सेवासुविधा माग गर्दै त्रिविका कर्मचारीले बुझाए ज्ञापनपत्र,दीक्षान्त समारोह प्रभावित पार्ने चेतावनी

हिमाल प्रेस २१ मंसिर २०८० ११:१२
224
SHARES
सेवासुविधा माग गर्दै त्रिविका कर्मचारीले बुझाए ज्ञापनपत्र,दीक्षान्त समारोह प्रभावित पार्ने चेतावनी

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीले आफ्ना ४५ बुँदे माग पूरा नभए दीक्षान्त समारोह प्रभावित पार्ने चेतावनी दिएका छन्।

त्रिवि कर्मचारी संघले सोमबार कुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई ज्ञापनपत्र बुझाउँदै आगामी पुस २ गतेका लागि तय गरिएको ४९औँ दीक्षान्त समारोह प्रभावित पार्नेसम्मकाे चेतावनी दिएकाे हाे।

संघले निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाल र रजिष्ट्रार पेशल दाहाललाई ज्ञापनपत्र बुझाउँदै त्रिविमा कार्यरत प्राविधिक, नर्सिङ्ग तथा प्रशासनिक कर्मचारीको पेसागत माग पूरा गर्न आग्रह गरेको छ।

संघले विगतदेखि उठाएका जायज मागको कार्यान्वयनमा त्रिविले लिखित प्रतिबद्धता जनाएको र हालसम्म पनि पूरा नभएको ज्ञापनपत्रमा उल्लेख गरेको छ।

‘त्रिवि कर्मचारी संघसँग वार्ता, छलफल र सम्झौता गर्ने तर कार्यान्वयनमा इमान्दारिता नदेखिने परम्पराको निरन्तरताप्रति गम्भीर असन्तुष्टि जाहेर गर्दै खेद प्रकट गर्दछौं। लामो समयदेखि ज्यालादारी, करार सेवामा कार्यरत कर्मचारीको सेवा स्थायित्वको प्रकृया सुरु नहुनु, पदोन्नत्तिको अवसर सूचारु नहुनु, नियमित विज्ञापन नहुँदा जनशक्ति अभावमा विश्वविद्यालयको दैनिक प्रशासन संचालनमा समेत अवरोध सिर्जना हुनु र पछिल्लो समयमा कर्मचारीले खाइपाइ आरहेको प्रोत्साहन पारिश्रमिक सुविधासमेत पूर्ण रूपमा कटौती हुनुले आम कर्मचारीमा निराशा र अन्यौलता छाइरहेको छ साथै विश्वविद्यालयको लक्ष्य र उद्देश्य हासिल गर्न समेत बाधा पुगेको छ,’ संघका अध्यक्ष छत्रबहादुर कार्कीले त्रिवि शिक्षाध्य, रजिष्ट्रारसहितलाई बुझाएकाे ज्ञापनपत्रमा भनिएको छ।

आफूहरूसँग विगतमा भएका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाको यथावत् प्राप्तिको सुनिश्चितताका लागि तीन दिनभित्रमा ठोस निर्णय नआएमा त्रिविका सम्पूर्ण निकायमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्ण रूपमा ठप्प पार्दै त्रिविको दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने पर्ने संघले ज्ञापनपत्रमा जनाएको छ।

प्रकाशित: २१ मंसिर २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =