राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका चार नेताको दाबी

हिमाल प्रेस २० मंसिर २०८० १२:४९
200
SHARES
राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका चार नेताको दाबी

काठमाडौँ- नेपाली कांग्रेसबाट राष्ट्रियसभा अध्यक्ष पदमा चार जनाले दाबी गरेका छन्। नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, फरमुल्ला मन्सुर र आनन्दप्रसाद ढुंगानाले दाबी गरेका हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत २० जना सदस्यको पदावधि फागुन २० मा सकिँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रियसभा सदस्यको चुनावी कार्यक्रमअनुसार माघ ११ गते मतदान हुनेछ। सदस्यको चुनावपछि मात्रै अध्यक्ष चुन्ने प्रक्रिया सुरु हुनेछ। कांग्रेस नेताहरूले पनि अध्यक्षका लागि अहिल्यैदेखि नै लबिङ थालेका हुन्। अध्यक्षका लागि दाबी गरेका नेताहरू पहिला राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुपर्नेछ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको ६ वर्षे कार्यकाल फागुन २० मा सकिने भएकाले नयाँ आउने सदस्यलाई सभाका ज्येष्ठ सदस्यबाट पद तथा गोपनीयताको शपथ गराइनेछ। शपथग्रहण गरेपछि नयाँ अध्यक्षका लागि निर्वाचन गरिनेछ।

संसद्को ठूलो पार्टी भएकाले कांग्रेसले आफूले अध्यक्ष पाउनुपर्ने दाबी गरिरहेको छ। त्यसमा गठबन्धन सरकारमा आबद्ध दल माओवादी केन्द्र र एकीकृत समाजवादी सकारात्मक देखिएपछि नेताहरू दौडधुपमा लागेका हुन्।

राष्ट्रियसभा अध्यक्षका दाबेदारमध्ये एक हुन् कृष्णप्रसाद सिटौला। नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला पूर्वउपप्रधानमन्त्री पनि हुन्। कुनै बेला पार्टीमा गुटेको नेतृत्व गर्दै आएका सिटौला अहिले त्यति सक्रिय छैनन्।

सिटौला २०७९ सालको संघीय संसद्को निर्वाचनमा झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। कांग्रेसका एक पदाधिकारीले भने, ‘सभापतिज्यू सिटौलालाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्छ। तर अन्य नेताले भने उहाँलाई अध्यक्ष बनाउन नहुने अडान लिइरहेका छन्।’

यसैगरी राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसबाट दाबी गर्ने अर्का नेता हुन् गोपालमान श्रेष्ठ। श्रेष्ठ सभापति देउवालाई लामो समयदेखि साथ दिँदै आएका नेता हुन्। उनी २०७९ सालको चुनावमा कांग्रेसको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय परिचालन समितिका संयोजक थिए। नेपाली कांग्रेस प्रजातान्त्रिक छँदा सभापति देउवालाई शाही कालमा गिरफ्तार गरिएका बेला श्रेष्ठ कार्यवाहक सभापति थिए।

माओवादी र तत्कालीन सात दलबीच भएको १२ बुँदे समझदारीमा श्रेष्ठले हस्ताक्षर गरेका छन्। कांग्रेसको संगठन विभाग प्रमुख रहिसकेका श्रेष्ठ पटकपटक मन्त्री भएका छन्।

सभापति देउवा सकेसम्म सिटौलालाई अध्यक्ष बनाउने र नभए श्रेष्ठलाई दिने पक्षमा रहेको कांग्रेसका ती नेताले बताए। ‘श्रेष्ठ त सभापतिज्यूको लामो समयदेखिको सहकर्मी हुनुहुन्छ। सभापतिको चाहना सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाएर पार्टीमा सन्तुलन मिलाउने भन्ने छ। तर अन्य नेताहरू सिटौलालाई अध्यक्ष बनाउने पक्षमा हुनुहुन्न।’ सिटौलालाई अध्यक्ष बनाउन पाएमा कांग्रेसमा रहेको उनको गुट झन् कमजोर हुने बुझाइ देउवाको रहेको ती नेताले बताए।

डा. शेखर कोइराला समूह भने मन्सुरलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने पक्षमा छ। मुस्लिम समुदायका भएकाले पनि उनलाई अघि बढाउनुपर्ने प्रस्ताव गरिएको कोइराला निकट एक नेताले बताए। ती नेताले भने, ‘मन्सुरलाई राष्ट्रियसभामा लैजाने निश्चित छ। हामी उहाँलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा छौँ।’ मन्सुर मुस्लिम समुदायबाट नेपाली कांग्रेसमा निर्वाचित सहमहामन्त्री हुन्। २०४८ पछि बाराबाट चुनाव लड्दै आएका मन्सुर पूर्वमन्त्री पनि हुन्।

यसैगरी राष्ट्रियसभा अध्यक्षका लागि दाबी गर्ने आनन्दप्रसाद ढुंगाना कांग्रेसका पुराना नेता हुन्। श्रेष्ठ र ढुंगानाले २०७९ सालमा चुनाव लडेका थिएनन्। उनीहरू दुवैजना समानुपातिक सूचीमा थिए।

प्रदेशगत आधारमा फागुन २० गते पदावधि सकिनेमा कोशीका दुई, मधेशका दुई, बागमतीका चार, गण्डकीका तीन, लुम्बिनीका दुई, कर्णालीका तीन, सुदूरपश्चिमका तीन छन्। त्यस्तै स्वतन्त्र सांसद डा. खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत डा. विमला राई पौड्यालको पदावधि पनि फागुन २० गते सकिँदैछ। १९ सदस्यका लागि चुनाव हुनेछ भने रिक्त हुने मनोनीत कोटामा राष्ट्रपतिबाट मनोनयन गरिनेछ।

पदावधि सकिने सांसदमा कांग्रेसका चारजना छन्। जसमा लुम्बिनी प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित अनिता देवकोटा, मधेश प्रदेश अन्य समूहबाट निर्वाचित जितेन्द्रनारायण देव, गण्डकी प्रदेशबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहबाट निर्वाचित प्रकाश पन्थ र कोशी प्रदेश अन्य समूहबाट निर्वाचित रमेशजंग रायमाझी छन्।

एमालेबाट निर्वाचित आठ सांसदको पदावधि सकिँदै छ। तिमिल्सिना गण्डकी प्रदेश अन्य समूहबाट निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित इन्दु कडरिया र लुम्बिनी प्रदेशबाट अन्य समूहको कोटामा उपनिर्वाचनबाट निर्वाचित कुमार दसौदीको पनि पदावधि सकिँदैछ।

पदावधि सकिने एमाले सांसदमा गण्डकी प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित दीपा गुरुङ, बागमती प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित दिलकुमारी रावल थापा (पार्वती), कर्णाली प्रदेशबाट दलित समूहको कोटामा निर्वाचित नरपति लुवार, कर्णाली प्रदेशबाट अन्य समूहको कोटामा निर्वाचित भैरवसुन्दर श्रेष्ठ, बागमती प्रदेश अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको कोटाबाट निर्वाचित रामचन्द्र राई छन्।

पदावधि सकिने माओवादी केन्द्रका तीनजना सांसदमा सुदूरपश्चिम प्रदेशबाट अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको कोटाबाट निर्वाचित महेशकुमार महरा, कोशीबाट महिला समूहको कोटामा निर्वाचित विना पोखरेल र सुदूरपश्चिमबाट अन्य समूहको कोटामा निर्वाचित हरिराम चौधरी छन्।

नेकपा एकीकृत समाजवादीका नन्दा चपाई (कर्णाली प्रदेशबाट महिला समूह कोटाबाट निर्वाचित) र सिंहबहादुर विश्वकर्मा (बागमती प्रदेशबाट दलित समूहको कोटामा निर्वाचित) को पदावधि पनि फागुन २० मा सकिँदैछ।

जनता समाजवादी पार्टीकी प्रमिला कुमारीको पदावधि पनि सकिँदै छ। उनी मधेश प्रदेशबाट महिला समूहको कोटामा निर्वाचित भएकी हुन्।

पदावधि सकिन लागेका स्वतन्त्र सांसद डा. देवकोटा बागमती प्रदेशबाट निर्वाचित भएका हुन्। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापालाई पार्टीले कारबाही गरेपछि रिक्त पदमा देवकोटा निर्वाचित भएका थिए। संविधानको व्यवस्थाबमोजिम राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिँदै छ।

प्रकाशित: २० मंसिर २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =