आगामी प्रधानसेनापतिमा अशोकराज सिग्देल निश्चित

हिमाल प्रेस २१ मंसिर २०८० १४:०७
986
SHARES
आगामी प्रधानसेनापतिमा अशोकराज सिग्देल निश्चित

काठमाडौँ– नेपाली सेनाको रथीमा अशोकराज सिग्देल बढुवा भएपछि उनी आगामी प्रधानसेनापति बन्ने निश्चित भएको छ। साथै सेनाभित्र उमेर र रोलक्रम विवाद बाहिर ल्याउने प्रयास अन्त्य भएको छ। नेपाली सेनामा वरिष्ठ रथी प्रधानसेनापति बन्ने प्रचलनअनुरूप सिग्देल ९ महिनापछि प्रधानसेनापति बन्नेछन्।

जंगीअड्डाले सिग्देललाई रथीमा बढुवा गर्न गरेको सिफारिस बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ। २०८१ भदौमा हालका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधानसेनापति बन्नेछन्। सिग्देल २०७६ असोजमा उपरथीमा बढुवा भएका थिए।

सिग्देल उपरथी हुने क्रममा सेनाभित्र उनको नागरिकता र जन्ममितिमा विवाद झिकिएको थियो। छानबिनपछि उनी निष्कलंक देखिए। उनलाई निष्कलंक देखाउने क्रममा जन्ममिति सच्चाएका व्यक्ति पूर्व उपरथी ताराध्वज पाण्डेले पनि सफाइ पाएका थिए। रथी बढुवामा सिफारिस भएका पाण्डेले छानबिन हुँदा नागरिकतामा किर्ते गरेको पाइएपछि राजीनामा दिएका थिए।

पाण्डेको राजीनामालगत्तै रोलक्रमका आधारमा सैनिक मुख्यालयले सिग्देललाई रथीमा बढुवा सिफारिस गरेको हो। सिग्देलको पनि उमेरमा किर्ते भएको भन्दै सेनाभित्रको एउटा समूहले मंसिर ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठायो। मन्त्रालयले सिग्देलको सबै सर्टिफिकेट छानबिन गरेर मन्त्रिपरिषद्‌मा बढुवाका लागि सिफारिस पठाएको थियो।

सिग्देलको शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे आएको उजुरीमाथि २०७६ सालमै छानबिन भइसकेको थियो। मन्त्रालयले पनि सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति भएको पाएपछि ढुक्क भएर बढुवा प्रक्रिया अगाडि बढाएको थियो। सेनाले पनि छानबिन गरेको सबै विवरण रक्षा मन्त्रालयमा पठाएको थियो।

जंगीअड्डाले रिक्त रहेको रथी पदका लागि उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालयमा आइतबार फाइल पठाएसँगै उनको जन्ममितिबारे केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए। जं‌गीअड्डाका एक सैन्य अधिकारीले भने, ‘त्यस्ता समाचार सेनाभित्रको एउटा समूहले लेखाउन लगाएको शंका छ। प्रमाण नभइकन जथाभाबी लेख्ने र बोल्ने मिडियाप्रति सेना गम्भीर बनेको छ।’ उपरथी सिग्देललाई सेनाभित्रकै एक भँडुवा समूहले विवादमा तान्ने काम गरिरहेको भन्दै त्यो समूहलाई निस्तेज गर्ने ती अधिकारी बताउँछन्।

अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा हुँदै नभएका विषयमा बिनाप्रमाण लाञ्छना लगाउने किसिमले समाचार लेख्नु पत्रकारिता आचारसंहिताभित्र नपर्ने उनको भनाइ छ। यस्ता विषयमा नेपाली सेना संवेदनशील र कठोर हुने उनको भनाइ छ।

कलेजले २०४३ भदौ १२ गते जारी गरेको प्रमाणपत्र र नागरिकतामा एकै उमेर रहेका कारण पनि उनलाई बढुवा गर्न समस्या नभएको हो। जंगी अड्डाका ती अधिकारीले भने, ‘सिग्देलको प्रमाणपत्र र नागरिकता गलत रहेको भए सेनाले उनको नाम सिफारिस गर्दैन थियो। सेनामा एकजनाले किर्ते गरेको भन्दैमा सबैले त्यसै गर्छन् भन्नु गलत हो।’

रथीमा बढुवा हुनुअघि नै सिग्देलले नेपाली सेनाले स्वीकृति दिएमा आफ्नो सबै शैक्षिक प्रमाणपत्र पत्रकार सम्मेलन गरेर बाहिर ल्याउने बताएका थिए।

यसअघि पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बेला उपरथीमा बढुवा गर्ने क्रममा निकै दुःख दिएका कारण पनि सिग्देलका कागजपत्र सबै जम्मा भएको एक अधिकृतले जानकारी दिए। जनसम्पर्क र दलका नेताहरूसँग खासै सम्पर्क नगरी जिम्मेवारीमा तल्लीन हुने हुनाले पनि सिग्देललाई सेनाभित्रका एक समूहले रोष राख्ने गरेको अर्का अधिकृतले बताए।

नेपाली सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकारीका रूपमा सिग्देलको पहिचान छ। उनी कसैको दौरा नसमाइकन सेनाको उपल्लो दर्जामा पुगेका व्यक्ति हुन्।

तनहुँमा जन्मिएका सिग्देलको स्थायी घर भैरहवा हो। सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हायर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए। उनी हाल बूढानीलकण्ठमा बस्छन्।

२०७६ सालमा प्रमाणपत्र छानबिन गर्दा ढड्डाको नाममा केही थपिदिएर समस्या भएको थियो। तर पछि त्यस विषय सल्टिएको थियो। ‘ढड्डा उनी आफैँले तयार गर्ने विषय नभएको र सिग्देलको अन्य कैफियत पनि नभेटिएपछि त्यतिबेलै उनले सफाइ पाएका थिए। पनि अँध्यारोमा ढुंगा हान्ने बानी परेका केही व्यक्तिले साँच्चै गल्ती पो छ कि भनेर समाचार बनाउने, कताकता सम्बन्ध जोड्ने जस्ता कार्य गरेकाले समस्या आएको हो’, ती अधिकृतले भने।

प्रधानसेनापतिको मैदानमा सिग्देल एक्लै छन्। रथी सीताराम खड्का बुधबारदेखि बिदामा बसिसकेकाले पनि सिग्देललाई जतिसक्दो छिटो फूली लाउने र जिम्मेवारी दिने तयारी जं‌गीअड्डाको छ।

प्रकाशित: २१ मंसिर २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =