प्रतिभा

साउन्ड इन्जिनियर किशोर

संगीता श्रेष्ठ १६ मंसिर २०८० १६:२०
204
SHARES
साउन्ड इन्जिनियर किशोर साउन्ड इन्जिनियर किशोर आचार्य।

संगीतमा शक्ति हुन्छ। अद्भुत शक्ति। जसले उदास मनलाई खुसी बनाउन सक्छ। अशान्त मनलाई शान्त बनाउन सक्छ। कसैलाई भविष्य बनाउन मद्दत गर्न सक्छ। कसैको भविष्यको बाटो कोरिदिन सक्छ संगीतले।

त्यही संगीतका कारण आज नेपाली साउन्ड डिजाइनरका रूपमा चर्चित छन्, किशोर आचार्य। ३६ वर्षीय उनी संगीतले आफूलाई यस क्षेत्रमा डोर्‍याएको बताउँछन्। ‘बुबा संगीतप्रेमी हुनुहुन्थ्यो,’ उनी सुनाउँछन्, ‘घरको वातावरण सांगीतिक थियो। घरमा गीत खूब बज्थे। रेडियोसँगै क्यासेटमा पनि। त्यही गीतसंगीतले साउन्डप्रति लगाव बढायो।’
बुटवलमा जन्मिएका किशोर एकदुई वर्षको उमेरमै भारत, सिलोङ पुगे परिवारसहित। बुबाको कोइलाखानीको व्यवसाय थियो। कामको सिलसिलामा त्यहाँ पुगेका बुबाले परिवार पनि उतै लगे। जन्म नेपालमा भए पनि किशोर भारतमा हुर्किए।

‘हामीजस्ता नेपाली थुप्रै बस्थे त्यहाँ,’ उनी सम्झिन्छन्, ‘नेपाली गीत सुन्ने, नेपाली फिल्म हेर्ने गर्थ्यौँ। देउसीभैलो पनि खेल्थ्यौँ।’ घरमा हिन्दी गीतसँगै नेपाली गीत पनि उत्तिकै बज्थे। नेपाली गीतका क्यासेट नेपालबाट झिकाइन्थे। आधुनिक नेपाली गीतसँगै लोकदोहोरी पनि घन्किन्थे घरमा। नेपाली गीतसंगीतले नेपाल र नेपालीप्रति माया त पलायो नै साउन्ड अर्थात् आवाजप्रति जिज्ञासा पनि जगायो।

‘साउन्ड कसरी आउँछ?’ उनलाई पछ्याइरहने प्रश्न बन्यो।  स्कुले शिक्षा उतै प्राप्त गरेका आचार्य पढाइ, खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि अब्बल थिए। सधैँ अघि सर्थे। कक्षा आठ-नौमा पुगेपछि संगीतप्रतिको प्रेम झन्झन् बलियो हुँदै गयो।

‘संगीतप्रति माया हरेक दिन बढ्दै थियो,’ उनी भन्छन्, ‘किनभने त्यसमा साउन्ड थियो। तर सानोदेखि गीतसंगीत सुनेँ मात्र। त्यससम्बन्धी कुनै तालिम लिएको थिइनँ। त्यसैले न गायक बन्न सक्थेँ, न संगीतकार।’

संगीतको मोहले छोड्दै नछोडेपछि किशोरका आँखा परे क्यासेटमा। क्यासेटपछाडि लेखिएको ‘साउन्ड इन्जिनियर’ मा उनका आँखा अडिए। त्यो शब्दले उनको ध्यान तान्यो। ‘उतिखेर अहिलेजस्तो घरमै इन्टरनेट थिएन,’ उनी सम्झिन्छन्, ‘दौडिँदै साइबर पुगेँ। सर्च गरेँ। जानकारी लिएँ।’

त्यसबारे धेरै बुझ्न नसके पनि साउन्ड इन्जिनियर बन्न प्लस टूमा विज्ञान विषय लिएको हुनुपर्ने रहेछ। यो प्राविधिक विषय भएको भनी बुझेका थिए। ‘यी कुरासँगै सरकारी कलेजमा पढेको हुनुपर्ने रहेछ,’ उनी भन्छन्, ‘त्यसैले सरकारी कलेजबाट प्लस टू साइन्स लिएर पढेँ।’

कक्षा १२ पछि डा. भूपेन हजारिका रिजनल गभर्मेन्ट फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट अडियो र साउन्डमा स्नातक गरे। ‘सुरुको ६ महिना त गाह्रै भयो, कहाँ आइपुगेँ भन्ने लाग्थ्यो,’ किशोर त्यो बेला सम्झिन्छन्, ‘स्टुडियो टाढाबाट मात्रै हेर्न पाइन्थ्यो। छिर्न पाइँदैनथ्यो।’

कलेजमा समय बित्दै गयो। बिस्तारै साउन्ड डिपार्टमेन्टबारे बुझ्दै गए। त्यसपछि पढाइ र कलेजमा रमाउन थाले। ‘सिंक साउन्ड’ तिर आकर्षित भए। ‘यसमा सुटमै साउन्ड रेकर्ड हुन्छ,’ उनी भन्छन्, ‘पछि रेकर्ड गर्ने झन्झट हुँदैन। डब गर्दा सुटिङकै बेलाको भाव आवाजमा नआउन पनि सक्छ। साउन्ड दुरुस्तै हुन सिंक साउन्ड ठीक हो।’

त्यसबारे अझै विस्तृत बुझन् मुम्बई जाने निधो गरे। पढ्दापढ्दै ‘प्य्राक्टिस गर्नुपर्छ’ भन्ने लागेर उनी मुम्बई हानिए। त्यहाँ दुई वर्ष बसे। काम सिके। थुप्रै हिन्दी फिल्ममा सहायक भएर काम गरे। ‘वार छोड ना यार’, ‘अब तक छप्पन’, ‘वान्स अपन अ टाइम इन मुम्बई दोबारा’ लगायत फिल्ममा साउन्डसम्बन्धी काम गरे। ‘काम गरे पनि त्यहाँ क्रेडिटचाहिँ पाइएन,’ उनी सुनाउँछन्, ‘त्यसलाई सिक्ने अवसरका रूपमा मात्र लिएँ।’

हलिउड, बलिउडले उहिल्यैदेखि प्रयोग गर्दै आएको सिंक साउन्ड नेपाली फिल्ममा प्रयोग गर्ने चाहना थियो मनमा। नेपाली फिल्ममा साउन्डको काम गर्दै आएका उत्तम न्यौपानेसँग सामाजिक सञ्जालमार्फत चिनजान भयो। कुराकानी अगाडि बढ्यो। सन् २०११ मा फिल्म ‘भिजागर्ल’ मा सिंक साउन्ड गर्न नेपाल आए। त्यसपछि नेपाल आउने र जाने क्रम बढ्यो।

सन् २०१४ मा भाष्कर ढुंगानाको फिल्म ‘सुन्तली’ का लागि अवसर पाए। कामका लागि नेपाल आए पनि यहाँ पूरा भने गर्न सकेनन्। त्यसका लागि मुम्बई ताक्नुपर्‍यो। उतै लगेर फिल्मको काम सकाए। ‘सुन्तली’ ले नेपालमा काम गर्ने वातावरण बनाइदियो। भाष्कर ढुंगानाले नवीन सुब्बासँग चिनाइदिए। उनीसँग ‘गुडबाई काठमाडौँ’ गरे। सुब्बाले छिरिङ रितार शेर्पासँग परिचय गराए। उनीसँग ‘सिंहदरबार’ सिरिज गरे। शेर्पाले दीपक रौनियारलाई भेटाइदिए। ‘सेतो सूर्य’मा काम पाए। एकपछि अर्को गर्दै चिनापरिचयको कडी जोडिँदै गए। बिस्तारै नेपालमै बस्ने अवस्था बन्यो।

महोत्सवतिर देखाइने फिल्ममा सिंक साउन्ड गर्न भ्याइनभ्याई भयो। यो पाटो समेटिए पनि अर्को पाटो छुटेको महसुस भयो। ‘ग्लोबल सिनेमाका लागि बनाइने यी फिल्मले काम, अनुभव, प्रसिद्धि दिलाए,’ उनी भन्छन्, ‘तर मासलाई समेट्ने फिल्म त कमर्सियल हुन्। त्यता पनि काम गर्नुपर्छ भन्ने लाग्यो।’

‘रेशम फिलिली’ मा साउन्ड डिजाइनर भएर काम गरे। फिल्मले खासै राम्रो गर्न सकेन। उनले पनि राम्रो प्रतिक्रिया पाउन सकेनन्। ‘महोत्सवका लागि बनेका फिल्ममा फिल्मकर्मीले क्राफ्टमा निकै काम गरेका हुन्छन्,’ किशोर भन्छन्, ‘मेहनत र समयको लगानी पनि उत्तिकै हुन्छ। त्यसैले अन्तर्राष्ट्रिय स्तरमा ती फिल्मले नाम कमाउने अवसर दिलाउँछन्।’ उनी साउन्ड डिजाइनर भएर काम गरेका धेरै फिल्मले विभिन्न ठूलठूला अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भाग लिइसकेका छन्।

पछिल्लो समय क्राफ्टमा ध्यान दिने फिल्मसँगै मासका लागि बन्ने फिल्ममा पनि काम गर्ने उद्देश्यले किशोर लागिपरेका छन्। ‘ग्लोबल सिनेमा बुझेका निर्माता, निर्देशक, फिल्मकर्मीले त सिंक साउन्डलाई स्विकारिसकेका छन्,’ उनी सुनाउँछन्, ‘उनीहरूसँग काम गर्न सजिलो पनि भएको छ। बुझ्न बाँकी रहेकालाई पनि बुझाउनुपर्छ भन्ने लागेको छ।’ त्यसकै लागि उनले काम गरिरहेका छन्।

‘ऐना झ्यालको पुतली’ ‘महानगर : वान नाइट इन काठमाडौँ’, ‘गाउँ जाने बाटो’, ‘पानीफोटो’ लगायत थुप्रै फिल्ममा साउन्ड डिजाइनर भएर काम गरिसकेका छन्। फिल्म ‘पानीफोटो’मा अभिनेता, निर्माता/निर्देशक खगेन्द्र लामिछानेसँग काम गर्ने अवसर पाए। सुटिङका क्रममा फिल्मको टोलीसँग तीनचार महिना बिताएका थिए। टोलीसँगै हिँडेका थिए। ‘त्यसरी फिल्मको टोलीसँग सुटमै जान पाउँदा भनेकोजस्तै काम गर्न सकिन्छ,’ उनी भन्छन्, ‘फिल्ममा आफूले चाहेकोजस्तै साउन्ड आउँछ।’

कात्तिक ४ मा प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा पनि उनी नै साउन्ड डिजाइनर हुन्। ‘पानीफोटो’को कामबाट खुसी भएर खगेन्द्र लामिछानेले ‘भष्मे डन’मा पनि सिंक साउन्ड गर्ने योजना बनाए। तर निर्देशक दीपेन्द्र के खनाल सुरुमा सहमत थिएनन्। ‘पशुपति क्षेत्रजस्तो होहल्ला हुने ठाउँमा पनि यसले काम गर्ला त भन्ने थियो,’ उनी भन्छन्, ‘तर खगेन्द्र दाइले उहाँलाई कन्भिन्स्ड गर्नुभयो। एकपटक गरी हेर्ने सहमति भयो।’

निर्देशक खनाल कामको पहिलो दिनमै सहमत भए। खुसी भए। ‘‘यो त गज्जब रहेछ, मज्जा आयो’ भनेर उहाँ खुसी हुनुभयो,’ किशोर सम्झिन्छन्, ‘अबदेखि हरेक नयाँ प्रोजेक्टमा सिंक साउन्ड प्रयोग गर्नेमा उहाँ पुग्नुभएको छ।’

बिस्तारै नेपाली फिल्ममा सिंक साउन्डको प्रयोग बढ्दै गएकोमा किशोर खुसी छन्। ‘प्रसाद २’, ‘प्रकाश’, ‘फूलबारी’, ‘रेड सुटकेस’ त्यसका केही उदाहरण हुन्। ‘परिवर्तन हुन्छ भन्नेमा आशावादी छु,’ उनी भन्छन्, ‘कसै न कसैले सुरुवात गर्नैपर्छ। त्यसैले मनैदेखि लागिपरेको छु।’

काठमाडौँ, कुलेश्वरमा प्रोडक्सन स्टुडियो छ। जहाँ उनी साउन्ड डिपार्टमेन्टका हेड हुन्। आचार्यले नेटफ्लिक्स, एचबीओ, नेसनल जियोग्राफीको डकुमेन्ट्री, एडिटिङ र साउन्डमा काम गरेका छन्। अहिले ‘जुनुको रिबन’, ‘भुइँकाफल’ लगायत प्रोजेक्टमा व्यस्त छन्। ‘नेपाली कलाकारहरूमा बलिउड कलाकारजस्तो स्टारडमको समस्या छैन,’ उनी भन्छन्, ‘नेपाली कलाकार डाउन टू अर्थ छन्। उनीहरूसँग काम गर्दा मज्जा आइरहेको छ। काममा रमाएको छु।’

प्रकाशित: १६ मंसिर २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =