नियात्रा

तामाङगाउँ, कोदोबारी र तीनपानेको स्वाद!

राजाराम बर्तौला १६ मंसिर २०८० १७:२२
60
SHARES
तामाङगाउँ, कोदोबारी र तीनपानेको स्वाद!

दसैँतिहार भन्दाभन्दै झण्डै दुई महिना नहिँडेपछि मनमा एकतमासको खालीपन अनुभव गर्दै थिएँ। कतै केही हराएको जस्तो, केही बिर्सिएको जस्तो। वनजङ्गल, नदीनाला, पहाडपर्वत हिँड्न थालेपछि एक किसिमको आदत बन्दो रहेछ। कुनै काम लगातार एक महिनाजति वा २८ घण्टा दोहोर्‍याएर गरिरह्यो भने त्यसको आदत बन्छ भन्दछन् मनोविद्हरू। यस्तै विचार राख्छन् आधुनिक व्यवस्थापकीय प्रबन्धमा दक्षता राख्नेहरू पनि।

अटोमेसनको एउटा नमुना स्वचालित हात मात्र हैन दिमाग पनि हो। अनि जंगलको स्वच्छ हावामाटोको सुगन्ध, चराहरूको चिरबिरले पदयात्रामा रमाउनेहरू आफूलाई बिर्सन्छन्। त्यसैमा आनन्दानुभूति जिन्दगीको रसस्वादन गर्दै पसिनाको धारामा जीवनधारा देख्दछन्। त्यस्तै भएको त होला मलाई पनि। दुई महिनाको अनुपस्थितिमा मैले देउराली सम्झिएँ वा देउरालीले मलाई सम्झियो- बाडुली लाग्यो। कसैले बोलाइरहेछ मलाई। वनजंगलको हरियाली, माटोको सुभाष र पन्छीको चिरबिरले मलाई डाकिरहेको थियो।

तिहार सकिएर मंसिर पनि लागिसकेको थियो। बिहानको तापक्रम न्यूनतम १० डिग्रीमा झरेको थियो। यो मौसमलाई सुहाना भन्नुपर्छ- न धेरै जाडो न त गर्मी नै। मंसिरको दोस्रो शनिबार प्रातकाल पाँचै बजे उठेर तयार भएँ। झोलामा आवश्यक कुरा कोचकाच गरेँ। केही बिर्सेँ कि भनेर दोहोर्‍याएर निरीक्षण पनि गरेँ। झोला बोकेर निस्किँदा सात बजेको थियो। आइक फर नेपालले आयोजना गरेको गुर्जेभन्ज्याङदेखि गुर्जेसम्मको पदयात्रा रोमाञ्चक हुनेमा हामी सहभागी सबै आशावादी थियौँ। यो यस कारण पनि कि यो पदयात्रा स्थानीय शिवपुरी गाउँपालिकाको प्रयासमा निर्माण गरेर पहिलोचोटि ठूलो संख्यामा संगठित रूपमा सञ्चालन गरिँदै थियो। हिउँदयाम भएकाले झरना देख्न सकिन्न। तर वर्षाको समयमा गुर्जे झरना हेर्न लायक देखिन्छ। त्यही झरना हेर्न पर्यटक आऊन् भनेर ‘गुर्जे झरना पैदलमार्ग’ निर्माण सम्पन्न गरिएको हो। पैदलमार्ग भनेर निर्माण गरिए तापनि मूलत: यो मार्गलाई प्राकृतिक रूपमा राखिएको छ।

गुर्जेभन्ज्याङ काटेर केही तल झरेपछि प्रहरीको चेकिङ पोस्ट छ। हाम्रो पदयात्रा त्यहीँबाट सुरु भयो। यो गाउँ हो गुर्जेगाउँ। गुर्जेगाउँ अहिले धरै व्यवस्थित भइसकेको छ। अरू पदयात्राभन्दा यो पदयात्राको भिन्नता के थियो भने प्राय: पदयात्रा सुरु गर्दा उकालो चढेर गरिन्थ्यो। यो पदयात्रा भने सीधै ओरालो हिँडेर फेदीमा पुगेपछि पुन: उकालो चढेर गन्तव्य पुग्नुपर्ने थियो। ओरालो पूरा हिँडेपछि फेदीगाउँ पुगिन्छ र सुनखानीगाउँ हुँदै उकालो चढेर थानाभन्ज्याङ पुगिन्छ। गुर्जेको पिच सडकमा पुगेर पदयात्रा सकिन्छ।

मौलिक तामाङ गाउँ : तामाङ गाउँ हेर्नका लागि यो पदयात्रा निकै उपयोगी भयो। पदमार्गमा देखिने गाउँ तामाङ बस्ती हुन्। कसैको ढुंगाको गारो, कसैको आधा गारो र आधा काठ प्रयोग गरेर बनाएको टिनको छानो भएका घरहरू, घरअगाडि वा अर्को एक साइडमा बार्दली निकालिएको घर, रातोमाटोले लिपेको, चारपाँच घरहरूको संयुक्त बस्ती, कुखुरा र बाख्राबाख्रीको खोर, करेसाबारीमा तरकारी खेती। यस्तै देखिन्छ बस्ती।

दाउराको चाङ र वन विनाश : नुवाकोटका प्राय: गाउँमा कच्ची सडक पुर्‍याइएको छ। अर्थात् घरायसी इन्धनका लागि काठदाउरामा निर्भर रहनुपर्दछ भन्ने छैन। बाटोभरि काठका दाउरा चाङ लगाएर राखिएको देखियो। बस्तीमा पनि घरैपिच्छे यस्ता दाउराका चाङ उल्लेख्य रुपमा देखिन्छन्। नजिकैको जंगल पसेर दाउरा संकलन गर्न त कठिन नै होला। केही माथि संरक्षित राष्ट्रिय निकुञ्जको वनसमेत भएका कारण यस किसिमको सहज उपलब्धता त नहुनु पर्ने हो। निजी जग्गामा लगाएका रुखबाट वनपैदावारको जोगाड गरिएकै भए पनि वातावरणीय प्रभावका हिसाबले यसलाई उचिन मान्न सकिंँदैन। स्थानीय प्रशासनले सकेसम्म ग्यासको प्रयोगमा उत्पे्ररित गर्न आवश्यक छ।

कहीँकहीँ घरको बीचबाट पनि हिँडियो। प्राकृतिक रूपमा उबडखाबड, ढुंग्यानको बाटो हिँड्दाको आनन्द विशेष हुने गर्दछ। लखरलखर हिँड्दै, कतै चौतारोमा थकाइ मार्दै, पानी खाँदै, साथमा लगेको खानेकुरा केही भए आपसमा बाँडेर खाँदै, कतै गफिँदै हिँडदा पाइने सन्तुष्टि जोखेर पनि ठिक्क हिसाब मिल्दैन। पदमार्गको अवस्था, यसको स्थिति, खोंच, उबडखाबड अवस्थालाई लक्षित गरेर सहयात्री एउटा भाइले त ‘यो बाटो त नेपालीहरूले अमेरिका पस्न मेक्सिकोको जंगल हिँडेजस्तो पो छ त’ भन्दा एकछिन सोचमग्न बनायो।

केहीबेर अगाडिसम्म राजनीतिको र पनि उच्चारण नभएको अवस्थामा वातावरण एक्कासि राजनीतितर्फ मोडियो। पदयात्रामा सहभागी यात्रुहरू प्राय: युवा र अधबैंसे थिए- एकाध मजस्ता बाहेक। यथास्थितिप्रति सबैको क्रोध प्रस्फुटन भयो। झण्डै ज्वालामुखी फुटेजस्तो। असन्तोषका लहर हावामा मात्र लहराएका थिएनन्, झण्डै विद्रोहका अभिव्यक्तिले पहरा फोर्लाजस्तो देखियो। दुर्गा प्रसाईको आन्दोलनका क्रममा भएको धरपकडलाई इंगित गर्दै भन्दै थिए, ‘नेपालको झण्डा बोक्न नपाउने, टोपी लगाउन नपाउने भएपछि नेपाली मेक्सिकोको जंगल नगएर कहाँ जाऊन्।’ हाय रे मेरो देश! राजनीतिले भातभान्सादेखि लिएर जंगलको एकान्तसम्म नछोड्ने भयो। बाटोभरि पाकेर झरेको भोगटे लडिरहेका थिए। सहयात्री साथीहरूले हातमा एकएकोटा उठाएर लिएर हिँडे।

स्यालपिङखोला, भोगटेको भोज र उकालोको यात्रा : शिवपुरीको उत्तरी पाखोबाट रसाएर बग्छ स्यालपिङखोला। खोलामा पानीको मात्रा राम्रै छ। वर्षा सकिएर हिउँद लाग्दा पनि खोलामा यत्तिको पानीको मात्रा रहनु भनेको यसको आफ्नो छुट्टै परिचय रहनु हो। तर यसको नाम स्यालपिङ किन रह्यो अनुत्तरित छ। सायद तामाङ भाषामा यसको केही अर्थ निस्कन सक्दछ। ढुंगाहरूमा ठोक्किँदै भुल्काभुल्की बनेर बग्ने यो खोलाको स्वच्छ पानी आकर्षक देखिन्छ। यहाँको खोलाको कलकल, हरियाली वातावरणले गुग्ध भएर यही ठाउँमा बसेर खाने खाने निश्चय गर्‍यौँ। बगर भनेर ठूलो बगर पनि हैन, तर खोलाले छोडेको किनारामा, वर्षामा यस्ले बगाएर ल्याएर छोडेका ढुंगाहरूमा बसेर आआफूले घरघरबाट बनाएर ल्याएको खानाको पोका खोल्यौँ र उदर शान्ति गर्‍यौँ। बाटोबाट भोगटे बोकेर ल्याएकै थियौँ। डेसटका रुपमा भोगटेको स्वादले आत्मा तृप्त पारियो। यसलाई सहभोज भनौँ या वनभोज, खासमा यो वनभोज हो। वनको बीचमा नदीको तटमा बसेर घरघरबाट बनेर आएका विविध परिकारहरू साटेर खानु क्षुधा शान्तिभन्दा त्यसको वातावरणीय तृप्तिको आनन्द अपरिमेय अमोघ हुन्छ।

यहीँबाट खोलाको दोभानबाट उकालो यात्रा सुरु भयो। यात्राको अर्को पाटो। अघि ओरालो थियो अव उकालो। जीवनको यात्रा जस्तै कहिले उकालो कहिले ओरालो। उकालोबाट ओरालोतर्फ भन्दा ओरालोबाट उकालोतर्फको चढाइ आनन्ददायक हुने पो हो कि! तर सबै अवस्था एउटै नहोला। खाना खाएपछि उचालिएको पेट लिएर उकालो चढ्नु त सकस नै पो हुन्छ। विकल्प भए न हो। यहाँ त यसको विकल्पको निर्णय पहिले नै गरिसकिएको थियो। विकल्पको पहिचान कुनै कार्य सुरु गर्नुभन्दा पहिला नै गरिनुपर्दछ। होइन भने त्यसको निष्कर्ष परिणाम स्वीकार्नुपर्दछ। पेटले पनि तलै थिच्छ, ढाडमा बोकेको झोलाले पनि पछाडि थिच्छ। यसले हिँडाइलाई असर गर्दछ। सहयात्रीले जो गणितकी शिक्षिका पनि हुन, भनिन्, ‘गुरुत्वाकर्षणका कारणले झोला भारी भो।’ झोलामात्र हैन सिस्टर, अघि स्यालपिङ खोलाको भोगटे भोजको भार पनि हो’ मैले थपेँ।

हिँड्दै गर्दा बाटोमा त्यक्त घर देखियो। कुनै बेलाको सम्पन्न व्यक्तिको आवास जस्तो देखिने घरलाई चारैतिरबाट झाडीले छापेर उसको अस्तित्वमा लिने तरखर गर्दै थियो। कहाँ गए होलान् यहाँका मानिस? सँगैको साथीले भने, ‘कि त काठमाडौँ सहर पसे, नभए विदेश गए। अब यहाँ फर्कँदैनन्।’ अवस्था त्यस्तै देखिन्छ।

बूढीआमाको पीडा सुनिदिने कोही छैन : अर्को घर। लस्करै मानिस हिँडेको देखेर एउटा बाटो छेवैको घरबाट वृद्ध आमा निक्लिइन्। हामीतर्फ नै आउँदै गरेको देखेपछि म अडिएँ। आमाको केही कुरा होला सुन्नुपर्‍यो भनेर। ‘पल्लो घरका त सबै घर छोडेर कता गए? घर त झाडीले खान लागेछ’, मैले सोधेँ।

बूढीआमा : यो गाउँमा यस्तै छ। यो घरमा म पनि एक्लै हो।

म : कता गए त अरू तपाईंका सन्तानहरू?

बूढीआमा त तपतप आँसु चुहाउँदै रुन पो थालिन्। किन आमा के भयो भनेर सोध्दा भनिन्, ‘के गर्नु? बूढो मरेको तीस वर्ष भयो होला। चारवटा छोरा जन्मेका थिए। सबै गए कोही पनि बाँकी छैनन्। तीन छोर बिहे गरेर गए। सबै काठमाडाैँमा बस्छन्। यहाँ म एक्लै बस्छु। सरकारले दिएको भत्ताले खान्छु। बाँचेकै छु। अब त मर्न मन लागिसक्यो। अस्ति दसैँमा छोरीहरू आएका थिए। ‘तँ मर्, झुण्डेर मर्, भनेर पो भने।’ ‘बेचेर पैसा दे भन्छन्।’ यो पनि बेचेर दिएपछि म मरे भएन त?’ उनी भन्दै गइन्। रुँदै गइन्। म कहाँकहाँको घुमन्तेसँग दुईचार मिनेट भेटेको भरमा यति धेरै पीडा साटिन्। सायद कसैलाई भेटेर मनको बह फुकाउने पनि कोही भेटिनन् होला। यिनको यो अवस्था देखेर म विचलित भएँ। यिनीसँग घरमा बस्ने कोही साथी छैनन्। सुख, दु:ख र वेदनाको मन फुकाउने कोही आफन्त छैन। नितान्त एक्लो छ जीवन। एकांकी जीवन। जंगलको किनारमा छ घर।

एक्लो घरको एक्लो मालिक। ‘बिरामी पर्दा कहिलेकाहीँ कान्छी छोरी आएर हेर्ने गरेकी छ’, भन्छिन् उनी। ‘वृद्धाश्रममा गएर बसे हुँदैन’ भनेर सोध्दा नजाने रे। आफूले सक्दा दु:ख गरेर जोडेको यो बारीको पाटो छोड्दिनन् रे। ओहो, माटोसँगको जीवन कसरी गाँसिएको हुँदो रहेछ। त्यही दिन जान्ने मौका मिल्यो मलाई। यी आमा यो जंगलको गाउँमा छिन्। मसहरको बीचमा छु। यिनीसँग यिनका आफन्त कोही छैनन्। मसँग पनि मेरा छोराछोरी कोही छैनन्। के फरक छ र जिन्दगी? उस्तैउस्तै त हो। आँसुको भल हो जिन्दगी। यिनीसँग छुट्टिन धेरै गाह्रो भएको थियो। ल आमा, आफ्नो विचार गरेर बस्नु। कसैले धेरै दु:ख दिए वडाअध्यक्षलाई भन्नु भनेको त झनै चित्त दुखाइन्। अब भन्दिनँ, उनीहरूसँगै मिलेर जवाफ दिन्छ भनिन्। यिनीसँग अरू कत्ति कुरा भन्नु थियो होला, तर मसँग समय थिएन। त्यसैले बिदा भएँ।

कोदोले पाएको महत्त्व : तरेली परेका गराहरूमा कोदोका दानाहरू टिप्ने बेला भएका थिए। जता हेर्‍यो तेतै कोदोको खेती। भिरालो जग्गा पानी लाग्ने भए धानै रोप्दा हुन्। यस्तो सुख्खा जमिनमा फल्ने भनेको कोदो नै हो। कोदो उहिले त हेय गरिएको अन्न थियो। तर अहिले यसको महत्त्व बढ्दै गएको छ। अहिले त धनीमानीहरू पनि कोदोको पिठो खोज्छन्। कोदोको पिठो मात्र किन? कोदोको तीनपाने त झनै महत्त्वपूर्ण भइहाल्यो। कोदोको तीनपाने स्थानीय आर्थिक उपार्जनको मेसो पनि भएको छ। दिनप्रतिदिन घरेलु उद्योगकै रूपमा फस्टाउँदै गएको देखिँदैछ। अघि ओरालो झर्दा देखिएको दाउराका चाङ यही तीनपाने बनाउनका लागि जोहो गरिएका हुन् भन्ने भेउ पाउन मुस्किल परेन। हामीसँगै हिँडेका सहयात्रीहरू तीनपाने खोज्न निस्किए पाए बोकेर जाउँला भनेर। केही साथीहरू तीनपानेको स्वादका कुरा निकालेर रमाउन थाले। तीनपाने पाइन्छ कि भनेर  कसैले झोला बिसाएको पनि देखियो।

सुन्तला र भोगटेको स्वर्णिम गाउँ : यो गाउँलाई सुनखानी त्यसै भनिएको होइन। सुन्तला र भोगटेले पहेँलै छन् बारीहरू। तल कोदोबारी। रूखमा सुन्तलाका पहेँलपुर दाना। हिँड्दै गर्दा स्थानीयहरू टिपेर खाऊँ भन्थे। कति सहृदयी छन् हाम्रा गाउँले दाजुभाइ। आफ्नो मिहिनेत, आफ्नो जीविका र परिश्रम आगन्तुकहरूलाई सित्तैँ दिन पाउँदा खुसी हुन्छन्। सहरमा सिन्को पनि सित्तैँमा पाइँदैन। त्यो उनीहरूलाई थाहा छ। तर गाउँमा आउनेलाई उनीहरू सित्तैँ दिन तयार देखिन्छन्। यही फरक त हो सहर र गाउँको। सहर स्वार्थी छ गाउँ सहयोगी। सहर एकांकी छ गाउँ सामुदायिक। सुनखानी हुँदै उकालो उक्लिएर हामी गुर्जे पुग्यौँ र बस चढेर फर्कियौँ।

 

प्रकाशित: १६ मंसिर २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =