रोजगारीको प्रलोभन देखाएर भारतमा बिक्री

हिमाल प्रेस १५ मंसिर २०८० २१:४१
24
SHARES
रोजगारीको प्रलोभन देखाएर भारतमा बिक्री सांकेतिक तस्बिर।

काठमाडौँ- सुर्खेत, दैलेखलगायत पश्चिम नेपालका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचबिखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले बाँकेको बैजनाथ गाउँपालिका-८ घर भएकी ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई पक्राउ गरेको हो।

उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले आज सार्वजनिक गरेको हो। अनुसन्धानका क्रममा उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाइ महिलालाई नेपालबाट लैजाने गरेको र यसरी लैजाँदा ग्रामीण इलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलालाई लक्षित गर्ने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए।

उनले ती महिलाले भारतको नयाँ दिल्लीमा सञ्चालित यौन गतिविधि हुने केन्द्रमा एक नाबालिकासहित दुई युवतीलाई बेचबिखन गरेको खुल्न आएको बताइन्। उनीहरूलाई भने यसअघि नै प्रहरीले उद्धार गरेर नेपाल ल्याइसकेको छ। मल्लकै संलग्नतामा पीडितलाई भारतको दिल्लीबाट अन्यत्र स्थानमा यौन गतिविधिका लागि पठाउने गरेको पाइएको पनि प्रहरीले जनाएको छ।

पीडित भागेर हिँड्दासमेत पुनःपिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।  रासस

प्रकाशित: १५ मंसिर २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =