त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट

हिमाल प्रेस २० मंसिर २०८० ७:२९
6
SHARES
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ प्रतिस्पर्धाबाट फाइल तस्बिर।

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन गरेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ग्राउन्ड ह्यान्डलिङको बोलपत्र प्रयोजनको तयारीका लागि प्राधिकरणका इलेक्ट्रोमेकानिकल विभाग प्रमुख सुनीलकुमार कुशवाहाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए।

उनले भने, ‘प्राधिकरणले पहिलो पटक विश्वका ठूला एयरलाइन्सले समेत भाग लिन पाउने गरी खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने तयारी गरेको छ। ग्राउन्ड ह्यान्डलिङमा दिँदा प्राविधिक र आर्थिक ढाँचा कस्तो हुने भन्नेबारे समितिले अध्ययन गर्ने छ।’

समितिले खुला प्रतिस्पर्धाका माध्यमबाट ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउन सेवा प्रदायक संस्थाको छनोट गर्ने प्रयोजनका लागि बोलपत्रसम्बन्धी कागजातसमेत तयार पार्ने उनले बताए।

प्राधिकरणले विमानस्थल सेवा शुल्क, २०७८ नियम ५(२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा छनोट गर्ने निर्णय गरेको उनले जानकारी दिए।

विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमले व्यावसायिक उडानभन्दा ग्राउन्ड ह्यान्डलिङलाई मात्रै आम्दानीको मुख्य स्रोत बनाएपछि प्राधिकरणले प्रतिस्पर्धा गराउने निर्णय गरेको बताइएको छ।

हाल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको छ।

निगम र प्राधिकरणबीच सन् २०२० को जनवरीमा भएको सहमतिअनुसार सन् २०२५ को जनवरी अन्त्यसम्म निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको छ।

हाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा उक्त निर्णय गरिएको र पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भने हाललाई निगमले नै जिम्मेवारी दिइने प्राधिकरणले जनाएको छ । निगमले सन् २०१६ देखि आफ्नो सेवालाई अन्तर्रष्ट्रियस्तरको सेवामा मापन गर्दै आएको छ । निगमले भने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) र अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा) को मापदण्ड अनुसारको ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको दाबी गर्दै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा झन्डै एक हजार कर्मचारी कार्यरत छन्। विमानस्थलमा उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ गरेको भन्दै निगमले २०७४ सालमै अन्तर्राष्ट्रियस्तरको आइएटिएच सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन (आईसागो) प्रमाणपत्रसमेत प्राप्त गरेको थियो। आइसागो विश्वका ग्राउन्ड ह्यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई दिइने सर्टिफिकेट हो। गोरखापत्र दैनिकबाट

प्रकाशित: २० मंसिर २०८० ७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =