आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’

हिमाल प्रेस २२ मंसिर २०८० १४:५५
8
SHARES
आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’

काठमाडौँ– आर्टमान्डुको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। गाउँघरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डुले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा सार्वजनिक गरेको हो।

गीतमा गायिका अञ्जु पन्त र गायक भुषण खतिवडाले स्वर दिएका छन्। हर्क साउदले शब्द रहेको गीतमा भुषणकै संगीत संयोजन छ।

भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ। नवीन र  केर कोइँच लिनुचले निर्देशन गरेकाे भिडियाेलाई योगेश ढकालले छायांकन गरेका छन्।

‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्।’ फेसबुक पोस्टमा निर्देशक नवीन चौहानले विगत सम्झिदै लेखेका छन्। ‘पहिलो पटक भिडियोमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो। पहिलो हाट बजार भरेको अनुभव यही पञ्चमीको छ।’

करिब ८ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत् भिडियोमा बजारको सौन्दर्य र पूर्वको दृश्य देखाइएको छ।

‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। बिडम्बना अहिले यो बजार धेरै उजाडिएको छ,’ निर्देशक नवीनले भने।

यसअघि आर्टमान्डूका ‘पाहुना हजुर’, ‘फूलथुंगे रानी’, ‘तीनपाते’, ‘घुमीघुमी’, ‘चन्द्रमा’, ‘के माया लाग्छ र’लगायत थुप्रै गीत लोकप्रिय छ। अहिले आर्टमान्डू फिल्म ‘ऊनको स्वीटर’ निर्माण तयारीमा छ।

प्रकाशित: २२ मंसिर २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 4 =