कांग्रेस लुम्बिनी सम्मेलन

कार्यकर्ता तहसम्म गुटबन्दी, नेताहरूलाई चाहिँ व्यवस्था जोगाउने चिन्ता

विनोद परियार १६ मंसिर २०८० २२:०५
78
SHARES
कार्यकर्ता तहसम्म गुटबन्दी, नेताहरूलाई चाहिँ व्यवस्था जोगाउने चिन्ता नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनको बुटवलमा शनिबार उद्घाटन समारोहमा सहभागी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू। तस्बिर : रासस

लुम्बिनी– नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन शनिबार सुरु भएको छ। केही दिनअघि काठमाडौँमा राजावादी समर्थनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आन्दोलन गरेपछि गणतन्त्रवादी दलहरूले समेत आफ्नो सम्मेलन र कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा अघि बढाएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनीको प्रथम सम्मेलन उद्घाटन समारोहमा पनि कांग्रेस कार्यकर्ताहरूको ठूलै समूह सहभागी बन्यो।

१२ वटै जिल्लाबाट प्रतिनिधि सहसभागी प्रदेश सम्मेलनमा प्रदेशदेखि केन्द्रीय नेताहरूको बाक्लै उपस्थिति थियो। पार्टीभित्र देखिएको दुई गुट देउवा र कोइराला गुट दुवैको करिबकरिब समान उपस्थिति थियो। शीर्ष नेताहरूले भाषणमा गुट अन्त्य गर्नुपर्ने तर्क गरे पनि कार्यकर्ता तहसम्म गुटमा विभाजित देखिन्थे। आफू निकटका नेताहरू बोल्दा उत्साही र अर्को पक्षका नेता बोल्दा बेवास्ता गरेको देखिन्थ्यो। नेताहरूको चिन्ताचाहिँ गणतन्त्र जोगाउनेमा थियो।

यसअघि गुल्मी र अर्घाखाँचीमा भएको कांग्रेसको जिल्ला सम्मेलनमा समेत कांग्रेसले शक्ति देखाएको थियो। कांग्रेसको प्रदेश सम्मेलन मुलुक संघीयतामा गएपछि पहिलोपटक गरिएको हो। संघीयताप्रति प्रश्न उठिरहेका बेला कांग्रेसले शक्ति प्रदर्शनसहित जिल्ला र प्रदेश सम्मेलन गरिरहेको छ।

कांग्रेस लुम्बिनीको सम्मेलन उद्घाटन समारोहमा कांग्रेसका नेताहरूले थरीथरीका आवाज उठाए। पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी बलियो बनाउने र पार्टीभित्र रहेको गुटउपगुटका सन्दर्भमा नेताहरूले उठाएको सवालतर्फ संकेत गर्दै आफू धेरै नबोल्ने तर काम गर्ने बताए। करिब ४ घण्टा मञ्चमा बसेका देउवाले निकै छोटो भाषण गरे। उनले अन्य नेताले जसरी संघीयता, धर्मनिरपेक्षता र व्यवस्थाका विषयमा मुखै खोलेनन्।

देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गर्दै मन्तव्य टुंग्याएका थिए। वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माभन्दा अगाडि बोलेर देउवा कार्यक्रमस्थलबाट निस्किएका थिए। महामन्त्रीद्वयले मञ्चमै रहेका बेला सभापतिको आलोचना गर्न पाएनन्।

देउवा निस्किए पनि उद्घाटन समारोह भने साँझ ६ बजेसम्म चल्यो। वरिष्ठ नेता कोइराला, महामन्त्रीद्वय थापा र शर्माले २०८४ मा कांग्रेस एक्लै चुनाव लड्ने बताए। तीनै नेताले कांग्रेस एक्लै चुनाव लड्ने गरी तयारीमा जुट्न कार्यकर्तालाई अपिल गरे। देउवाले यस विषयमा केही बोलेका थिएनन्।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधानले नै दुई पटकभन्दा बढी सभापति हुन नपाउने व्यवस्था गरेको भन्दै कांग्रेसमा रहेको गुट अन्त्य गर्न नेतृत्वले सुधार गर्नुपर्ने बताएपछि देउवाले अब भाषण नभई काम गर्न आग्रह गरे। ‘उहाँ जहिल्यै पनि वादविवाद गर्ने नै हो। उहाँ भाषण गर्नुहुन्छ थाहा छ। काम गर्ने बेला आएको छ। भाषणभन्दा बढी काम गर्नुपर्छ’, देउवाले भने।

वरिष्ठ नेता कोइरालाले भने सुरुदेखि नै पार्टीको चिन्ता गर्दै कांग्रेस आफ्नै शक्तिमा उभिनुपर्ने तर्क गरे। उनले मंसिर २०८२ भित्रै कांग्रेसको अधिवेशन गर्नुपर्ने बताउँदै त्यही नयाँ नेतृत्वले २०८४ को निर्वाचनमा बहुमत ल्याउन सक्ने बताए।

‘म त पहिल्यैदेखि कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने मान्छे हुँ’, कोइरालाले भने, ‘कांग्रेस एक्लै चुनावमा होमिन्छ। नेपाली कांग्रेस परिवर्तन भएमा मात्रै देश परिवर्तन हुने बताउँदै कोइरालाले उग्र महत्त्वाकांक्षा र आचरण त्याग्नसमेत कार्यकर्तालाई आग्रह गरे।

डा. कोइराला बैंकका विषयमा भने कडा रूपमा प्रस्तुत भए। उनले बैंकका लगानीकर्ता र उद्योगी व्यपारी एउटै घरानाको हुँदा समस्या भएको बताए। बैंक नै ठूलो मिटरब्याजी रहेको आरोप उनको छ।

राजसंस्था र हिन्दु राष्ट्रका विषयमा सभापति देउवा र वरिष्ठ नेता कोइराला दुवैले बोलेनन। महामन्त्रीद्वय थापा र शर्माले भने गणतन्त्र, संघीयता र कांग्रेसभित्रको गुटबन्दीका विषयमा कार्यकर्तालाई प्रशिक्षण नै दिएका थिए।

महामन्त्रीद्वयले पार्टी सभापतिको आलोचना गरे। उनीहरूले कांग्रेसले आगामी निर्वाचन एक्लै लड्ने गरी तयारीमा जुट्न कार्यकर्तालाई निर्देशनसमेत दिए। पार्टी सभापतिलाई अब लोभ त्याग्न सुझाव दिँदै थापाले कांग्रेसलाई संकटमोचन गर्ने शक्तिका रूपमा फेरि पनि उभ्याउनुपर्ने अवस्था आएको बताए। उनले पार्टीभित्र टिकटकै कारण गुटहरू जन्मिएको बताउँदै अब चुनावमा टिकट पार्टी सभापतिले नभई पार्टीका क्षेत्रीय, नगर÷गाउँ, जिल्ला, प्रदेशले दिनुपर्ने बताए।

महामन्त्री थापाले राजावादी सलबलाएकोमा आक्रोश व्यक्त गर्दै गौँडा ढुकेर बसेका राजवादीलाई कामले नै लाइनमा ल्याउनुपर्ने बताए। कांग्रेसले नेतृत्व गरेको मन्त्रालय, स्थानीय तह र वडामा ८४ मा झुकेर नभई छाती फुलाएर भोट माग्न सक्ने गरी काम गरे राजावादीहरू लाइनमा आउने भनाइ थापाको छ।

गणतन्त्र, संविधान र संघीयताका बारेमा धेरै भ्रम रहेको बताउँदै थापाले कांग्रेस कार्यकर्ताहरूले त्यसलाई चिर्नुपर्ने बताए। थापाले प्रदेश महँगो नभएको पनि दाबी गरे। उनले भने, ‘७५ जिल्ला १४ अञ्चलभन्दा ७७ जिल्ला र ७ प्रदेश खर्चिलो हुँदैन। हामीले लोभ मात्रै त्यागौँ। प्रदेशको औचित्य पुष्टि हुन्छ।’

संघीयतालाई नेताहरूले नै पंगु बनाएको, निर्वाचन प्रणालीलाई देखाएर भ्रम फैलाइएकोमा थापाले आपत्ति जनाए। अर्का महामन्त्री शर्माले राजाको शासनमा भन्दा लोकतान्तिक गणतन्त्रमा धेरै उपलब्धि भएको दृष्टान्त पेस गरे। ‘महाराजाधिराजले शासन गरेर छोड्दै गर्दा ३० प्रतिशत मात्रै घरमा पानी पुगेको थियो। मरुभूमिजस्तो मानिसको आँगनमा धारा पुग्यो। पुर्‍याउने काम हामीले नै गर्‍यौँ’, शर्माले भने, ‘पञ्चायतमा २२७ मेगावाट मात्रै थियो, तर गणतन्त्रमा २ हजार ६६६ मेगावाट बिजुली उत्पादन भएको छ।’

उनले गणतन्त्रमा कतिपय कुरा कमजोरी भए पनि जनताको जीवनमा परिवर्तन भइरहेको दाबी गरे। ‘देश बनेको छैन, केही भएन भन्नेहरू होसियार!’ महामन्त्री शर्माले भने, ‘भगवान् गौतम बुद्धको आशीर्वाद प्राप्त देश हो। अब कांग्रेस कार्यकर्ताहरूले हामीले बनाउने हो भन्ने अभियान चलाउनुपर्छ।’ उनले मिसन ८४ भनेर नेताहरूले गलत गरेको बताए।

‘संविधान बनाउनुपर्ने छैन, हिंसा अन्त्य गर्नुपर्ने छैन, ८४ मा हुने भनेको निर्वाचन हो’, शर्माले भने, ‘विद्यार्थीले परीक्षाको होइन, पढाइको चिन्ता गर्नुपर्छ, मिसन ८४ भन्ने पुराना केपी ओली र नयाँ रवि लामिछानेलाई शुभकामना छ अरू भन्नु केही छैन।’ शर्माले पनि कांग्रेस अब एक्लै निर्वाचन लड्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले दैनिक दैनिक रूपमा हजारौँ युवा विदेश पलायन भइरहेको सन्दर्भ उल्लेख गर्दै राजनीतिको भ्याक्सिन दिने डाक्टर आवश्यक रहेको बताए।

नेता भण्डारीले पार्टी सभापति देउवा अब अन्तिमपटक सभापति भएको स्मरण गर्दै पार्टीभित्र गुटकै कारण समस्या निम्तिएको बताए। ‘आज गुल्मी, अर्घाखाँचीमा हजारौँ कार्यकर्ता सम्मेलनमा छन्। बुटवलमा पनि हजारौँ सहभागी छन्। हामी चुनाव किन हार्‍यौँ?’ उनले भने।

कार्यक्रममा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य पुष्पा भुसाल, दीपक गिरी, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीलगायतले कांग्रेसको शक्ति एकत्रित गर्न सुझाव दिए। लुम्बिनीका मुख्यमन्त्रीले केन्द्रले प्रदेशलाई संविधानले दिएको अधिकार पनि उपभोग गर्न नदिएकोमा नेतृत्वको ध्यानाकर्षण गराए।

कांग्रेस लुम्बिनीका पार्टी सभापति अमरसिंह पुन कोइराला निकट मानिन्छन्। यद्यपि दुवै पक्षका नेताहरूलाई उनले सहभागिता गराए। त्यति मात्रै होइन, नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेता बालकृष्ण खाणलाई सम्मान गरेर कांग्रेस लुम्बिनीले नेताहरूलाई अलमलमा पारेको छ। नेता खाण अनुपस्थित रहेको र प्रदेशको अभिभावक भएको भन्दै खाणको सम्मान सभापति देउवाले कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणलाई प्रदान गरे। खाणलाई सम्मान गरिएको विषयमा नेताहरू अलमलमा परेका थिए।

नेताहरूले लुम्बिनी प्रदेश सम्मेलनमा भूकम्प प्रभवित कर्णालीका बारेमा केही सन्देश दिनसमेत अपिल गरेका थिए। कांग्रेसको जीवनमा प्रदेशको प्रथम सम्मेलन भएकाले बन्दसत्रको छलफलबाट हुने निर्णय अन्य प्रदेशका लागि समेत सिकाइ हुन सक्ने जानकारहरू बताउँछन्। लुम्बिनी सम्मेलन आइतबार सकिनेछ।

प्रकाशित: १६ मंसिर २०८० २२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =