ओलीले संकेत गरेको गणतन्त्रविरोधी को?

रमेश भारती २० मंसिर २०८० १७:१९
116
SHARES
ओलीले संकेत गरेको गणतन्त्रविरोधी को? समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधबार नेकपा एमाले ढोरपाटन नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर स्रोत : ओलीको सचिवालय

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यति बेला  ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा छन्। मध्यपहाडी राजमार्गमा पर्ने जिल्ला यात्रामा निस्किएका अध्यक्ष ओलीले प्रमुख सहरहरूमा पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी हुँदै अघि बढिरहेका छन्। उनले अधिकांश कार्यक्रममा गणतन्त्रमाथि औँला उठाउनेविरुद्ध सबै राजनीतिक दल मिलेर लड्नुपर्ने भाषण गर्दै आएका छन्। उनले भन्ने गरेका छन्, ‘गणतन्त्र र व्यवस्थाविरुद्ध केही व्यक्तिले औँला ठड्याउन थालेका छन्। यसविरुद्ध अहिलेको अवस्थामा सबै राजनीतिक दल मिलेर लड्नुपर्छ।’

संकल्प यात्राका क्रममा ओलीले एमाले कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्दै आएका छन्। यसैगरी अन्य दलका नेताकार्यकर्तासँग पनि उनले भेटवार्ता गरिरहेका छन्। यस क्रममा डडेल्धुरा पुगेका बेला काठमाडौँमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेर कुराकानी गरेका थिए। ओलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका थिए।

ओली सरकार र राजावादीहरूमाथि धेरै खनिएका छन्। उनले प्रायः भाषणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नागरिक बचाउ महाअभियानको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको आलोचना गर्न छाड्दैनन्। प्रसाईको अगुवाइमा मंसिर ७ मा ललितपुरको बल्खुमा प्रदर्शन भएको थियो। सोही दिन एमाले निकट युवा संघले कार्यक्रम जुधाएको थियो। राप्रपा अध्यक्ष लिङ्देनले मंसिर ९ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई लागेर शक्ति प्रदर्शन गरेका थिए। प्रसाई र लिङ्देनका पछिल्ला गतिविधिप्रति एमाले अध्यक्ष ओली सन्तुष्ट छैनन्।

राप्रपा अध्यक्ष लिङ्देनले ओलीकै सहयोगमा गत वर्षको निर्वाचनमा झापा-३ बाट चुनाव जितेका थिए। लिङ्देन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री भएका थिए। ओलीले एमालेको केन्द्रीय सदस्य र उद्योग विभागको उपप्रमुख बनाएका मेडिकल व्यवसायी प्रसाईले एमाले छाडेका छन्।

ओलीले बुधबार रुकुमपूर्वमा आयोजित कार्यक्रममा देशको अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएको र त्यसविरुद्ध एमालेले मात्र आवाज उठाइरहेको बताएका थिए। उनले देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्त्व र नेपालको अहित चाहने देशबाहिरको तत्त्वविरुद्ध राजनीतिक दलले सामूहिक रूपमा मिलेर लड्नुपर्ने धारणा राखेका छन्। ओलीले अछाममा पनि यस्तै भाषण गरेका थिए।

‘राजनीतिक पार्टी गणतन्त्रका लागि ठूलो लगानी गरेर ल्याएका हौँ। यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ। नत्र देशको स्वाधीनतामा गर्व गर्ने ठाँउ हुँदैन’, ओलीले भने, ‘सरकारका कारण देशमा धेरै समस्या भइरहेको छ। सरकार मौन बस्दा व्यवस्था विरोधीले शिर उठाउन थाले। अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौँ।’ उनले नेपालको अहित चाहनेहरुविरुद्ध सचेत बन्न सबैलाई आग्रह गर्दै आएका छन्।

कार्यक्रममा ओलीले कुनै दल वा व्यक्तिको नाम भने लिएका छैनन्। तर राजसंस्था ब्युँत्याउने सपना बोकेर हिँडेका केही पार्टी र व्यक्ति सडकमा उप्रिन थालेको भन्दै उनी राजामाथि खनिएका छन्। देशमा राजावादीका नाममा अस्थिर र अराजक गतिविधि भइरहेको उनको भनाइ छ। सोही कारण राजनीतिक दलको जनविश्वास घट्दै गएको ओलीले बताउने गरेका छन्।

उनले भनेका छन्, ‘राजनीति निराशायुक्त छ। अहिलेको अवस्थाका बारेमा धेरै अवगत छौँ। अर्थतन्त्र अत्यन्तै अफ्ठेरो अवस्था पुगेको मात्र होइन। अझ बिग्रिरहेको छ। सरकारलाई वास्ता छैन। धेरै बेथिति रोक्नुपर्नेछ। यो अवस्था नियन्त्रण गर्ने एमाले अभियान चलाइरहेको हो।’ ओलीले हरेक दिन दोर्‍याउने भाषण यही हो।

यस्तै ओलीले सरकारले कर्मचारीमाथि हस्तक्षेप गरेको, अपराधीलाई कारबाही गर्न नसकिकेको, राज्यका तर्फबाट लज्जास्पद काम भइरहेको, न्यायालयमा सरकारको हस्तक्षेप भएको जस्ता आरोप लगाउँदै आएका छन्। व्यवस्थाविरोधी गतिविधिलाई सरकारले रोक्नुको सट्टा प्रोत्साहन गरिरहेको ओलीको टिप्पणी छ।

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई भने एमाले अध्यक्ष ओलीले व्यवस्थाविरोधी पार्टीको नेतृत्व गरिरहेको आरोप लगाउँछन्। ओलीसँग व्यवस्था सुधार्ने कुनै योजना नभएपछि जनता झुक्याउन संकल्प यात्राका नाममा गाउँगाउँ डुल्न थालेको टिप्पणी उनको छ। प्रसाईले हिमालप्रेससँग भने, ‘एमालेको यो कार्यक्रम ओलीको मुड फ्रेस गर्नका लागि मात्र गरेको हो। जनता सहभागी नभएकाले पनि यसको पुष्टि हुन्छ।’

एमाले युवा संघका अध्यक्ष क्षितिज थेबेले देशमा भइरहेको अवस्थाका बारेमा जनतालाई सचेत गराउन पूर्वपश्चिम संकल्प यात्रा कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, ‘ जनताले दुःख गरेर ल्याएको गणतन्त्रमाथि प्रश्न र शक्ति प्रदर्शन हुँदासमेत सरकार मौन बसेको कारण एमाले गणतन्त्र जोगाउन लागिपरेको हो।’

एमालेले गत बिहीबारदेखि मध्यपहाडी लोकमार्ग (झुलाघाट-चिवाभन्ज्याङ) यात्रा थालेको हो। संकल्प यात्राको पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा आरम्भ गरेका गरेका थिए। अभियान पाँचथरको चिवाभन्ज्याङ पुगेर ३० पुसमा सम्पन्न हुँदैछ। कार्यक्रम बागलुङ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =