्नुहुन्छ? भनेर सोधेका रहेछन्। भाउजूले नचिनेपछि ज्ञानु दाइलाई सोधेका रहेछन्। बेलुका घरमा पनि हाम्रो कुरा भएको रहेछ।

हामी कुरा गर्दै सिकुवाबाट आँगनमा आयौँ। भाउजूले लगाएको बगैँचालाई निहाल्यौँ। गाउँघरमा पाइने सबैखाले फूल भाउजूका बगैँचामा थिए। मित्र उपासकले फोटोहरू लिए। भिडियो पनि लिए। हामीले सामूहिक फोटो पनि लियौँ। फूलको सौन्दर्य र वासनासँग रमायौँ।

गाउँका अरू घरपरिवार र त्यस घरपरिवारको अवस्था देखेर मेरा मित्र पनि प्रभावित भए। त्यति सफा घर अरू कसैका थिएनन्। मैले आँगनमा उभिएर खुसी प्रकट गरेँ। त्यस घरमा अधिकारी बस्ता पनि पुगेँ। काफ्ले बस्ता पनि पुगेँ। भण्डारी बस्ता पनि पुगेँ। आज खुदाङहरू बसेका बेला पुग्दा घरको स्वरूप फेरिको पाएँ।

घर बन्न र बिग्रनमा नारीको हात हुन्छ। त्यस घरको सजावटका पछाडि पनि एउटी नारी थिइन्। त्यति सुन्दर बनाउने मिहिनेतमा सबैको हात होला तर मनीषा भाउजूको मिहिनेत बढी थियो। मैले हाँसेरै भनेँ, ‘ल भाउजू हाम्रो दाइको घरआँगन सुन्दर बनाउनुभएछ। तपाईं मिहिनेती हुनुहुँदो रहेछ। गाउँमा दाइहरू विदेश बस्ने र भाउजू सहर छिर्ने लहर छ भन्थे। दाइहरू उता कमाउने यता भाउजूहरू उडाउने कथाका पात्रहरू भेटिन्थे पढिन्थे। आज दाइको पैसा पनि बचाउने र घरपरिवार पनि उठाउने भाउजू भेटेँ।’

छेउमा बसेर राजन भतिज हाँसिरहेका थिए। फेरि भाउजूलाई नै भनेँ, ‘छोरा पनि मिहिनेती पाउनुभएछ। कान्छा पनि मिहिनेती छन् जस्तो छ।’
मेरो कुरा सुनेर भतिज अलि लजाए। दाजुभाउजू दुवै मख्ख परे। ज्ञानु दाइले थपे, ‘हो नि यिनेर्ले नबचाएको भए म के गर्न सक्थेँ र? धेरै बच्तैन थियो नि। पहिले विदेश गएर आएर बिहे गरेँ। दोस्रोचोटि गएर आएर यो घर किनेको।’

हिँड्ने बेलामा दाइले सोधे, ‘होइन आजको खाना कहाँ हो र? यतै खाना भाउजूले बनाउँछिन् खाएर जाऊ। अब कता जाने र?’

हामीले खाना खान जेभाले पुग्ने बतायौँ। उनले थपे, ‘अलिकति कागती टिपिदिऊँ लान सकिन्छ? गाउँको कुरा उहाँ त चिज हुन्छ नि। यसो कोसेली नि।’

मैले हिँड्दै जाने बाटो बताएँ। सोझै गाडीमा नजाने हुँदा कागतीको कोसेली लान गाह्रो छ भन्दै धन्यवाद दिएँ। फेरि यहाँबाट के बोक्नु काठमाडौँमा पनि पाइहाल्छ नि दाइ भनेर आश्वस्त तुल्याएँ।

भाउजूले एकछिन है भन्दै भित्र पसेर केही ल्याइन्। घरमा खान बनाएको अलि सुकिसकेको छैन। यो हयीँ बनाएको छुर्पी हो। उनले यसो भन्दै एउटा छुर्पीको पोको झोलामा हालिदिइन्।

ज्ञानु र म मित्रवत्, अझ भ्रातृवत् अँगालोमा बेरियौँ। फेरि एकपटक कसेर हात मिलायौँ। हामी बिदा माग्दै अगाडि बढ्यौँ। दुई भाइ बाबुहरू र दाजुभाउजूले घरपछाडिसम्म पुर्‍याएर बिदाइको हात हल्लाए।
हाम्रा मनमा त्यस घरको सजावट र त्यस घरकी उद्यमी भाउजूप्रति श्रद्धा लागिरह्यो। दाइप्रतिको आदर पनि चुलियो।

[email protected]

 

प्रकाशित: २३ मंसिर २०८० १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =