नेपालको शिक्षा क्षेत्र र प्रणालीका विषयमा अनेक प्रश्न उठ्दै आएको छ। शिक्षा व्यावहारिक नभएको, काम र शिक्षा नजोडिएको, किताबी कुरा र परीक्षाप्रति मात्रै केन्द्रित भएको जानकारहरूको बुझाइ छ। यही कारण मुलुकका सबै विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ। समयमा परीक्षा सञ्चालन नगर्ने, क्यालेन्डरअनुसार नतिजा प्रकाशन गर्न नसक्ने हाम्रा विश्वविद्यालयको दीर्घ रोग नै हो।
सामयिक रूपमा पाठ्यक्रम परिवर्तन नहुनु अर्को गम्भीर रोग बनेको छ। विद्यालयको नियमन गर्ने निकाय र विश्वविद्यालय चलाउने संयन्त्रमा दलहरूले आफ्ना आसेपासेलाई भर्ना गर्न थालेको दशकौँ बितिसक्यो।

विद्यार्थीको हकहित र शिक्षा सुधारका लागि बनाइएका भनेका राजनीतिक दलका विद्यार्थी संगठन पनि स्वार्थभन्दा माथि उठ्न सकेका छैनन्। प्रशासनसँगको मिलिभगतमा कमिसन खाने र ठेक्का पट्टाजस्ता व्यापारिक काममा उनीहरू रमाएका छन्। कथं कुरा नमिले तालबन्दी गरेर शिक्षालाई नै बन्धक बनाउने र नाराबाजी गर्ने विद्यार्थी संगठनको नियमित काम भएको छ।
विद्यालय शिक्षाको अवस्था पनि नाजुक छ। सरकारले ठूलो लगानी र मिहिनेतका साथ चलाइरहेका विद्यालयमा विद्यार्थी नगन्य छन्। जबकि निजी क्षेत्रका विद्यालयमा विद्यार्थीको घुइँचो छ । यो सबै हुनुमा मुलुकको राजनीति प्रमुख कारण हो।
यो कुराकानीमा शिक्षाक्षेत्रका यस्तै बहुआयमिक पाटो केलाउने प्रयास गरिएको छ। कार्यक्रमको अतिथि हुन्- २३ वर्षदेखि अध्यापनमा संलग्न ललितपुरको नाइटिङ्गेल स्कुलका भाइस प्रिन्सिपल जितेन्द्रबहादुर ठकुरी।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 