तीन विधामा २०८० सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

हिमाल प्रेस १७ मंसिर २०८० १२:५५
76
SHARES
तीन विधामा २०८० सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

काठमाडौँ- ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ को उपलक्ष्यमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार घोषणा गरिएको हो।

अपाङ्गताप्रति नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणामा परिवर्तन ल्याइ समता, सहअस्तित्व र सहकार्यको उद्देश्यसहित डा.कमल लामिछानेले २०७७ सालमा यो पुरस्कार स्थापना गरेका हुन्।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणको आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको छ।

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानिएको छ।

विद्यार्थीले छनोट गरेअनुसार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयका शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गर्ने घोषणा भएको छ।

अन्तर्दृष्टि हातेमालो पुरस्कार दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी छनोट गरेअनुसार गोरखाकै अमरज्योति माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई प्रदान गरिने छ।

पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गर्ने पत्रकार यसका लागि योग्य मानिएको छ।

समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गरिने भएको छ।

प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार रुपैयाँ, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार रुपैयाँ र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १० हजार रुपैयाँ छ। पुरस्कार आगामी वसन्त पञ्चमीका दिन प्रदान गरिने छ।

प्रकाशित: १७ मंसिर २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =