उद्यम

सय वर्षदेखि ग्राहक लोभ्याउँदै भुत्तेको मिठाई पसल 

विजय नेपाल २३ मंसिर २०८० १०:२०
108
SHARES
सय वर्षदेखि ग्राहक लोभ्याउँदै भुत्तेको मिठाई पसल  भुत्ते मिठाई पसलमा पाक्दै गरेको जेरी। तस्बिर : विजय नेपाल

राणाशासनका बेला भारतीय र बेलायती फौजमा धेरै युवा भर्ती हुन्थे। युवालाई लाहुरे बन्ने रहर हुनु स्वाभाविकै थियो। पोखराका सिद्धिलाल चुल्याजुलाई पनि सेनामा भर्ती हुने लहड चलेछ। सोही कारण उनी भारत हुँदै बर्मा पुगे।

दुई वर्षजति बर्मामा बिताएका सिद्धिलालको विदेशी सेनामा भर्ती हुने रहर त पूरा भएनछ, जेरी र मिठाई बनाउने सीप सिकेर फर्किए।  सिद्धिलालले पोखराको पुरानो ठाउँ भैरवटोल र नालाको मुखको बीच भीमसेनटोलमा जेरी पसल खोले। सय वर्षअघि खुलेको त्यो पसल ‘भुत्तेको मिठाई पसल’ का रूपमा चर्चित छ।

मैदा हवाईजहाजमार्फत भैरहवाबाट झिकाइन्थ्यो। घिउ छिमेकी जिल्ला बागलुङ र पर्वतबाट ल्याइन्थ्यो। सिद्धिलालका छोरा राजकुमार भन्छन्, ‘जेरी सस्तो थियो। बाबुको पालामा १ पैसामै ४ वटा जेरी पाइन्थ्यो रे।’ अहिले राजकुमार एउटा जेरी ५० रुपैयाँमा बेच्छन्।

आफ्ना पुर्खा मल्लकालमा भक्तपुरबाट बसाइँ सरेर पोखरा आएको बताउने राजकुमार बाबुले सुरु गरेको व्यवसायलाई निरन्तरता दिइरहेका छन्। सिद्धिलालको त्यो सीपलाई तेस्रो पुस्ताले निरन्तरता दिने तरखरमा छ।

००

कुरा २०१५ सालको हो। तत्कालीन राजा महेन्द्र पोखरा भ्रमणमा निस्किएका थिए। ठाउँठाउँमा राजाको स्वागतका लागि स्वागतद्वार बनाइएका थिए। राष्ट्रप्रमुख र त्यतिबेलामा शक्तिशाली राजाको स्वागतका लागि विभिन्न संघसंस्था, व्यवसायी र उद्योगी उत्साहजनक रूपमा उपस्थित भएको बूढापाकाहरू बताउँछन्।

फूलमालाको स्वागतद्वार त सबैले देखेकै हुन्। त्यसैले त्यसलाई राजाले पनि स्वाभाविक रूपमा लिए। स्वागत ग्रहण गरे। तत्कालीन राजाको आँखामा एउटा स्वागतद्वारमा विशेष दृष्टि परेछ। त्यो थियो, सिद्धिलाल चुल्याजुले बनाएको जेरी र सेलरोटीले सजाएको स्वागतद्वार।

‘त्यो आकर्षक स्वागतद्वारमा राजाको आँखा परेछ। उनले जेरी पनि खाएछन्’, ५६ वर्षीय राजकुमार भन्छन्, ‘राजाबाट बुबाको प्रशंसा पनि भएको थियो रे।’ सिद्धिलालले राजाबाट प्रशंसा मात्रै पाएनन्। रत्न मन्दिरमा राजा बसेका बेला २५ दिनसम्म सिद्धिलालको परिवार मिठाई पकाउन पुगेको थियो। मिठाई बनाउने सीपबाट राजा खुसी भए। सिद्धिलाललाई बक्सिस दिएछन्। त्यही बक्सिसबाट बुबाले घर बनाएको राजकुमार बताउँछन्।

राजाबाट प्रशंसा र प्रचार भएपछि सिद्धिलाल थप उत्साहित बने। अनि उनले यसलाई निरन्तरता दिन थाले। अहिलेसम्म आइपुग्दा मिठाई पसलले देशविदेशमा ख्याति कमाइसकेको छ।

बाबुको २०२७ सालमा निधन हुँदा राजकुमार सानै थिए। आमाले पेसालाई निरन्तरता दिइन्। आमाको पनि २०६३ सालमा निधन भयो। पसलको सम्पूर्ण जिम्मेवारी राजकुमारको काँधमा आइपुग्यो।

राजकुमार दिनमै चारपाँच सयवटा जेरी बनाउँछन्। अर्डर आएमा एक हजारवटा पनि बनाउने गरेको उनले सुनाए। दिनमा १२ सय वटासम्म जेरी बनाएको उनको अनुभव छ।

पसलमा दैनिक दुई सय जना जति ग्राहक आउँछन्। कामदार राखेका छैनन्। जति नै भीड बढे पनि परिवारका सदस्य लागिपर्छन्। पकाउन राजकुमारलाई श्रीमती दयालक्ष्मीले साथ दिन्छिन्।

राजकुमार कलात्मक ढंगले आकार दिए जेरी बनाउँछन्। छेउमा बसेकी दयालक्ष्मी त्यसलाई कराईबाट निकालेर चिनीको चास्नीमा डुबाउँछिन्। उनी भन्छिन्, ‘पकाउन नजाने पनि उहाँबाट सिकिरहेकी छु।’

राजकुमार अब अन्य व्यवसायमा लाग्ने योजनामा छैनन्। उनी भन्छन्, ‘यसमा आनन्द लागेको छ। पुर्ख्यौली व्यवसायलाई नै निरन्तरता दिने हो।’

फुर्सदका बेला छोराछोरीले पनि सघाउँथे। छोरी नोमीको गत वर्ष बिहे भयो। छोरा एलिस मास्टर्स पढ्दैछन्। अहिले छोराले काम सिकिरहेको राजकुमार बताउँछन्।
पसलमा दैनिक सरदर करिब ४० हजार बराबरको कारोबार हुन्छ।

पसलमा हरेक दिन जेरी र विभिन्न प्रकारका मिठाई पाक्छन्। ग्राहक पनि खोज्दैखोज्दै भुत्तेको मिठाई पसल छिरेर मुख मिठ्याउन लालायित देखिन्छन्। पोखरा घुम्न आएका विदेशी पर्यटक पनि घुम्दैफिर्दै उनको पसलमा पुग्छन्। काठमाडौँ, बुटवल, चितवन, विराटनगर, धरान, तानसेनलगायत सहरका मानिस पोखरा आउँदा यहाँ आएर जेरी खाँदा असाध्यै खुसी लाग्ने उनले बताए।

काभ्रेबाट पोखरा घुम्न आएका अंकित श्रेष्ठ पसलमा जेरी खाँदै गरेको भेटिए। उनी भ्लगमा पसलबारे थाहा पाएर जेरी खान मन लागेपछि खोज्दैखोज्दै आएका रहेछन्। यहाँको जेरी असाध्यै मिठो रहेको श्रेष्ठले बताए। उनी जस्ता मिठाईका पारखीहरू पसलमा झुम्मिएको भेटिन्छ।

पसलमा जेरी खाँदै ग्राहक।

ग्राहक आकर्षित हुनुको एउटै कारण हो, मिसावटरहित जेरी र पुरानो पसल। राजकुमार भन्छन्, ‘पुरानो पसल र मिठाईमा कुनै पनि रङ नहाली पकाउँछौँ।’

बिहान ७ बजेदेखि जेरी पाक्ने यो पसल मध्याह्न १२ बजेपछि दिउँसो ४ बजेसम्म बन्द हुन्छ। राजकुमार दम्पती साँझ ७ बजेसम्म फेरि व्यस्त हुन्छन्।

कोरोनाका बेला केही सुस्ताएको व्यवसाय अहिले खुब चल्तीमा छ। पसलमा जेरीबाहेक गजा, लालमोहन, लाखमरी, ऐंठे, निमकिन आदि मिठाई पनि बनाउने गरिएको छ। साथै अर्डर आउँदा फिनी, सेल, अनरसा, अर्सालगायतका मिठाई बनाउने गरेको राजकुमारले बताए। उनले भने, ‘ग्राहकको रुचिचाहिँ जेरीपुरीमै हुन्छ।’

अधिकांश ग्राहक यही आएर जेरीपुरी खान रुचाउँछन् भने कतिपयले घरमै लैजान्छन्। वर्षाैँदेखि जेरी पकाएर पोखराकै ब्रान्डको चिनारी बन्दासमेत सरकारले केही चासो नदेखाएकोमा राजकुमारको गुनासो छ। राजकुमार आफ्नो शेषपछि छोराले पुर्ख्यौली पेसालाई निरन्तरता दिनेमा विश्वस्त छन्।

पसलको नाम भुत्ते कसरी रहन गयो? राजकुमार भन्छन्, ‘बुबा सिद्धिलाललाई भुत्ते भनेर बोलाउँदा रहेछन्। अनि उहाँलाई त्यही उपनाम मन परेछ। पसल पनि त्यही नाममा राखिएको हो।  भुत्तेको जेरी, भुत्तेको गजा, भुत्तेको लालमोहन भन्ने गरिन्छ।

काठैकाठको प्रयोगबाट निर्मित टिनले छाएको घरमा पसलको बोर्ड झुण्डिएको कहीँकतै भेटिँदैन। पसलमा बोर्ड किन नराखेको? भन्ने जिज्ञासामा राजकुमारले खोज्दैखोज्दै पसल भेट्टाएर खानुको मज्जा बेग्लै हुने बताए। उनले भने, ‘पोखरा आउँदा माछापुच्छ्रे  हेर्ने, फेवातालमा डुंगा चढेर रमाइलो गर्ने अनि पोखराको पुरानो बजारमा आएर जेरी खाने है।’

पोखरा महानगरपालिका-२ भीमसेनस्थित भैरव मन्दिर आडैको घरमा सञ्चालित पसलमा थुप्रै नेता, साहित्यकार र सेलिब्रेटी आएर जेरी खाएको सुनाउँछन् राजकुमार। पसलमा राजनीतिक दलका नेता, कलाकार, साहित्यकार आदिले आएर मिठाई खाएको तस्बिर झुन्ड्याइएको छ। साथै कतिपय अगुवाहरूले मिठाई खाएको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट गरेर ‘भुत्तेको मिठाई पसल’ को प्रचार गरिरहेका छन्।  सामाजिक सञ्जालका कारण प्रचार भएकोमा चुल्याजु परिवार खुसी छ।

प्रकाशित: २३ मंसिर २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =